आँखा र भाकाका संगम डाक्टरले पलेँटी कसेपछि 

२०७६ कार्तिक ११ सोमबार ०७:२६:०० मा प्रकाशित

  काठमाडौं । नेपालका परिचित आँखा विशेषज्ञ सुमन थापा एक संगीत प्रेक्षालयमा बाजागाजासहित झुल्किँदा स्रोता दर्शक अनौठो मानिरहेका थिए । उनको यो संगीतको पाटो थाहा नभएकाले यस्तो हुनु स्वाभाविक नै थियो । जब उनी  प्रस्तुत भए, शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा बेग्लै वातावरण महसुस गरिएको थियो । सुमनले त्यस साझ १३ वटा गीत सुनाए । उनले प्रस्तुत गरेका कतिपय गीतहरू आँखा र दृष्टिसँग नै सम्बन्धित थिए । आफ्नो पेशासँग सम्बन्धित संस्मरण सुनाउँदै गाइरहेका सुमनलाई सुन्दा लाग्थ्यो उनी आँखा र भाकाका संगम हुन् ।

 

कार्यक्रमको सुरुवातमा उनको सांगीतिक यात्राको पहिलो चरणको झलक प्रस्तुत भएको थियो । सुमनको आफ्नै शैली झल्किएका दुईवटा गीत प्रस्तुत भएपछि दोस्रो चरणमा गाइएका सबै गीतहरू नयाँ थिए । दोस्रो चरणका ९ वटा गीतहरू गीतकार तथा कवि श्रवण मुकारुङले सृजना गरेका थिए । सुमनका निम्ति बनेका सबै नयाँ गीतमा संगीतकार आभासको धुन सृजना रहेको थियो ।

 

प्राय अँग्रेजी भाषामा गाउने सुमन पहिलोपल्ट नेपाली गीत मात्र प्रस्तुत गर्दै थिए । तीलगंगा अस्पतालसँग सम्बन्धित सुमन आफ्नो सांगितिक रुचिलाई सदुपयोग गर्दै रकम जुटाउँछन् र विकट गाउँ पुगेर निशुल्क स्वास्थ शिविर संचालन गर्छन् । त्यसको लागि उनी ‘एक एक पाइला’ नामको संस्थासँग आबद्ध छन् ।

 

कार्यक्रममा संचालकले सरप्राइज प्रस्तुति भन्दै एउटी नयाँ गायिकालाई सुमनसँग युगल गीत गाउन निम्ता गरे । मञ्चको किनार छाम्दै उनी मञ्चमा पलेँटी कसेर बसिन् । उनको नाम थियो आशा राई । आशा जन्मदै संसारको दृश्य देख्नबाट बन्चित भएर जन्मेकी रहिछन् । आशालाई नै केन्द्रमा राखेर रचिएका २ वटा गीतमा उनले सुमनसँग स्वर मिलाइन् ।

 

कार्यक्रमको अत्यतिर प्रस्तुत भएका बाँकी गीत गीत मध्ये ‘ओ पासाङ दाइ, ओ बैनी फूलमतिया’मा प्रयोग भएको शब्द ‘स्लिट ल्याप्प’लाई बुझाउन सुमनले आँखा जाँच्ने उपकरण नै बोकेर आएका थिए । उनले सोही उपकरण देखाउँदै, गीतार र घाँटीमा भिरेको हार्मोनिका बजाउँदै सुनाए- ‘ओ पासाङ दाइ, बैनी फूलमतिया, पर्ख है पर्ख म ‘स्लिट ल्याम्प’ बोकेर आउँदै छु तिमीलाई सुन्दर संसार देखाउन’ ।

 

त्यसपछि प्रस्तुत भएको फंकी शैलीको गीत ‘हतार छ, एकदम हतार छ, तर ट्राफिक जाम छ’लाई शहरको व्यस्तता र सुमनको पेशासँग जोडेर प्रस्तुत गरिएको थियो । तिहारको माहोललाई ध्यानमा राखेर प्रस्तुत गरिएको अन्तिम गीत ‘साँझको बेला, अप्ठ्यारो बाटो’ पनि आँखासँगै जोडिएको थियो । यो गीत देउसी पारामा प्रस्तुत भएको थियो । 

 गीतकार रत्नशमशेर थापा भन्दैथिए, ‘नयाँ प्रयोगले नै गीत संगीतको रचनाको घेरालाई फराकिलो पार्छ, आजको प्रयोग राम्रो  छ ।‘ अर्का गीतकार विप्लब प्रतीकको प्रतिक्रिया थियो- ‘सांगीतिक क्षेत्रमा रहेका धेरै कलाकारले सुन्नै पर्ने रचनाहरू सृजना भएको साँझमा संगल्न हुन पाएँ । मन प्रफुल्ल भयो ।‘ त्यस्तै नेपथ्यका अमृत गुरुङ भन्दै थिए( ‘धेरै समयपछि गीत, संगीत नसा झैँ झ्याम्म लाग्यो ।‘

 

यसपालीको पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर महर्जनले साथ दिएका थिए ।

ताजा खबर