चिनीयाँ लगानीमा सबैभन्दा ठूलो औद्योगिक पार्क बन्दै
काठमाडौँ । झापामा नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने प्रकृया सुरु भएको छ । दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको १६ सय हेक्टर (२२ सय बिगाहा) क्षेत्रफलमा नेपालको सबैभन्दा ठूलो आद्योगिक पार्क बन्न लागेको हो ।
औद्योगिक पार्क बन्न लागेको क्षेत्रमा लगानी बोर्डको नेतृत्वमा विशेष निरीक्षण गरेको छ । लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले पार्क बन्न लागेको क्षेत्रको जग्गा निरीक्षण गरेको हुन् । निरीक्षण टोलीमा नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, चीन–नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापा लगायत थिए ।
निरीक्षण टोलीले स्थानीय वासीसँग भेटघाट तथा अन्तक्रिया गरेका छन् । अन्र्त्क्रियामा नेपाली कांग्रेसका नेता पदम सेढाईले औद्योगिक पार्कमा आफ्नो पाँच विगाहाभन्दा धेरै जग्गा परेको बताउँदै देशका लागि र आफ्ना सन्ततिका लागि जग्गा अर्पण गरेको बताए । औद्योगिक पार्क निर्माणमा झापाका जनता एकढिका छन् भन्दै विकासमा राजनीति नगर्न आग्रह गरे ।
निरीक्षण टोलीसँग स्थानीय जगन धिमालले आफ्ना पुर्खाले पसिना बगाएको जमिन औद्योगिक पार्क निर्माणका लागि छाड्नुपर्दा अलिकति पनि दुख नलागेको बताए । आफ्ना पुर्खाले पसिना बगाएको जमिनमा देश, जनता र आफ्ना सन्ततिको भाग्य र भविष्य फेर्ने औद्योगिक पार्क बन्न लागेकोमा गर्व लागेको बताए ।
निरीक्षण अनुगमन कार्यको क्रममा स्थानीयले औद्योगिक पार्क चाँडोभन्दा चाँडो थालिनुपर्ने र पार्कमा उद्योगहरु स्थापना हुनुपर्ने विचार राखेका थिए । औद्योगिक पार्क चीन सरकारको सहयोगमा बन्न लागेको हो ।
चीन सरकारको बेल्ट एण्ड रोड परियोजना अन्र्तगत नेपालमा हुन लागेको यो पहिलो विकास निर्माण कार्य हो । पार्क बन्न लागेकोमा स्थानीय जनता उत्साहित भएका छन् ।