महिनावारीको बेलामा पनि कक्षा टुटाउँदैनन् छात्राहरु !

२०७६ कार्तिक ६ बुधबार १४:११:०० मा प्रकाशित

पाल्पा । रामपुर नगरपालिका वडा नं ५ स्थित रामतुलसी माविमा पाँच÷सात वर्ष पहिले महिनावारीका बेला धेरै छात्रा विद्यालय नै जाँदैनथे । कतिपय बीचमै कक्षा छाडेर घर फर्कन्थे । आफ्नो समस्याबारे खुल्न लाज मान्ने उनीहरू घर फर्कन विभिन्न बहाना बनाउँथे । यसको कारण हो – विद्यालयमा छात्रामैत्री शौचालयको अभाव । 

सिधै शिक्षकसामु आफ्ना समस्या खुलेर बताउन नसक्दा छात्राहरु घरायसी काम, बिसञ्चो जस्ता समस्या बताउँथे र घर जान्थे । त्यसकारण विद्यालयमा उनीहरुको उपस्थिति टुट्न पुग्थ्यो । अहिले समय बदलिएको छ, यो समस्या सधंैका लागि टरेको देखिएको छ । छात्रामैत्री शौचालय विद्यालयले निर्माण गरिदिएपछि अहिले महीनावारीका समय विद्यालयमा छात्राहरुको अनुपस्थित हुने दर शून्यमा झरेको छ ।
    
कक्षा १० मा अध्ययनरत छात्रा सन्ध्या अधिकारीलाई महीनावारीको समस्या आएपछि निकै पिरोल्थ्यो तर, अहिले शौचालयको राम्रो प्रबन्ध भएपछि महीनावारीका समय भए पनि उहाँ अप्ठेरो मान्नुहुन्न र नियमित विद्यालय जान्छन्् । 

“महिनावारी भएपछि नचाहँदा नचाहँदै पनि घरमै बस्नुपर्ने बाध्यता हुन्थ्यो,” उनले भन्– “अहिले छात्रामैत्री शौचालय बनेपछि नियमित विद्यालय जान थालेकी छु ।”  

सोही कक्षामा पढ्ने अर्पणा खनाल पनि महीनावारीका बेला बीचमै विद्यालय छाडेर घर फर्कने गरेका थिएन् । महीनावारीको समय बिताउन निकै कष्ट पथ्र्यो । विद्यालयमै सेनेटरी प्याडको व्यवस्था र छात्रामैत्री शौचालय बनेपछि भने उनी नियमित विद्यालय जाने गरेकी छिन् । 

“विद्यालयमै सेनेटरी प्याड र बालिकामैत्री अत्याधुनिक सुविधा सहितको शौचालय बनेको छ, छात्रालाई महीनावारीका समय सहज भएको छ” – उनले भनिन् । 

महीनावारीका बखत विद्यालयमा सेनेटरी प्याडको व्यवस्था र छात्रामैत्री शौचालय नहुँदा कक्षा टुटाउने उहाँ आफूसँग अन्य साथी पनि अहिले सँगसँगै नियमित विद्यालय आउने जाने गरेको बताइन् । महीनावारीका समय दुईदेखि तीन दिनको समय छात्राहरु विद्यालयमा अनुपस्थित हुने गर्थे । महिनावारीका समयमा छात्राहरु बीचमै कक्षा छाड्ने र विद्यालय नआउने गरेको पाएपछि विद्यालयले छात्रामैत्री शौचालय निर्माणमा ध्यान दिएको हो । 

विद्यालयले छात्राहरुले मात्र प्रयोग गर्ने गरी करीव २३ लाखको लागतमा १५ कोठासहितको अत्याधुनिक छात्रामैत्री शौचालय निर्माण गरेको छ । यो सहित अहिले २० कोठाको छात्रामैत्री शौचालय छात्राहरुले मात्र दैनिक प्रयोग गरिरहेको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए । 

