एनआरएनको भूँइफुट्टा चरीत्र र चुनौति

२०७६ कार्तिक ४ सोमबार १५:०९:०० मा प्रकाशित

 

        नेपाल बाहिर रहेका नेपालीहरुको सम्मेलन भर्खरै सकिएको छ । सम्मेलनले नयाँ कार्यसमितिलाई पनि निर्वाचित गरेको छ । तर सम्मेलनको समयमा गैरआवासीय नेपालीहरुले देखाएको क्रियाकलापप्रति सबैको चासो बढेको छ । गैरआवासीय नेपालीहरुको संस्थाप्रति रौं बराबर पनि आस्था नहुँदानहुँदै पनि यो पंक्तिकार एक गैरआवासीय नेपालीको नाताले यो लेखांश तयार गर्न वाध्य भएको छु । जस्को लागि भनेर यो संस्था खोलिएको छ,त्यो वर्ग यो संस्थामा दुई प्रतिशत पनि आवध्द छैनन् । तसर्थ यो गैरआवासीय नेपाली एशोशिएशनलाई विदेशमा बस्ने ९० प्रतिशतभन्दा बढी नेपालीले आफ्नो संस्था मानकै छैनन् । यसका विभिन्न कारणहरु छन् ।

एनआरएनलाई बिदेशमा बस्ने नेपालीले आफ्नो संस्था नमान्नुका कारणहरु बताउनु भन्दा पहिला भर्खरै सकिएको सम्मेलनका बिषयमा केही चर्चा गर्नु उपयुक्त होला ।

नेपाल बाहिर बस्ने नेपालीहरुका आआफ्नै वाध्यता र पीडा छन् तैपनि झट्ट हेर्दा सुखी,खुशी एवं सम्पन्न देखिन्छ । यतिमात्र नभएर बढी अनुशासित सभ्य एवं कानूनप्रति वफादार हुन्छन् भन्ने अपेक्षा हुन्छ । यिनै आधारमा नेपालमा बस्ने नेपालीहरुले विदेशमा बस्ने नेपालीहरुलाई छुट्टै सम्मान,श्रध्दा र मर्यादापूर्ण व्यवहार गरेको पाईन्छ । धन सम्पत्तिको रवाफिलो संस्कार झांगिएको हाम्रो नेपाली समाजमा विदेशमा बस्नेहरुले धेरै कमाउँछन् भन्ने विश्वास पनि छ । सम्पत्ति नै सबैथोक हो भन्ने हाम्रो समाजले धेरै पैसा कमाउने मान्छे जस्तोसुकै भएपनि आदर गर्ने प्रचनलन छ । यही प्रचलनका आधारमा विदेश बस्ने नेपालीहरुले आफूलाई अब्बल ठान्ने गरेको कुरा पनि स्पष्ट छ । दुई चार महिना भारतको कोलकत्तामा दरबान भएर फर्किँदा एकदुइ जना भरियालाई आफ्ना झिटिगुन्टा बोकाएर आफू काँधमा बडेमानको क्यासेट राखेर गीत घन्काउँदै घरतिर फर्कँदा बाटामा हेर्ने रमितेहरुको घुँइचो लाग्ने सभ्यतामा हुर्किएका मान्छे हौं हामी । अहिले पनि विदेशमा भासिनका लागि भिसा लाग्दा महोत्सव नै मनाए झैं गर्ने हाम्रो मानसिकतालाई गैरआवासीय नेपाली संस्थामा सम्बध्द साथीहरुले सम्मेलनको बेला देखाउनु भएको तमासालाई अन्यथा नै लिनुपर्ने होइन । तर पनि हामी कहिलेसम्म यस्तै असभ्य मानसिकता बोकेर हिँड्ने भन्ने प्रश्न मननीय छ । विदेशमा बस्दा नेपालमा भईरहेको विकृति, विसंगति एवं गतिविधिहरुलाई आलोचना गर्दै अर्ति उपदेशको ओइरो लगाउनेहरु नै नेपाल गएर गैरआवासीय सम्मेलनमा नांगै दौडिनु कम हाँस उठ्दो बिषय होइन ।

एनआरएन सबै गैरआवासीय नेपालीहरुको संस्था बन्न सकेको छैन । खासगरी एनआरएनमा सक्रिय हुनेहरु कि त ठूला व्यापारी छन् कि त काम चाहिँ केही नगर्ने र गर्नै खोजे पनि केही गर्न नसक्ने तर नाम प्रतिष्ठा चाहिनेहरुको एउटा जमात संलग्न छ । कतिलाई म एनआरएन हुँ भनेर धाक धक्कु लगाउनुपर्नेहरु पनि संलग्न छन् । 

