नेपालका संरक्षित क्षेत्र समेटिएका ४८ चलचित्र  

२०७४ असार ३ शनिबार १३:५१:०० मा प्रकाशित

काठमाडौँ, ३ असार । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन् । 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा उक्त चलचित्र छायाङ्कन भएका हुन् । 

छायाङ्कन भएका चलचित्रमध्ये २५ वटा विदेशी, एक सार्क र २३ नेपाली रहेका छन् । एक चलचित्र निर्माणका लागि विदेशी मुलुकसँग एक हजार अमेरिकन डलर, सार्क मुलुकसँग २५ हजार नेपाली रुपैँया र नेपालीसँग रु पाँच हजार रुपैँया लिने गरेको विभागले जनाएको छ । 

विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले छायाङ्कन भएका चलचित्रमध्ये सबैभन्दा धेरै सगरमाथा राष्ट्रिय निकुञ्जमा हुने गरेको जानकारी दिए। उनले भने, “सगरमाथा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यको रुपमा महत्व रहेको क्षेत्र भएकाले यस क्षेत्रमा धेरै छायाङ्कन हुने गरेको छ ।” 

यसका साथसाथै बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जलगायतमा धेरै छायाङ्कन हुने गरेको छ । 

चलचित्रका छायाङ्कनका लागि डेनमार्क, अमेरिका, अष्ट्रेलिया, कोरिया, बेलायत, स्विटजरल्यान्ड, सिङ्गापुर, टर्की, चीन, स्वीडेन, रुस, जापानलगायतका मुलुकबाट आएको विभागले जनाएको छ । यस्तै सार्क मुलुकबाट भारत आएको छ । 

चलचित्र छायाङ्कनबाट विभागले २५ हजार अमेरिकन डलर र एक लाख ७० हजार नेपाली रुपैँया आम्दानी गरेको छ । विभागले दिएको जानकारी अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रमा गतवर्ष ३६ वटा चलचित्र छायाङ्कन भएका थिए । जसमध्ये ३५ विदेशी र एक नेपाली चलचित्र रहेको थियो । रासस 

ताजा खबर