के हामी सबै इश्वर हौं ? 

२०७६ असोज २६ आइतबार ११:४८:०० मा प्रकाशित

एक दिन मैले इश्वरलाई सम्बोधन गर्दै भनें, ‘प्रभु, तिमी कहाँं छौ ? के साँच्चै तिम्रो कतै अस्तित्व त छ ? छ भने एक पटक प्रकट भएर आफ्नो अस्तित्वको प्रमाण पेश गर ।’
मैले चुनौती दिँदा पनि इश्वर कतै प्रकट भएनन् । मैले यसरी इश्वरलाई सम्बोधन गर्नुको खास कारण थियो । एकपटक चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रले मसँग भनेका थिए, ‘म यो इश्वर भन्ने कुरामा पटक्कै विश्वास गर्दिन । किनभने मैले धेरैपटक बोलाउँदा पनि इश्वर भन्ने जिनिस प्रकट नै भएन । बरु कुकुरले चे..भन्दा भुकेर मेरो सम्बोधनको जवाफ दिन्छ, तर इश्वरलाई बोलाउँदा बोलेन । त्यसैले म इश्वर मान्दिन । यसको मतलब म कम्युनिष्ट भने होईन है ।’ 

मनुजबाबुले झैं मैले पनि इश्वरलाई बोलाएँ, कतै ‘हजूर’ भन्छन् की भनेर । तर अहँ कतै चाईं चुईं खाक्खाक् खुक्खुक् केही सुनिएन, इश्वरको । त्यसैले म पनि इश्वर छैनन् नै भन्ने निश्कर्षमा पुगेको थिएँ । आफुले इश्वर नदेखेको, इश्वर महसुस नगरेको तथा त्यसको काल्पनिक छविसमेत मनमा प्रकट नभएको हुँदा मैले इश्वरको अस्तित्वमा विश्वास गर्न छाडेको थिएँ ।

करीब पैंतिस वर्षको उमेर टेक्दै गर्दा मेरो जीवनमा एउटा चमत्कार भयो । त्यो चमत्कार के भने मेरो मनमा एउटा प्रश्न उत्पन्न भयो । त्यो प्रश्न थियो, इश्वर छन् की छैनन् भन्ने बिषयमा मैले धेरै दिमाग खियाएँ । तर इश्वर आफंैमा के हुन् त ? केलाई इश्वर भन्ने ? यसबारेमा भने मेरो ध्यान गएको रहेनछ । 

हो त नि । खासमा ‘इश्वर छन्’ वा ‘इश्वर छैनन्’ भन्ने दुबैलाई इश्वर के हुन् भन्नेबारे पूर्ण जानकारी छैन । जस्तो कि ‘घरमा राम छन्’ वा ‘घरमा राम छैनन्’ भन्नका लागि कमसे कम राम को हुन् भन्नेबारे जानकारी हुनुपर्छ । इश्वर को हुन् भन्नेबारे स्पष्ट नभई इश्वर छन् कि छैनन् भन्ने बहस गर्नुको कुनै औचित्य नहुने ठहर मेरो अभ्यन्तरले ग¥यो । 

स्वतः प्रश्न उठने नै भयो, इश्वर को हुन् त ? मैले यो प्रश्न धेरैलाई सोधें । धेरैले प्रायः अमूर्त र शास्त्रीय जवाफ दिए । यसवीचमा धेरै धर्मशास्त्रका ठेली पल्टाएँ । तर मैले इश्वर यही नै हुन् भन्ने ठम्याउन सकिन । 

एकदिन मैले बाल्यकालदेखिका घटना सम्झिएँ । ओ हो, सानो उमेरमा म केही न केही रमाईलो क्षणको प्रतिक्षा गरिरहन्थें । चकलेट खाने, पौडी खेल्ने, फिल्म हेर्ने, रुखमा चढेर आँप र अम्बा टिप्ने, गुलेलीले चरा वा बल्छीले माछा मार्ने । बाबु आमाको पैसा चोरेर चलचित्र हेर्न जाने । स्कुलबाट भागेर नदीको बगरमा बालुवाको घर बनाएर बस्ने । यस्तो धेरै कुराहरुमा म आनन्द अनुभव गर्थें । 