“पर्याप्त छात्रामैत्री शौचालय, सेनेटरी प्याडको व्यवस्था लगायतको सुविधासम्पन्न शौचालय भवन बनेको छ, यहाँ छात्राहरुका लागि छुट्टै शौचालय बनेपछि महीनावारीको पर्वाह नगरी नियमित रुपमा विद्यालय आउन थालेका छन” – उनले भने । 

विद्यालयमा हाल ४० कोठासहितको शौचालय दैनिक प्रयोगमा छ जहाँ एकै पटकमा १२५ जनाले प्रयोग गर्न सक्छन् । छात्राहरु महीनावारी भएका बेला पहिला पेट दुखेको, टाउको दुखेको  जस्ता अत्तो थापेर घर जाने गरेको पाइएपछि विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गर्न थालेको शिक्षिका विनिता भट्टराई बताउँछन् । अझै पनि दश प्रतिशत छात्राहरुले आफै सेनेटरी प्याड माग्न हिच्किचाउने र साथीहरुमार्फत माग्न लगाउने गरेका छन् ।  

त्यसैगरी, रामपुर नगरपालिका–८ स्थित गंगा माविमा छात्रालाई लक्ष्य गरी ३ वर्ष अघिदेखि छात्रामैत्री शौचालय निर्माण गरी प्रयोगमा ल्याइएको छ ।  शौचालय बनेपछि छात्राहरु नियमित रुपमा विद्यालय आउँछन्, कक्षा त्याग्दैनन् । छात्राको बीचमै घर फर्कने प्रवृत्तिमा कमी आएको प्रधानाध्यापक देवराज देवकोटा बताउँछन । 

विद्यालयले एकैपटकमा १५ जनाले प्रयोग गर्न मिल्ने खालको छात्रामैत्री शौचालय भवन बनाएको छ । तीन वर्ष अगाडि धेरैजसो छात्रा हरेक महिना दुई÷तीन दिन घरमै बस्ने र विद्यालय गएका बखत महीनावारी भए बीचमै पढाइ छाडेर घर फर्कने गरेकामा अहिले यो अवस्थामा राम्रो सुधार आएको छ ।

विद्यालयमा छात्राहरुका लागि छुट्टै शौचालय आफूहरुलाई सहज भएको कक्षा १० मा पढ्ने छात्रा अमिशा ढुंगानाले बताइन् । पाल्पा जिल्लामा सामुदायिक र संस्थागत गरी जम्मा ४९३ विद्यालय सञ्चालित छन् । हाल ३०३ विद्यालयमा छात्रामैत्री शौचालय निर्माण भइसकेको थाहा भएको छ ।
  
जिल्ला शिक्षा समन्वय कार्यान्वयन इकाई समिति पाल्पाका प्रमुख रमेशराज पौडेलका अनुसार १८५ विद्यालयले व्यवस्थित तरीकाले सेनेटरी प्याडसहितको अत्याधुनिक शौचालय सञ्चालनमा ल्याइसकेका छन् । छात्रामैत्री शौचालय र सेनेटरी प्याडको व्यवस्था गरेका विद्यालयमा छात्राहरुको उपस्थिति राम्रो रहेको पाइएको छ, यो व्यवस्था सबै विद्यालयमा अनिवार्य गर्न जोड दिइरहेका छौँ” – उनले भने । 

केही विद्यालय आफैंले सेनेटरी प्याडको प्रबन्ध गरेको छ भने केही विद्यालयमा विद्यार्थी बालमञ्च र रेडक्रसको सहकार्यमा प्याडको व्यवस्था गरिएको पाइएको छ । 
कात्तिक १ गतेदेखि नेपाल सरकारले सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको हो । ग्रामीण भेगका केही विद्यालयमा भने अझै पनि शौचालय प्रवन्ध हुन नसक्दा छात्राहरू महीनावारीका बेला घरमै बस्ने गरेका छन् । रासस

ताजा खबर