यो हो फूलको कथाः चर्चित कवि र नेपाल सुन्दरीको रोचक वार्ता (भिडियो सहित)

२०७६ कार्तिक ७ बिहीबार १२:२४:०० मा प्रकाशित

गीतमा खोजे गीतैमा । कवितामा खोजे कवितैमा । जन्ममा होस् कि मरणमा, जीवनको थालनी देखि बिसाउनीसम्म पनि फूलले मानव जीवनलाई साथ दिएको पाईन्छ ।  

‘फूलको आँखामा फूलै संसार,काँडाको आँखामा काँडै संसार’ यो गीत प्राय सबैका ओठमा झुण्डिएर रहेको छ भन्दा अतिशयोक्ति नहोला । कतिपयको भनाई के पनि छ भने नेपाली राष्ट्रिय गानपछि, संभवत सबै नेपालीले सुनेको र उत्तिकै मन पराएको गीत हो यो । कवि दुर्गालाल श्रेष्ठले रचेको यो गीतमा आनी छोइङ डोल्माले स्वर दिएकी छन् । यस गीतमा थुप्रै विम्बहरु छन् । ‘फूल’ लाई कोमल,आदर्श र निश्छलताको प्रतीक मानिएको छ । काँडालाई ठीक विपरित कठोर, घातक र भयकारी जसरी अथ्र्याइएको छ । 

यस गीतमा मात्र होइन, अरु गीतमा पनि, अरु कवितामा पनि, अरु कथा, उपन्यास र गजलमा पनि फूललाई फूलजस्तै कोमल, स्वच्छ र उत्साहको विम्बको रुपमा प्रस्तुत गरिन्छ । अनि काँडालाई ठीक विपरित । 

फूलको मौसम प्राय वर्षैभरी हुन्छ भने पनि फरक पर्दैन । बारमासे र सिजनल गरी फूल फुलिरहेकै हुन्छन् वर्षभरी नै । कहिले कुन फूल त कहिले कुन फूल फूलिरहन्छन्, झुलिरहन्छन् । हाम्रो समाजमा वर्षभरि नै चाडपर्व परिरहन्छन् । त्यसैले वर्षैभरी फूलको महत्व पनि अत्यधिक हुन्छ । विशेषत शरद ऋतुको असोज कात्तिक महिना नेपाल फूलमय हुन्छ, ढकमक्क ।

नेपालीहरुको महान चाड दशैं र तिहारको आगमनसँगै फूलको माग बढ्ने गर्छ । यसो गर्न पनि फूल, उसो गर्न पनि फूल नै । वडादशैंको सातौं दिनको त नामै ‘फूलपाती’ । फूलको महिमा अपरम्पार छ,यसको सौन्दर्यको बयान गर्न शब्दहरु असमर्थ हुन्छन्, यहाँ तिहारको पूर्व सन्ध्यामा हामीले फूलको महिमाको सानो वर्णन गर्ने प्रयाश गरेका छौं– फूलको कथा । 

गीतमा खोजे गीतैमा । कवितामा खोजे कवितैमा । जन्ममा होस् कि मरणमा, जीवनको थालनी देखि बिसाउनीसम्म पनि फूलले मानव जीवनलाई साथ दिएको पाईन्छ ।  

फूलको महत्व यति धेरै किन भयो भने, फूल देउतालाई चढाइन्छ । देउता जस्तै आदर्शवान होउन् भनेर नै फूलको माला विशेष अवसरमा मानिसलाई पनि लगाइन्छ । भलै यसमा कतिको सत्यता छ, त्यो स्वमूल्यांकनको विषय हो । 

र यति चाँही प्रष्ट छ– फूल सधैं सकारात्मक उर्जा प्राप्तिको लागी प्रयोग गरिन्छ । 

भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा वार्षिक करिव १५ करोड रुपैयाँ बराबरको फूल भित्रिने गरेको छ । तिहारमा सबैभन्दा धेरै फूलको खपत हुन्छ । किनकी कागलाई फूलको माला, कुकुरलाई फूलको माला, गाईलाई फूलको माला, गोरुलाई फूलको माला अनि अन्त्यमा आफैंलाई फूलको माला । 

नेपाल फ्लोरिकल्चर एसोसियसनको तथ्यांक अनुसार भने तिहारमा मात्र नेपालमा करिव २० देखि २५ लाख थान फूलको माला खपत हुन्छ । कुल मालाको ६० प्रतिशत काठमाडौं उपत्यकामा मात्रै खपत हुन्छ । 

सामान्यतया एउटा फूलको मालाको खुद्रा मूल्य ७० रुपैयाँसम्म पर्ने गरेको छ । यसर्थमा तिहारमा फूलको लागि मात्र नेपालीले करिब १४ करोड रुपैयाँ खर्च गर्ने गर्दा रहेछन् । 
फूलको उत्पादनमा पनि वर्षेनि १२ देखि १५ प्रतिशतले वृद्धि भइरहेको छ । 
 
फूल– कुटनीतिक सम्बन्ध विस्तारको रुपमा पनि प्रयोग भएको छ । जङ्गबहादुर राणाले सन् १८५५ मा बेलायतमा केही नेपाली कोसेली पठाउँदा मखमलीको फूल पनि पठाएको इतिहासमा धमिलो रेकर्ड छ । मखमली त्यही फूल हो जसलाई तिहारमा दिदीबहिनीहरुले आफ्ना दाजुभाईको दीर्घायुको कामना गर्दै पहिराइदिने गर्छन् । 

जङ्गबहादुरले बेलायतलाई मखमली पठाउनुको तात्पर्य पनि त्यही हुन सक्छ– नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध, दिदीभाईको सम्बन्ध जस्तो गहिरो अनि मखमली जस्तै कहिल्यै नओईलाउने दीर्घायु बनोस् । फूल पर्खाइको विम्ब हो । 

 फूल प्रेमको विम्ब हो ।  फूल विछोड अनि तडपको विम्ब हो । फूल सुन्दरताको विम्ब हो ।  फूल खुशीको विम्ब हो ।  फूल जीवन, जोवन र यौवनको विम्ब हो । सुखी भए फूल जस्तो जीवन, दुखी भए काँडा जस्तो । कलकलाउँदो जवानी भए फूल जस्तो, बूढेसकाल भए काँडा जस्तो ।

फूल शुभारम्भ हो । फूल शुभआशिष हो । न्वारानमा फूल, ब्रतबन्धमा फूल । पूजामा फूल, श्राद्धमा फूल । विवाहको खाटमा फूल, अनि मृत्युपछिको घाटमा फूल । सर्सर्ति हेर्दा लाग्छ, मानिसको चोला, फूलै फूलको चोला । 

 

ताजा खबर