प्रधानमन्त्रीपत्नी एक्सन रूममा किन ?

२०७६ कार्तिक ७ बिहीबार १९:४५:०० मा प्रकाशित

यही बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय गौरव’ का आयोजनाहरूको कार्यप्रगति ‘अवलोकन र अनुगमन’ गरे । यस्तो कार्यका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रविधियुक्त ‘एक्सन रूम’ खडा छ, जहाँबाट इन्टरनेटको सहायताले भिडियो कन्फ्रेन्स मार्फत् टाढाको काम ‘अवलोकन र अनुगमन’ तथा बैठक इत्यादि गर्न सकिन्छ । प्रधानमन्त्री ओलीले सिंगापुरको अस्पतालबाट गरेको मन्त्रिपरिषद् बैठक पनि यस्तै प्रविधिको हो ।

त्यसदिन राष्ट्रिय गौरवका आयोजना अवलोकन अनुगमनमा आयोजनाका प्रमुख, निर्देशक जस्ता अधिकारीसँग प्रधानमन्त्रीले भिडियोमार्फत सोझै कुरा गरे । आयोजनाको प्रगतिबारे जानकारी लिए । ती अधिकारीहरूले आयोजनस्थलका विभिन्न दृश्यहरू प्रधानमन्त्री र उनको टिमलाई जानकारी गराए । प्रधानमन्त्रीले निर्देशन दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको एक्सन रूमबाट भएको यो काम विशुद्ध प्रशासनिक हो । प्रधानमन्त्रीको कार्यकारी अधिकार क्षेत्रको काम हो । यो कुनै समारोह होइन ।

प्रधानमन्त्रीको प्रेस हेर्ने निकायले उक्त अवलोकन र अनुगमनबारे केही तस्वीरहरू प्रेषित गरेको छ । तस्वीरमा तीन लहरमा बसाइ देखिन्छ । अगाडिको लहरमा प्रधानमन्त्री ओलीको दायाँतर्फ ऊर्जा मन्त्री वर्षमान पुन र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल देखिन्छन् । बायाँतर्फ पर्यटन मन्त्री योगेश भट्टराई र अर्थमन्त्री डा. युवराज खतिवडा देखिन्छन् । पछिल्ला दुई लहरमा प्रधानमन्त्रीका सल्लाहकार सहित केही सरकारी अधिकारीहरू देखिन्छन् । उपस्थित सबैका सामुन्ने नाम र पदको परिचय दिने ‘नेमप्लेट’ राखिएको   छ ।

प्रधानन्त्रीको वायाँतर्फ उनको छेउमा बसेकी छन् एक महिला जो सहभागीमध्ये एकमात्र महिला हुन् । उनी हुन् प्रधानमन्त्रीपत्नी राधिका शाक्य । उनका सामुमा भने नेमप्लेट छैन । प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रूमबाट सरकारी अधिकारी र सल्लाहकारका साथ आयोजनाहरूको अवलोकन र अनुगमन गर्ने कार्याक्रममा प्रधानमन्त्रीपत्नीको उपस्थिति देखिएको छ । उनको उपस्थिति किन ? प्रधानमन्त्रीले आफ्नो कार्यालयबाट गर्ने प्रशासनिक काममा प्रधानमन्त्रीपत्नीको हैसियत के हुन्छ ? के उनी आमन्त्रित थिइन् ? थिइन् भने सबैको नेमप्लेट राख्दा उनको किन छुटेको ?

प्रधानमन्त्रीपत्नीका रूपमा उनी देशकी प्रथम महिला हुन् । विशेष समारोह तथा देश–विदेशमा हुने प्रधानमन्त्रीको भ्रमणमा प्रथम महिलाको उपस्थिति हुने नै भयो । प्रधानमन्त्रीको कार्यालयबाट प्रधानमन्त्रीले गर्ने प्रशासनिक काममा पनि प्रथम महिला उपस्थित हुने प्रावधान छ ? उनी एक्सन रूम अवलोकन गर्न गएकी कि एक्सन रूमबाट आयोजना अवलोकन गर्न वा शोभा बढाउन ?

कुनै सभा, समारोह, कार्यक्रम इत्यादिमा कुनै व्यक्तिको उपस्थिति त्यसै समय बिताउनमात्रै हुँदैन । अझ प्रधानमन्त्रीपत्नी, देशकी प्रथम महिलाको त उपस्थिति विनाअर्थ हुने नै भएन । उनी स्वतः सम्मानित हुन्छिन् । एक्सन रूममा प्रधानमन्त्रीका साथ उनी उपस्थित छिन्, अन्य सबै सहभागीको नेमप्लेट छ तर प्रथम महिलाको छैन । कतै उनको उपस्थिति व्यवस्थापकका लागि पनि अनपेक्षित त थिएन ?

प्रथम महिलाको सम्मानित हैसियतको दुरुपयोग पो भयो कि भन्ने चासोका यहाँ प्रश्न उठाइएको हो । किनभने उनको उपस्थितिको आवश्यकता र अर्थ प्रष्ट हुँदा नै उनी स्वयं र प्रधानमन्त्रीलाई समेत असजिलो हुनेछैन । अन्यथा कसैले प्रतिक्रिया जनाएका होलान् कति बोल्न नमिलेर ओठ सिएर बसेका होलान् तर प्रथम महिलाको एक्सन रुममा उपस्थितिको कारण के हो भनेर प्रश्नहरु उठेका छन्, प्रशस्तै !

ताजा खबर