उमेर बढ्दै जाँदा मेरा मस्तीक माध्यम र चाहना बढ्दै गए । अब गुलेलीले चरा मार्दा मजा नआउने भयो । तन्नेरीमा त युवतीसँगको प्रेम वा यौन सम्बन्धमा पो मजा आउने भयो । युवतीलाई स्पर्श गर्न पाउँदाको मजा कस्तो होला ? भन्ने कुतुहलता हुन थाल्यो । त्यस्तैमा एउटी कन्यासँग मेरो प्रेम भयो । उनलाई देख्दा रोमाञ्चित हुन थालें । उनलाई चुम्बन गर्न पाए कस्तो हुन्थ्यो भन्ने हुन्थ्यो । एकदिन उनलाई धित मर्नेगरी चुम्बन पनि गरें । त्यसपछि उनीसँग यौन सम्पर्क राख्ने इच्छा पलायो । मेरो त्यो इच्छा पनि पुरा भयो । तर त्यसले पनि मलाई तृप्त पारेन । 

साथीहरुको संगतमा लागेर मदिरा पिउन थालें । मदिरा पिउँदा धेरै आनन्द हुन थाल्यो । कालान्तरमा मदिराबाट पनि मेरो प्यास तृप्त हुन सकेन । फेरी पनि मन ब्याकुल भई नै रह्यो । आखिर मेरो चाहना के थियो ? म ठम्याउन सकिरहेको थिईन । म खासमा के प्राप्त गर्न चाहन्छु ? ममा केको रिक्तता छ ? ममा केको प्यास छ ? मेरो असली भोक के हो ? त्यो ठम्याउन सकिरहेको थिईन । तर म प्यासी थिएँ, भोको थिएँ र अतृप्त थिएँ । 

एकदिन बल्ल बोध भयो, मेरो त्यही भोक, प्यास र अतृप्ती नै इश्वरको अस्तित्वको प्रमाण हो । म मात्र हैन, सबै मानिस आनन्दको प्यासी छन् । त्यो आनन्द पनि एक घन्टा, एक दिन, एक महिना, एक वर्ष वा एक जुनीका लागि हैन, सदाका लागि आनन्दित हुन चाहन्छन् । तर त्यो सदानन्द अवस्थामा पुग्न कोही पनि सकिरहेका हुँदैनन् । त्यो आनन्दमा पुग्न त रिस उठ्नु भएन, कसैले गाली गर्दा चित्त दुख्नु भएन । अर्थात दुःखबाट मुक्त हुनसक्नुप¥यो । जुन दिन मानिस दुःखबाट मुक्त भएर सदानन्द अवस्थामा पुग्न सक्छ, त्यसैदिन उ नरबाट नारायण बन्न सक्छ । यसको अर्थ एउटा त्यस्तो अवस्था छ, सदानन्दको अवस्था–जहाँसम्म मानिस पुग्न चाहन्छ । हो, त्यही सदानन्द अवस्था नै इश्वर हो । यस हिसाबले इश्वर भनेको कुनै शक्ति, व्यक्ति वा पात्र भन्दा पनि चेतनाको सदानन्द अवस्था हो, यसैलाई सत् चित् आनन्द भनिएको रहेछ । 

विश्वमा धेरैले इश्वरको खोजी गरे । तर उनीहरुले कहिल्यै इश्वरलाई फेला पारेनन् । बरु आफैं इश्वरमा परिणत भए । इश्वर वा परमात्माको परम रहश्य यसैमा छ । जसले यो गुह्य बुझ्नसक्छ, उसले ज्ञात, अज्ञात, गेय र अगेयको गणीतमा रुमल्लिनु पर्दैन । तर इश्वर खोज्नेहरुले इश्वरलाई कहिल्यै भेटेनन् । खोज्दै जाँदा उनीहरु आफैं इश्वर भए । बुध्दले इश्वर खोजे, भेटेनन् । उनी आफैं इश्वर भए । महावीर हुन या ओशो, सबैको प्रारम्भ इश्वरकै खोजीबाट भएको हो । तर उनीहरु पनि इश्वरमै परिणत भए । यही नै इश्वरको सत्ता र महत्ताको परम रहश्य हो । 

यो रहश्य धेरै मानिसलाई थाहा हुँदैन । मानिस आफैंभित्र इश्वर छ, वा मानिस आफैं इश्वर बन्न सक्छन् भन्ने कुरा अधिकांशलाई बिश्वास हुँदैन । आचार्य रजनीश अर्थात् ओशोले ‘भगवान रजनीश’ भनेर आफैंलाई सम्वोधन गर्दा भारतमा धेरै बबाल भयो । एउटा दार्शनिक, तार्किक वा आध्यात्मिक गुरुले आफूलाई भगवान भनेर घोषणा गर्दा अमीताभ बच्चनका बाबु हरिबंश राय बच्चन र खुशवन्त सिंहजस्ता लेखकले चर्को आलोचना गरेका थिए । तर ओशोको मनसाय अर्कै थियो । उनले मानिसभित्रको इश्वरतर्फ संकेत गरेका थिए । हरेक मानिसभित्र इश्वर हुन्छ र त्यो इश्वरीय गुणलाई जगाउन सके मानिस स्वयं इश्वर हुनसक्छ भन्ने ओशोको आशय थियो । त्यसैले ओशोले आफ्नो हरेक प्रवचनको अन्त्यमा साधकलाई सम्बोधन गर्दै भन्थे, ‘तपाईंहरुभित्रको परमात्मालाई प्रणाम ।’ 

