मदन शिला स्रष्टा सम्मान राष्ट्रकवि घिमिरेलाई 

२०७६ कार्तिक ७ बिहीबार १७:२५:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ । 

यसैगरी प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकारलाई प्रदान गरियो । ती पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ । नेपाली साहित्यिक सम्मेलन दार्ज्लिङको मुखपत्रका रुपमा त्रैमासिकरुपमा दियालो प्रकाशन हुँदै आएको छ । यसका प्रधानसम्पादक नेपाली साहित्यिक सम्मेलन दार्ज्लिङका अध्यक्ष डा चन्द्रकुमार राई छन् । 

यसैगरी उन्नयनका प्रधानसम्पादकमा अच्युतरमण अधिकारी हुनुहुन्छ । कार्यक्रममा ती पत्रिकाका सम्पादक डा राई र अधिकारीले पुरस्कार तथा सम्मान ग्रहण गरेका थिए । सो अवसरमा राष्ट्रकवि घिमिरेले साहित्यकारलाई साहित्यका आँखीझ्यालबाट नियाल्न र राजनीतिक चस्माले नहेर्न आग्रह गरे । 

“मैले जीवनमा जे कर्म गरेँ, अहिले मलाई समाजले त्यहीरुपमा पुरस्कृत गरिराखेको छ । कर्म गर्न छाड्न हुँदैन” उनले भने । राष्ट्रकवि घिमिरेले सरकारले आफू बिरामी पर्दा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइ दिएकोमा धन्यवाद दिए । 

शताब्दी पुरुष सत्यमोहन जोशीले ती व्यक्तित्वलाई पुरस्कार अर्पण गर्दै आफूले राष्ट्रकविबाट साहित्य रचना सिकेको स्मरण गरे । नेपाली भाषा र संस्कृतिको क्षेत्रमा धेरै अन्वेषण बाँकी रहेको उनले बताए । प्रतिष्ठानका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीले राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानले पुरस्कृत गर्न पाएकोमा खुशी व्यक्त गरे । रासस

ताजा खबर