सरकारको कार्यशैलीमा नभेटिएको भिन्नता

२०७६ कार्तिक ३ आइतबार १४:२६:०० मा प्रकाशित

सरकार भन्छ– हामीले धेरै काम गर्यौं । काम गर्दैछौं र अझै गर्छौं । तर जनस्तरमा सरकारप्रति चरम निराशा र आक्रोश बढ्दो छ ।

प्रधानमन्त्री केपी शर्मा ओेलीले बुधबार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा भने– निश्चित उद्देश्य बोकेका मानिसहरुले मात्र केही भएको छैन भनेर भ्रम फैलाएका हुन् । आँखा बन्द गरेर केही भएन भनिएको भन्दै उनले के भिन्नता छ भनेर थाहा पाउन आँखा खोलेर हेर्न अनुरोध गरे । उनको के तर्क छ भने यो सरकार बनेपछि बुढाबुढीको जीवनमा परिवर्तन आएको छ ।

हालै  चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा रातारात काम गरेर जस्तो जहाज पनि बस्नसक्ने एयरपोर्ट बनाएको छ जुन पहिला थिएन ।

हरेक नेपालीको बैंक खाता खोल्ने, नेपालको पानीमा जनताको लगानी जस्ता अभियान सुरु गरिएको, बाटोघाटो, पुलहरु बनेको जस्ता कुरा उनले सुनाए । प्रधानमन्त्रीका यस्ता नियमित प्रक्रियामा गर्ने सामान्य कामलाई जनताले देशमा ठूलै उपलव्धि भएको मानेर सन्तुष्ट हुने ठाउँ रहला त ?

अहिलेको सरकारलाई विगतका सरकारले जस्तो नित्यकर्मको औपचारिकता पुरा गर्ने छुट छैन । यही सरकारको लागि नै नेपाली जनताले लामो प्रतिक्षा गरेका थिए । यो संविधानको लागि एक दशकको संक्रमणकाललाई सहन गरेका हुन् जनताले । २०७२ मा संविधान बनेपछि पनि अस्थिर राजनीतिको शिकार भएका आम नेपाली जनता एक पटक स्थिर सरकार आउँछ र देशमा आमूल परिवर्तन हुन्छ भन्ने अपेक्षा लिएर चित्त बुझाएका हुन अनि त्यही अवसर प्राप्तिका लागि आँखा चिम्लिएर केपी शर्मा ओलीप्रति अगाध विश्वास र भरोसाका साथ तत्कालिन नेकपा एमाले र नेकपा माओवादी एकताकेन्द्र गठबन्धनका पक्षमा मतदान गरेका हुन् ।

नेपालमा गणतन्त्र ल्याउन भएको जनआन्दोलनको जुन अपेक्षा थियो, त्यसलाई पुरा गर्नुपर्ने दायित्वको सुरुवात यही सरकारको गठनदेखि भएको हो किन भने यो निर्वाचन अघिको सरकारहरु अल्पमतको थिए, अस्थिर थिए । ती सरकारहरु जनता र देशका लागि भन्दा आफंैलाई कसरी जोगाउने भन्ने चिन्तामै रुमल्लिएर समय बिताए ।

नियमित प्रक्रिया पुरा गरेर काम गरेको लिष्ट बनाउने छुट यो सरकारलाई यसकारण पनि छैन कि यो माओवादी जनयुद्धसित पनि जोडिएको छ । सत्तासीन नेकपाका अध्यक्ष प्रचण्डले १० वर्ष जनयुद्ध हाँकेका हुन् । जनयुद्धमा देखाइएका सपना के के थिए र कस्ता थिए । तिनलाई कसले पुरा गर्ने र कहिले पुरा गर्ने यो सरकार जवाफ दिन वाध्य छैन ? त्यो अनुसारको काम गरेर देखाउने दायित्व यै सरकारको हो कि हैन ? सत्र हजार नेपाली जनता मारिएका छन् । दशौं वर्षसम्म तीन करोड नेपालीको जनजीवन अस्तव्यस्त भयो । घरघरमा पीडा र आतंक व्यहोर्न पर्यो । देश विसौं तीसौं वर्ष बिकासमा पछाडि धकेलियो । त्यसलाई भेट्टाउन यो अहिले कम्तीमा पनि तीन चार गुना वेगमा सरकार दौड्न पर्ने हैन र ?

