अंग्रेजलाई हराएको २५० औं विजयोत्सवमा साइकल यात्रा 

२०७४ असोज ५ बिहीबार १६:५६:०० मा प्रकाशित

काठमाडौं,५ असोज ।  सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा समृद्ध सिन्धुली अभियानले आगामी कात्तिक २४ गते २५० औं विजयोत्सव भब्य रुपमा मनाउने भएको छ । यस बर्ष गढीयुद्धमा  विजय हासिल गरेको २५० बर्ष पुग्दैछ । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको विजयोत्सवलाई भब्य बनाउन अभियानले कमलामाई नगरपालिकासँग मिलेर ‘राइड टु सिन्धुलीगढी’ साइकल यात्रा, विजयोत्सव साङ्गीतिक समारोह, सिन्धुलीगढी कला शिविरलगायतका कार्यक्रम गर्ने बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

अभियानका संयोजक लीलानाथ घिमिरेले सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउन साइकल यात्रा आयोजना गरिएको बताए । उनले यसपालीको विजयोत्स बर्षजत्तिकै २५० जना ब्यवसायिक साइकल यात्रीलाई सिन्धुलीमाढीसम्म लैजाने तयारी गरेको बताए । ‘साइकल यात्रालाई ‘राइड टु सिन्धुलीगढी’ नाममा ब्रान्डिङ गरेर हरेक बर्ष गरिने यस यात्रामा विश्वभरिका साइकल यात्रा प्रेमीलाई सहभागी गराउने हाम्रो योजना छ’ पत्रकार सम्मेलनमा उनले भने, ‘रमणीय, नागवेली, सुनकोशीको तिरैतिर भएर जाने वीपी राजमार्गहुँदै गुड्न पाइने यस यात्राले सहभागीलाई अविस्मरणीय मनोरंजन दिने हाम्रो अपेक्षा छ ।’ साइकल यात्राको नेतृत्व प्रसिद्ध विश्व साइकलयात्री पुस्कर शाहले गर्नेछन् ।

अर्का अभियन्ता सौरभ ढकालले ‘राइड टु सिन्धुली’ नाम दिइएको साइकल यात्राको दर्ता खुल्ला रहेको बताउँदै अहिलेसम्म १३० जनाभन्दा बढीले अनलाईन दर्ता गरिसकेको जानकारी दिए । उनका अनुसार साइकल यात्रा कात्तिक २३, २४ र २५ गते तीन दिनको हुनेछ । पहिलो दिनको यात्रा काठमाडौंको तीनकुनेबाट सुरु   हुनेछ । साइकल यात्री त्यस दिन साँझ सिन्धुलीको खुर्कोटमा बसेर दोस्रो दिन उहाँहरु सिन्धुलीगढीमा हुने विजयोत्सवमा सहभागी हुनेछन् । त्यहाँबाट उनीहरुलाई सिन्धुलीमाढी लैजाने उनीहरुको योजना छ । उनीहरु त्यस दिन सिन्धुलीमाढीमा हुने फुड स्टलसहितको विजयोत्सव सांगितिक समारोहमा सहभागी भएर खानपिन र संगीतको आनन्द लिनेछन् । साइकल यात्रीले काठमाडौंबाट झण्डै १ सय ५३ किलोमिटर यात्रा तय गर्ने छन् ।


यात्रुको सुविधाका लागि आयोजकले खाने, बस्ने, बीमा, एम्बुलेन्सहितको मेडिकल टिम, स्वयंसेवकहरु, साइकल मेकानिक्सहरुको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । 

विजयोत्सवलाई उल्लासमय बनाउन उद्योग बाणिज्य संघ सिन्धुलीको संयोजनमा कात्तिक २४ गते सिन्धुलीमाढीमा भब्य सांगितिक समारोह आयोजना गरिने उक्त कार्यक्रमका संयोजक भुवन थापाले जानकारी दिए । उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले सिन्धुलीका आदिवासीको साँस्कृतिक झाँकीसहितको सांगितिक कला प्रस्तुत गर्ने छन् । स्थानीय होटल ब्यवसायीहरुले स्थानीय खानाका परिकारहरुको स्टल राख्ने छन् । दुई दिनको यात्राले थाकेकाहरुका लागि साङ्गीतिक मनोरञ्जन लिँदै खानपिनको आनन्द लिन पाउने ब्यवस्था त्यहाँ गरिने छ । 

सिन्धुलीगढीमा भएको युद्धको झल्को दिनेसामग्री तयार गर्न अभियानले सिन्धुलीगढीमा कला शिविर समेत आयोजना गरिने जनाएको छ । नेपालका स्थापित कलाकारहरुलाई सिन्धुलीगढीमै लगेर युद्धका कथा सुनेका स्थानीय बयोबृद्धलाई कथा भन्न लगाइने शिविरका संयोजक दीपक श्रेष्ठले बताए । ‘निै बृद्धले सुनएको कथाका आधारमा कलाकारहरुले स्थानीय भौगोलिक अबस्थितिसहितको युद्धको स्मरण गराउने चित्र कोर्नेछन्’ उनले भने,  ‘ती चित्रकलालाई सिन्धुलीगढीका प्रबर्धनात्मक सामग्रीहरु क्यालेन्डर, पोष्टकार्ड, डायरी उत्पादनमा प्रयोग गरिने छ ।’ ती चित्रकलालाई बेलायतमा समेत प्रदर्शन गर्ने योजना रहेको अभियानले जानकारी दिएको छ ।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले सिन्धुलीगढीमा विजयोत्सव मनाउने तयारी पूरा गरिएको जानकारी दिँदै २५० जना साइकल यात्रीलाई स्वागत गर्न सिन्धुलीबासी आत्तुर रहेको बताए ।

साइकल यात्राको नेतृत्व गर्न लागेका विश्व साइकल यात्री पुस्कर शाहले सिन्धुलीगढीलाई संसारभर चिनाउन राइडटु सिन्धुलीगढी उपयोगी हुने बताउँदै उक्त यात्रामा सहभागी हुन साइकल यात्रीलाई आह्वान गरे । अर्का साइकल यात्री देवेन्द्र बस्नेतले सिन्धुलीगढीको गत बर्षको यात्रा निकै रोमान्चक भएको स्मरण गरे । कार्यक्रममा फास्टफुड एसोसिएसन नेपालका अध्यक्ष धनबहादुर श्रेष्ठले सिन्धुलीगढीसम्मको साइकल यात्राले पर्यटन प्रबर्धनमा टेवा पु¥याउने बताउँदै आफूहरुले त्यस्तो अभियानमा सक्दो सहयोग गर्ने बताए ।

साइकल यात्रामा पर्यटन बोर्ड, फास्टफुड एसोसिएसन नेपाल, टुरिज्म बोर्ड, उद्योग बाणिज्य संघ सिन्धुली, युवापोष्ट डटकम, द मोन्टाज, नेपालको रेडियो, नेपाल कनेक्सनलगायतका संघसंस्थाले सहकार्य गर्ने भएका छन् ।


यात्राका क्रममा बाटोमा पर्ने मध्यपुर ठिमी, बनेपा, धुलिखेल, नमोबुद्ध नगरपालिका, रोशी, सुनकोशी र गोलंजोर गाउँ पालिका, भक्तपुर पर्यटन विकास समिति, बनेपाको सुलभ बचत तथा ऋण सहकारीले महत्वपूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

ताजा खबर