महानगर प्रमुखले आशा देखाउनुभो, काम गर्नुभएन
स्थानीय तहको निर्वाचनका बेला निकै चर्चामा आएको नाम हो रञ्जु दर्शना । विकेकशील साझा पार्टीकी केन्द्रिय सदस्य दर्शनाको गुनासो छ – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आशामात्र देखाए, काम भने गरेनन् । अझ महंगो मोबाइल किन्ने, गाडी किन्ने जस्ता अलोकप्रिय निर्णय गरेर नकारात्मक प्रतिक्रिया आउने काम गरेको उनको बुझाई छ । महानगरका बासिन्दाले भोग्नुपरेको समस्या हटाउन ध्यान दिनुको साटो बिलासी कुरातिर लाग्दा जनतामा नराम्रो छाप पर्ने बताउने दर्शनाले यसै पनि राजनीतिप्रति बितृष्णा भइरहेको अवस्थामा अप्रिय निर्णयहरु गर्नुको साटो समस्या हटाउनेतर्फ ध्यान दिनु स्वागतयोग्य हुने कुरा सुझाईन् । यही सेरोफेरोमा सरलपत्रिकाले उनीसँग गरेको कुराकानीको मुख्य अंश :
सधैं व्यस्त देखिनुहुन्छ, के गर्दै हुनुहुन्छ ?
व्यस्तता चुनावकै भन्नुपर्छ । एउटा गएको (स्थानीय) चुनावको र अर्को आउने ( प्रदेश र संघ)चुनावको ।
भर्खरै प्रदेश घुमेर आउनु भएको छ, त्यताको अवस्था कस्तो पाउनुभयो ?
जीतपुर र सिमरा पुगेर आइयो । तराई यसै पनि गर्मी । यसपालि दुई खाले गर्मी अनुभव भयो । एउटा चुनावी गर्मी र अर्को वातावरणीय गर्मी । जीतपुर–सिमरा प्रदेश नम्बर २ मा तेस्रो चरणको चुनाव हुने भएपछि जीतपुर–सिमराको तीनवटा वडामा हाम्रो पार्टीबाट चारजना उम्मेदवार दियौं । प्रचार–प्रसार र मान्छेहरु चिनाउनका लागि अलि बढी समय मिल्यो । चार दिन पुरै चुनावी प्रचार प्रसारमा लागें । त्यहाँ धेरैले हामीलाई चिन्नुभएको थियो । अझ भित्रभित्र गाउँका बुवा आमाहरुले पनि हामीलाई चिन्नु हँुदा एकदमै खुशी लाग्यो । अब नयाँले नै केही गर्छन् त्यसैले नयाँलाई छान्नुपर्छ भन्ने सोच धेरैमा पाएँ ।
तपाईंहरुको पार्टीको राजधानीमा जत्तिको प्रचार प्रदेशमा चर्चा भएन नि ?
बाहिर सुनिन गाह्रै छ । हाम्रो पार्टीको बारेमा बाहिर सुन्न किन पनि पाउनु भएको छैन भने हाम्रो संगठन राजधानी बाहिर त्यति बलियो हुन पाएको छैन । संगठन मज्जाले बिस्तार भइसकेको छैन । संगठन बिस्तारकै क्रममा छौं । प्रचारसँगै संगठन विस्तारको काम भइरहेको छ । हामी चिनिँदै जानु पनि एउटा राम्रो कुरा हो ।
चुनावी परिणाम कस्तो आउँछजस्तो लागेको छ ?
उम्मेद्वारी नै दिइसकेपछि त्यसमा ढुक्क हुने कुरा त भइनै हाल्यो । हामी बलियो चाहिँ देखिएका छौं तर अझ मेहनत पुगेको छैन । नयाँ संगठन हो । संगठन पुरानो हुँदै गएपछि झन् ढुक्क हुन सकिन्छ ।
स्थानीय चुनाव सम्पन्न भएको छ, कसरी मूल्यांकन गर्नुहुन्छ ?
अन्योल थियो, तर राम्ररी सम्पन्न भएको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमाथि जुन महाअभियोग लगाइयो त्यसपछि के हो भन्ने अन्योल भएको थियो । चुनाव नहुने र कुनै अनिष्ट हुन्छ कि भन्ने मनमा चिसो पसेको थियो । तर स्थानीय निर्वाचन तीन चरणमा भए पनि सम्पन्न भएको छ । यो राम्रो कुरा हो ।
प्रतिनिधिसभा चुनावको तयारी कस्तो छ ?
विवेकशील साझा पार्टीको तर्फबाट त्यसको तयारी भइरहेको छ । बिभिन्न समितिहरु बनाइएको छ । हामीले दरिलो उपस्थिति हुनेछ भनेर तयारी गरिरहेका छौं । यसबारेमा ठ्याकै मैले अहिले केही बोल्न मिल्दैन किनभने हाम्रो केन्द्रीय समितिमा यसबारे छलफलकै प्रक्रियामा छ ।
दशैंको योजना के छ ?