यही सरकारमा रहेको पर्टीले जनयुद्धको नाममा सिर्जना गरेको त्यो अत्यासलाग्दो परिस्थितिलाई विर्साउने गरी अहिले काम गर्ने यो सरकारको दायित्व हैन र ?

जनतामा बढ्दो निराशाको कारण वर्षौदेखि चाङ लागेर वसेका तीब्र आशा र सरकारका सुस्त गति बीचको तालमेल हुन नसक्नु हो । अझ विडम्वना के हो भने सरकारले जनताका भरोसालाई ढीलो चाँडो पुरा गर्छ भनेर विश्वास दिलाउन नसक्नु हो । सरकारको प्रवृत्ति परम्परागत ढर्राको देखिन्छ । देशलाई अहिले चाहिएको आमुल परिवर्तन गर्न सक्ने न दृष्टिकोण न योजना देखिन्छ सरकारमा । वास्तवमा अहिले सरकार जसरी चलेको छ, त्यो त पहिले पनि कांग्रेसमा गिरिजाप्रसाद कोइराला, शेरवहादुर देउवा अनि एमालेमा मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खानालहरुले चलाएकै थिए नि । अनि माओवादीको जनयुद्ध र गणतन्त्रको जनआन्दोलनपछिको सरकारका शैली र प्रवृत्ति उही भए यसको औचित्य के हो त ? के नयाँ उपलब्धि भयो त ? यही फरक खोजीरहेका हुन जनताले ।  बुझ्न खोजेका हुन् । जनताको आधारभूत जीवनशैलीमा कुनै परिवर्तन आउँदैन भने सरकारले जेसुकै गरेको आँकडा पेश गरेपनि त्यो सन्तुष्टिको विषय हुन सक्दैन ।

बीस महिनाको अवधिमा यसले कति रोजगारी सिर्जना गरेको छ त ? युवाहरुको विदेश पलायनलाई कति रोक्न सकेको छ । किसानका उत्पादनलाई कति संरक्षण गर्न सकेको छ ? स्वास्थ्य, शिक्षा कति सुलभ छ भन्ने जस्ता समान्य जनताका आधारभूत चासोमा सरकारको काम हेरिने हो । काठमाडौंको सन्दर्भमा धुवाँ धुलो चार महिनामा हटाउने, चोक चोकका ट्राफिक लाइट सुचारु गर्ने, शहरी यातायात सुगम बनाउने, मेलम्चीको पानी ल्याउने प्रतिबद्धताको म्याद गुज्रेको बर्ष वितिसकेको छ । तैपनि छाँटकाँट कतै छैन । अनि जनताले कसरी पत्याउने, भरोसा गर्ने यो सरकारलाई ।

नेकपा पर्टीभित्र पनि सरकारको काम गराइबाट सन्तुष्टि छ भन्ने देखिन्न । पार्टीकै आधिकारिक स्रोतबाट सरकारले राम्रो काम गरेको दाबी गरिएको छैन । दुई तिहाइको सरकारबाट जनताका चाहना र आशा अनगिन्ती छन् । त्यो भन्दा माथि देशका आवश्यकता उत्तिकै छन् जुन तीब्र गतिमा यो सरकारले गर्नै पर्छ । प्रधानमन्त्रीले आफ्ना कामको फेहरिस्त भाषणपिच्छे सुनाइ राख्नु भन्दा जनताका असन्तुष्टिलाई महसुस गरेर सुुधार गर्नु पर्छ । जनचाहना र देशको आवश्यकता छिटोभन्दा छिटो पुरा गर्ने तयारीमा नेकपा लाग्नै पर्छ । विकल्प छैन । अन्यथा समय घर्कियो भने जनताले कसलाई कहाँ पुर्याउँछन् परिस्थितिले बताउने छ । 

ताजा खबर