सहायता रकममा लूट मच्चाउन गृह युद्ध

२०७६ असोज २६ आइतबार १६:३६:०० मा प्रकाशित

१. हाम्रै जीवन कालमा- अनुदान र ऋण जापानले पनि लियो, दक्षिण कोरिया,बेलायत, फ्रान्स र जर्मनीले पनि लिए । चीन र भारतले पनि लिए ।

जतिखेर जापान, कोरिया,चीन, भारत आदि मुलुकले आर्थिक सहायता र ऋण लिन्थे, हामीले पनि त्यतिखेर देखिनै लिन थालेका हौँ ।

उनीहरूले ऋण र सहयोग लिएर देश बनाए,उद्योग कल-कारखानाको विकास गरे, मुलुकको विकास गरे,जनताको जीवनस्तर उठाए,मुलुकलाई समृद्ध र शक्तिशाली बनाए ।
हामीले ???

२. त्यही ऋण, सहयोगबाट हामीले आफ्ना लागि दल बनायौं, घर बनायौं, महल बनायौं, देश लुट्यौं, समाज लुट्यौं, विदेशमा लगेर जम्मा गर्यौं,देश विदेश घुम्यौं, मोजमस्ती गर्यौं, सिध्यायौं !

ऋण दिनेलाई पनि मोज र शोख गरायौँ, ऋण लिनेले पनि मोज र शोख गर्यौँ-पैसा स्वाहा !
देशको भागमा ऋण त छँदै छ !

देशको ऋण सजिलो !

म लिन्छु, मोज गर्छु, अर्कोले तिर्छ !

३. दाम्बिसा मोयो नाऊ की हार्वर्डबाट मास्टर र अक्सफोर्डबाट पीएचडी गरेकी एक विख्यात अफ्रिकी महिला लेखक र अर्थशाश्त्री छिन- उनले डेड एड नाऊको विश्व विख्यात पुस्तकमा लेखे अनुसार १९७० पछिको तीन दशकको अवधिमा अफ्रिकी मुलुकहरूले तीन सय अर्ब डलर आर्थिक सहयोग प्राप्त गरे तर अफ्रिकी मुलुकहरू जहिले देखि सहयोग लिन थाले झन् झन् गरीव हुँदै गए ।

देश चलाउन सजिलो रकम आइहाल्यो, उत्पादकत्व वृद्धि र कठोरकठोर व्यक्तिगत, सामाजिक, सार्वाजनिक र राष्ट्रिय आर्थिक अनुशासन कायम गराउने कार्यको चुनौतीपूर्ण नेतृत्व कसले लेओस ?

४. अर्को ठाउँमा एक अर्का अर्थशाश्त्रीलाई उद्धृत गर्दै उनी लेख्छिन- १९६० देखि जाम्बियाले प्राप्त गरेको सहयोग रकम उत्पादक कार्यमा लगानी गरेको भए जाम्बियन जनताको प्रतिव्यक्ति आय २० हजार डलर पुगिसकेको हुन्थ्यो तर जाम्बियाको प्रतिव्यक्ति आय पाँच सय डलर मात्रै छ ।

१९७० मा ऋण वा सहायता रकम प्राप्त हुनु अघि अफ्रिकाको गरीवी ११ प्रतिशत थियो तर अफ्रिकामा व्यापकरूपमा सहयोग रकम ओइरिन थाले पछि १९९८मा आइपुग्दा अफ्रिकामा गरीवी ६६ प्रतिशत पुग्यो ।

५. सहायता रकम खर्च कसरी भएछ त ?

जायरका राष्ट्रपति मोबुतु सेसे सेको र नाइजेरियाका राष्ट्रपति सान अबाचाले त्यस्तो रकम मध्येबाट पाँच अर्ब डलर विदेशी बैंकहरुमा आआफ्ना निजी खातामा लगेछन ।

राष्ट्रपति मोबुतुले उनको मुलुकले लिएको ऋणको ब्याज रकममा छुट दिन दाताहरूलाई अनुरोध गरे लगत्तै एउटा कन्कर्ड जेट विमान भाडामा लिएर छोरीको विवाहमा आइभोरी कोस्ट गएछन ।

सहायता रकममा लूट मच्चाउन गृह युद्ध गराइदो रहेछ,क्रान्तिको नाउमा बन्दुक बोकाइदो रहेछ !

विदेशबाट जे जति सहायता रकम प्राप्त हुन्छ त्यसको कम्तीमा आधा रकम नेताहरूको भागमा जाने गरेको पनि उनको भनाई छ ।

संसार भरका यस्ता अभ्यासबारे उनको पुस्तकमा यस्ता धेरै उदाहरण छन् ।

६. सम्भव-असम्भव, आवश्यक-अनावश्यक जस्तो सुकै परियोजनाको लागि पनि ऋण लिने,त्यो रकम आफू पनि लुट्ने र दाता समूहका दलाललाई पनि लुटाउने,जनताका थाप्लामा ऋणको भार पार्ने,आफू लिने, लुट्ने, मास्ने ऋणको जिम्मेवारी भविष्यका सरकार र पिंढीलाई थुपार्ने अनुत्तरदायी राजनीति दुनियाँको धेरै ठाउँमा चलेको छ ।

७. अनि त्यही ऋण रकमले कसैले जापान, कोरिया, बेलायत, जर्मनी, फ्रान्स,नर्वे बनाउँछन । कसैले नेपाल, कङ्गो, सियरा लियोन, जायर, अफगानिस्तान बनाउँछन् । (राजनीतिक विश्लेषक केशबप्रसाद भट्टराईको टिप्पणी उनको फेसबूकबाट)

ताजा खबर