यसपालिको भन्दा पनि अघिल्लो वर्षको दशैं म सम्झन चाहन्छु । दशैंको ९ दिनसम्म हामी बालुवाटारमा थियौं । दशैंकै माहोल भए पनि हाम्रा साथीहरुले लुटतन्त्रबिरुद्ध एउटा जिंगल बनाउनु भएको थियो । हामी नारा लगाउँथ्यौं । त्यतिबेला त्यहाँ लोकमान सिंह कार्कीबिरुद्ध महाअभियोगको कुराहरु चलिरहेको थियो । त्यो कुरा सम्झिदा अहिले ओहो हामीमा त्यतिबेला त्यस्तो उर्जा थियो भन्ने सम्झना हुन्छ । त्यतिबेला हामीमा पनि केही गर्छौं भन्ने उत्साह थियो । यसपालीको दशैंमा जनस्तरमा कस्तो खानेकुरा खान हुने कस्तो नहुने भन्ने कुरामा जनचेतना फैलाउने केही काम गर्न सक्छु कि भन्ने लागिरहेको छ ।
चाडपर्वका बेला मनपरीतन्त्र बढी चल्छ, सार्बजनिक यातायातको दुख, महंगीजस्ता कुराले जनताको ढाड सेकिएको छ, जनताको सुविधाका लागि तपार्इँहरुको के भूमिका हुन्छ ?
यो सबैको एजेण्डा हो, हाम्रो मात्र होइन । यसलाई मुख्य एजेण्डा बनाएर अझ मजाले अगाडि बढाएर लिएर जान सक्ने भनेको पहिले स्थापित भइसकेका पार्टीहरुले नै हो । उहाँहरुले अझ प्रभावकारी रुपमा लिएर जान सक्नुहुन्छ । हामी पनि सक्छौं तर हामीले अलिकति थोरै हिसाबमा सक्छौं होला । यो कस्तो पनि हो भने देशमा धेरैवटा समस्याहरु छन् र तपाईँलाई एउटा समस्याले बढी पोलिरहेको होला । मलाई अर्कोले र अन्यलाई अरु नै समस्या होला । फेरि एकैचोटि सबै समस्यामा काम गर्न पनि सकिन्न । कुनै एउटा समस्यामा मजाले काम गरेर त्यसलाई सफल बनाउने हो । त्यसमा पनि ध्यान दिनुपर्छ ।
काठमाडौं महानगर प्रमुखले कामै नगरेको भन्दै आउनुभएको छ, केही पनि काम भएको छैन त ?
उहाँले काम गरेकै देखिएन । जनस्तरमा धेरै गुनासो बढ्दै गयो । काम देखिएको भए त पक्कै पनि गुनासो बढ्दैनथ्यो ! मोबाइल किन्ने, गाडी किन्ने कुरा अप्रिय हुन् । समस्या समाधानको कुनै काम भएको छैन । उसै त राजनीतिप्रति वितृष्णा बढिरहेका बेला अप्रिय हुने निर्णयहरु गर्नुभन्दा जनतालाई राहत पुग्ने काम गर्नुपर्छ भन्ने हो ।
तपाई प्रमुख हुनुभएको भए कस्तो परिवर्तन देख्न पाइन्थ्यो ?
यदि त्यसो भएको भए कमसेकम सय दिनमा एक सय एक काम गर्थें चाहिँ पक्कै भन्दिन्थें । ‘ओभर प्रोमिस अन्डर डेलिभर’ पहिले बढी वाचा गरेर आशा देखाइदिसकेपसछि धोखा दिनु भएन नि । गर्न सक्ने कुराहरु पक्कै गर्थें । सडकका खाल्डा–खुल्डी पुर्छु भनेकी थिएँ, त्यो गर्थें ।
भन्नु र गर्नुमा फरक पनि त होला नि ?
हामीले एक हिसाबले उहाँको बिरोध मात्र पनि गरेका छैनौं । हामी अहिले पनि भन्दै छौं, अहिले पनि समय छ । तपाईँले काम गरेको देखिएन तर हामी पनि तपाईँलाई कहाँनिर गाह्रो भएको छ सहयोग गर्न एकदमै तयार छौं भनेर बारम्बार भनिनैरहेका छौं । काम गर्न पक्कै पनि गाह्रो हुन्छ । गाह्रो भएको छैन भनेका छैनौं तर जुन उर्जा देखिनु पर्ने हो त्यो एकदमै कम भयो र देखिएन ।
महानगरले तत्काल अहिले गर्नुपर्ने ५ मुख्य काम के हुन् ?
पहिलो खाल्डा–खुल्डी पुर्ने, दोस्रो धुवाँ धुलोको समस्या हटाउने, तेस्रो फोहर–मैला व्यवस्थित गर्ने, चौथो पुननिर्माण प्राधिकरणसँगै अघि बढेर सम्पदा संरक्षणको काम गर्ने अनि नेतृत्वले आफैं सबैतिर घुमेर प्रत्यक्ष समस्या बुझ्ने र त्यसमा काम गर्ने हो ।
कसरी गर्ने ती काम ?
प्रत्येक वडासँग समन्वय गर्ने, समस्या बुझ्ने अनि समन्वय गरेर काम गर्ने हो । सडक व्यवस्थित भए धुवाँ धूलोको समस्या धेरै कम हुन्छ । फोहोर मैलाको कुरामा चाहिँ प्रशिक्षण नै दिनुपर्छ । कुहिने नकुहिने फोहोरलाई कहाँ व्यवस्थित तरिकाले राख्ने भनेर प्रशिक्षण दिँदा राम्रो हुन्छ । सम्पदाको कामहरु बिस्तारै बिस्तारै त हुन थालेका छन् तर अलि चाँडो हुनुपर्यो । यसमा धेरै चाहिँ गर्नुपर्ने छैन सानो सानो कामहरु देखिएका छन् । अर्को स्थानीय स्तरबाट बौद्धिक व्यक्तित्व सम्पदामा जो जो हुनुहुन्छ उहाँहरुको सरसल्लाह लिएर नै अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ ।
प्रस्तुति :सुकृत नेपाल