यसका साथै एनआरएनको नाममा  राजनीति गर्ने, अनि अमूक पार्टी नेताहरुसँग नजिकिने,फोटो खिच्ने र नेपालबाट फर्किएपछि आफू बसेको ठाउँका सिदासादा नेपालीलाई नेताहरुसँगको सम्बन्धको फुर्इँ लगाउने भूँइफुट्टाहरुको पनि संलग्नता देखिन्छ । यस्तै मानिसहरुको बाहुल्य भएकै कारण भर्खरै सम्पन्न सम्मेलनमा अशोभनीय हुलदंगा,होहल्ला,अनावश्यक फाईंफुट्टी,जालसाजी तथा कीर्ते गतिविधिहरु सतहमा नै छताछुल्ल पोखिन पुग्यो ।

नेपाल छोडेर बाहिरी देशहरुमा बस्नुको एउटै मात्र फाईदा छ,त्यो फाईदा भनेको अनुशासन,शिष्टाचार,कानूनको सम्मान गर्ने संस्कार,आफ्नो असन्तुष्टि पोख्दा अर्काको मान सम्मानप्रति सजगता,श्रमको मूल्यको पहिचान एवं सम्मान तथा पाखण्ड चरीत्रप्रति विमोह जस्ता व्यक्तिगत आचरणमा केही परिवर्तन देखिनु हो । तर एनआरएनको सम्मेलनमा जे देखियो त्यो भनेको ‘कुकुरको पुच्छरलाई १२ वर्षसम्म ढुंग्रोमा राख्दा पनि बांगै’ भन्ने उखान चरितार्थ हुन पुग्यो । नेपालमा रहेका नेपालीहरुले एनआरएनबाट यिनै कुराहरु सिक्न पाईएला,बिकसित मुलुकबाट आएका हाम्रा दाजुभाई दिदीबहिनीहरुले अनुभव गरेको सिकेका ज्ञान एवं व्यवहारिक योग्यता नेपालको बिकासमा प्रयोग गर्लान् भनेर सम्मान गरेका हुन, माया गरेका हुन् र केही अपेक्षा गरेका हुन् ।

नेपालको राजनीतिक अव्यवस्था,नेतृत्व वर्गको स्वेच्छाचारिता एवं अनैतिक चरित्रका कारण सामाजिक जीवनमा परेको असहजतालाई सभ्य र बिकसित समाजको साँचोमा अभ्यस्त भएका आफ्ना नेपाली दाजुभाई दिदीबहिनीहरुद्वारा सुधारका लागि केही पहल होला भन्ने आशा पक्कै पनि हुन्छ । तर परिणाम उल्टो भयो । नेपालमा  अभ्यास भैरहेको भन्दा पनि अशिष्ट शैलीबाट एनआरएनको सम्मेलन समाप्त भयो । यस्तो क्रियाकलापले सम्पूर्ण गैरआवासीय नेपालीको शिर झुकेको छ ।

गैरआवासीय नेपाली संस्थाका नेताहरु सम्पूर्ण आप्रवासी नेपालीको संस्था भनेर चर्चा गर्छन् तर झण्डै ९० लाख नेपालीहरु देश बाहिर छन् । त्यसमा ५ प्रतिशतले पनि सदस्यता नलिनुले नै यस संस्थाको लोकप्रियतालाई प्रष्ट पार्छ । कति गैरआवासीय नेपाली विदेशमा श्रमशोषणमा परिरहेका छन्,विशेषगरी खाडी मुलुकहरुमा र केही मात्रामा बिकसित मुलुकहरुमा समेत नेपालीहरु अनेकौं समस्याहरुबाट ग्रस्त छन् तर कतै गैरआवासीय नेपाली संस्थाले परिणाममुखी सहयोग गरेको पाईएको छैन । केही रवाफिला कार्यक्रमहरु बाहेक कल्याणकारी कार्यक्रम ज्यादै नगण्य छन् । भूकम्पको महाविनाशपछि नेपालमा केही हदसम्म सेवाको कार्य भएको छ,यो भन्दा बाहेक गणनीय केही देखिँदैन ।

