बालविवाहको चुनौति र समाधानका उपाय 

२०७६ कार्तिक ७ बिहीबार १६:२४:०० मा प्रकाशित

विवाह दुई फरक लिङ्ग भएका व्यक्तिबीच हुने सामाजिक धार्मिक अथवा कानुनी रुपले सँगै जीवन ब्यतित गर्ने एक सम्बन्ध हो । विवाहले दुई अलग र अपरिचित परिवारमा नयाँ सम्बन्ध गाँस्ने  गर्दछ । विवाह जीवनयापनको लागि एक महत्वपूर्ण पाटो मानिन्छ । भनिन्छ, विवाहले मानिसको जीवनमा नयाँ मोड दिन्छ । मानव अधिकारको दृष्टिकोणले आफूले रोजेको ब्यक्तिसँग विवाह गरि आफ्नो भविष्य आफैंले सिर्जना गर्न पाउने अधिकार रहेको छ । विवाह गर्ने वा नगर्ने भन्ने ब्यक्तिको नैसर्गिक अधिकार हो । 

बाल विवाह भन्नाले कुनैपनि राष्ट्रको कानुनमा विवाह गर्न भनि तोकिएको उमेरभन्दा कम उमेरमा गरिने विवाहलाई जनाउँछ । विभिन्न देशहरुमा विवाह गर्नयोग्य उमेर भनेर आ–आफ्नै उमेर निर्धारण गरिएको पाइन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने मुलुकी अपराध संहिता २०७४ मा विवाहको लागि उपयुक्त उमेर २० बर्ष हुनुपर्छ भनि तोकिएको छ । यसरी नेपालको कानुनले दुबैको उमेर २० बर्ष नपुगि गरेको विवाहलाई बालविवाह भनि पुष्टि गरेको छ । यसरी कसैले पनि कम उमेरमा विवाह गरे गराएमा कानुनी रुपमा अपराध ठहरीनेछ । र, कानुन अनुसार दण्ड जरिवाना हुनेछ । 

विवाह स्त्री र पुरुषबीच गाँसिने एक प्रकारको बलियो गाँठो निर्माण गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रकिया हो । नेपालको सन्दर्भमा हेर्ने हो भने हरेक क्षेत्र जातजाती, धर्म रीतिरिवाज अनुुसार आ–आफ्नै तरिकाले विवाह गरिन्छ । विवाहको परिणाम स्वरुप विवाहित जोडिमा धेरै दायित्व सिर्जना हुने गर्दछ । यस्ता विविधखालका दायित्व बहन गर्नका लागि आर्थिक सामाजिक मानसिक र शारीरिक र भावनात्मक रुपमा पूर्ण बिकसित भएको अवस्थामा मात्रै सक्षम हुने गर्दछन् । यसरी सबै कुरामा सक्षम हुनका लागि किशोर अवस्था पार गर्नु जरुरी छ  । 

बालविवाहको उच्च दर रहेको मुलुकहरुमध्ये नेपाल पनि एक हो । एशियामै तेस्रो उच्च बालविवाह हुने मुलुकमा रहेको नेपालमा बालविवाहले बालबालिकाहरुकोआफ्नो अधिकार मात्रै हनन हुँदैन, उनिहरुको जीवनचक्रमा धेरै असर गर्न पुग्दछ । बालविवाहले बालबालिकाहरुको शारीरिक, सामाजिक, मानसिक र संवेगात्मक रुपमा असर गर्ने कुराहरुमा ख्याल नगरि हाम्रो समाजमा रहेको छोरीको सानै उमेरमा विवाह गर्दिए दाइजो कम दिए हुने, महिनावारी हुनु पूर्व नै छोरीको कन्यादान दिनपाए पुण्य प्राप्त हुने जस्ता  विभिन्न किसिमका गलत मान्यता र अन्धविश्वासले  गर्दा पनि बालविवाहलाई निरुत्साहन गर्न समस्या भइरहेको छ । अर्कोतिर अहिलेको समयक्रमसँगै बिकास भएको प्रविधिको सहि तरिकाले प्रयोगमा ल्याउन नसक्दा बालवालिका स्वयम् विवाहको लागि लालायित भएको पाइन्छ । यसकारण समेत बालविवाहका घटनाहरु बढिरहेका छन् । यस कारणले भएका बालविवाहले बालिकाहरु थप जोखिममा पर्नुका साथै दुव्र्यवहारहरुको शिकार हुने जोखिम पनि रहन्छ । 

बालविवाह न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी तवरबाट विभिन्न प्रयाशहरु भएका छन् । तर, पनि ती प्रयाशहरुले पूर्णता पाउन सकेका छैनन् । बालबालिका समाजका अतिनै संवेदनशील ब्यक्ति हुन् । जबसम्म तिनीहरुको अधिकारको संरक्षण गर्न हामी सबैको कर्तव्य हो भन्ने अनुभूति हामी सम्पूर्णमा हुँदैन, तबसम्म बालविवाह अन्त्य हुन सक्दैन । तसर्थ हामी सबैले आ–आफ्नो ठाउँबाट लागि पर्न जरुरी छ । ‘प्रदेश र स्थानीय तहको एउटै सन्देश, बाल विवाहमुक्त हाम्रो प्रदेश’ भन्ने मूल नाराका साथ संचालनमा रहेको अभियानमा साथ दिँदै प्रदेश सरकारको २०७८सम्म बालविवाहमुक्त प्रदेश बनाउने अभियानमा सबै एक भइ लागि परौं ।

विवाह गर्न उपयुक्त समय 

-    शारीरिक र मानसिक तवरले पूर्ण परिपक्व भइसकेपछि । 
-    परिवारको जीवन यापनको लागि आयआर्जन गर्न सक्ने भएपछि । 
-    आत्मनिर्भर परिपक्व र आत्मविश्वासी भएपछि । 
-    आफ्नो परिवारको जिम्मेवारी लिन सक्ने भएपछि । 
-    सुखी परिवारको लागि श्रीमान श्रीमती बीच सहकार्य र समझदारी गर्न सक्षम भएपछि । 
-    पारीवारिक योजना बनाउन सक्ने भएपछि ।  

बालविवाहका नकारात्मक असर 

-शारीरिक संवेगात्मक तथा मानसिक असर 
-किशोरीको स्वास्थ्यमा असर 
-सामाजिक अपहेलना 
-अध्ययनमा बाधा
-सानै उमेरमा घरायसी बन्धन 
-जीवनयापनका लागि आर्थिक अभाव

न्यूनिकरणका उपाय 

-बालबालिकाहरुको गुणस्तरीय शिक्षामा जोड । 
-बालविवाह विरुद्ध समुदायमा बहस चलाई चेतना अभिवृद्धिमा जोड 
-बलबालिकाको सशक्तिकरण कार्यक्रम संचालन । 
-बलबालिकाहरुमा बाल विवाहले पर्ने असरका बारेमा जानकारी गराउने । 
-बाल क्लब बाल संजाल तथा साथीहरु बिच बाल बिवाह अन्त्य सम्बन्धि छलफल चलाउने ।
-बाल विवाहको असर सम्बन्धि जनचेतनामलक कार्यक्रमहरु संचालन गर्ने ।
-बाल विवाह हुन लागेको जानकारी पाएमा नजिकको प्रहरीलाइ खबर गर्ने ।  

(लेखक शर्मा सामाजिक बिकास मन्त्रालय प्रदेश ३ का बालविवाहमुक्त प्रदेश निर्माण सहजकर्ता हुन् ।)  
 

ताजा खबर