जहाँ नेपाली पुगेका छन्,त्यहाँ गैरआवासीय नेपाली संस्था गठन भएको छ । संगठनको बिस्तार व्यापक रुपमा भएको छ । तर कार्यक्रम नगन्य छ । नेपालीहरुको मौलिक पहिचान,सभ्यता एवं विशिष्ठता झल्कने कार्यक्रम कतै भेटिँदैन । बरु हरेक नगरहरुमा त्यहीँका स्थानीय नेपालीहरुले आफ्नै स्थानीय संस्था खोलेर नेपाली चाड पर्व,संस्कृति,भाषा साहित्य एवं जीवनशैलीको जगेर्ना गरिरहेका छन् । नेपालीभाषी एवं संस्कृतिका अनुयायीहरुलाई जोड्ने काम गरिरहेका छन् । यस्ता गतिविधिहरुमा एनआरएनको कतै उपस्थिति देखिँदैन ।

पंक्तिकार स्वयं क्यानडामा बसोबास गर्दै आएको ९ वर्ष पूरा भइसकेको छ । आजसम्म कसैले एनआरएनको सदस्य बन्नको लागि न त सार्वजनिक आव्हान गरेको छ न त सदस्यताका लागि अवसर प्राप्त भएको छ तर पछि यही मेरो नगरबाट राजनीतिक आस्थाका आधारमा टपक्क टिपेर कसैलाई प्रतिनिधि बनाईएको खबर सुनिन्छ । तसर्थ, यो गैरआवासीय नेपाली नामको संस्था केही टाठाबाठाहरुको हातमा मात्रै छ भन्ने कुरा प्रष्ट छ । तर दुर्भाग्य केहो भने यस संस्थाको गतिविधिको बाछिटा हामी असरोकारवाला मानिसहरुमा पनि आईपुग्छ । भर्खरै काठमाडौंमा सम्पन्न सम्मेलनमा भएको ताण्डवपछि कतिपय नेपालमा रहनुभएका साथीभाई तथा आफन्तजनहरुले एनआरएनले त वेइज्जत गरे नि त भनेर सरोकार राख्नुभयो । यो हाम्रो लागि दुर्भाग्य हो ।

केही पद र प्रतिष्ठाका भोका मानिसहरु भएजतिका सबै संस्थामा पद लिन दौडिरहेका हुन्छन् । नेपालका राजनीतिक दलको भ्रातृ संगठन खोलेर त्यसमा पनि एउटै पार्टीभित्रका सबै गुट उपगुटका समितिहरु बनाईएको हुन्छ । तिनै व्यक्तिहरु फेरि एनआरएनको नेतृत्व हत्याउन पनि पुगेकै हुन्छन् । उदेक लाग्ने कुरा त के छ भने गैरआवासीय नेपालीहरुको संस्थामा पद लिन आप्रवासी नेपालीहरुसँग सरोकार नराखी नेपाली दलका नेताहरुको ढोका चाहार्न पुग्छन् । अनि नेपाली दलको झण्डा बोकेर चुनाव लढ्छन् । यस्तो संस्था पनि कतै गैरआवासीय नेपालीहरुको संस्था हुन सक्छ ?

अझै हाँसो लाग्दो कुरा त भर्खरै एनआरएनको अध्यक्षमा विजयी भएका कुमार पन्तले गर्नु भएछ । आफैं अमूक पार्टीको आधिकारिक उम्मेदवार बन्न अमूक दलका नेताका घरघरमा धाउनु भयो । तर चुनाव जितेपछि ठूला पार्टीका नेताहरु होटलका कोठा कोठामा आएर अनावश्यक राजनीतिकरण गरियो भन्ने गुनासो गर्नु भएछ । उहाँको समर्थनमा वर्तमान सत्तारुढ दलका कार्यकर्ता मरिमेटेर लागेको कुरा सामाजिक सञ्जालमा छताछुल्ल पोखिएको थियो । उहाँका प्रत्याशी कुल आचार्यलाई नेपाली कांग्रेसले खुलेआम काँधमा बोकेकै थियो । यतिसम्मकी काठमाडौंमा चाडपर्वको बेला काम नभएर बसेका पार्टीका कार्यकर्ताहरुको घुँईचो गैरआवासीयहरुको भन्दा बाक्लो थियो । यसकारण पनि गैरआवासीय नेपालीहरुको संस्था आप्रवासी नेपालीका लागि ‘बाख्राको घाँटीमा झुण्डिएको लुर्को’जस्तै बनिसकेको छ ।

भर्खरै विजयी अध्यक्ष कुमार पन्तले यी सबै विकृतिहरुलाई सुधार गरेर एनआरएनलाई सबै आप्रवासी नेपालीहरुको सम्मान र प्यारो संस्था बनाउन सफल रहुन्,एक आप्रवासीका नाताले मेरो हार्दिक शुभकामना छ ।
 

ताजा खबर