मानिसलाई जव शरीर, मन, बिचार, सांसारिक उहापोह, लोभ, अहंकार र बिषय भोगको वासनाले घेर्छ, तब उभित्रको इश्वर लुप्त हुन्छ । उसको सदानन्द स्वरुपलाई सांसारिक आवरणले छोप्छ । खासमा जन्मबाट नै मानिसको दुःखको यात्रा सुरु हुन्छ । उसलाई शरीर, नाम, जात, धर्म, संस्कार, समुदाय, देश, राजनीतिक दल, कालो,  गोरो, आदि पोशाकले बेरिन्छ । त्यसपछि बालक यसकै मानसिक उतार चढावमा रुमलिन्छ । सांसारिक मायामा अल्झिए पनि उसको अभ्यन्तरमा आनन्दको स्मृति भने जिवीतै हुन्छ । उसको अवेचतन मष्तिष्कमा त्यो आनन्द संरक्षित भएर रहेको हुन्छ । र जीवनभर मानिसको अभ्यन्तरको कोशिस रहन्छ, त्यही आनन्दमा फर्किने । 

तर, मानिसलाई थाहा हुँदैन, त्यो आनन्द कसरी प्राप्त हुन्छ । त्यसैले उसले रक्सी पिउँछ । यौन सम्पर्कबाट त्यो आनन्द प्राप्त गर्न चाहन्छ । धन सम्पत्ती कमाएर त्यहाँसम्म पुग्ने कोशिस गर्छ । प्रधानमन्त्री वा राष्ट्रपती भएर त्यो आनन्द प्राप्त गर्ने कोशिस गर्छ । तर मानिसले एकपटक हैन, ६–६ पटकसम्म प्रधानमन्त्री भएर पनि त्यो आनन्द प्राप्त गर्न सक्दैन । बिल गेट्स झैं संसारकै धनी भएर पनि सन्तुष्ट हुँदैन र आनन्दका लागि बिल गेट्सले झैं संसारभरी अरुलाई सहयोग गर्दै हिँड्नुपर्ने हुन्छ । 

किनकी, सुख र दुःख दुबै उत्तेजना हो । आनन्द भनेको परम विश्रामको अवस्था हो । त्यही भएर कार्लमाक्र्सको खण्डन गर्दै ओशोले भने, ‘मानिस श्रम हैन, विश्राम खोजीरहेको छ ।’ तर त्यो परम विश्रामको अवस्था वा सदानन्दको अवस्थामा पुग्न संसारमा कुनै भौतिक प्रविधि आविष्कार भएको छैन । यो संसार त दुःखको संसार हो । यहाँ आनन्दको कुनै उपाय  छैन । त्यसैले यदि आनन्दको अवस्थामा वा इश्वरीय अवस्थामा पुग्ने हो भने यो संसारबाट, यो मनबाट, यो मनको गणितबाट पारी पुग्नैपर्छ ।

मनबाट पारी अर्थात् उन्मनी अवस्थामा पुग्न हाम्रा पहिलेका ऋषिमुनी झैं जंगल नै जानुपर्छ भन्ने छैन । सांसारिक कर्म गरेर पनि सदानन्द अवस्थामा पुग्न सकिन्छ । त्यसका लागि ध्यान एउटा उत्तम उपाय हो । यहाँ म तपाईँलाई सांसारिक दृश्यबाट आफैंभित्रको इश्वरको बाटोतर्फ लाग्ने सानो उपाय बताउँछुः

विहानै उठ्नुस । ट्वाईलेट गएर ‘फ्रेस’ भएर आउनुस् र ओछ्यानमा बस्नुस् । आँखा बन्द गर्नुस् । लामो सास तानेर छोड्नुस् । करीब पाँच मिनटसम्म लामो सास तान्दै छाड्दै गर्नुस् । केहीबेरपछि लामो लामो सास तान्न छाड्नुस् र सासलाई आफ्नै गतीमा भित्र र बाहिर हुन दिनुस् । विस्तारै सासले भित्र र बाहिर गरिरहेको हेर्नुस् । अर्थात् आफ्नो ध्यान सासको गतिमा लगाउनुस् । कसरी सास भित्र गईरहेको छ र कसरी बाहिर गईरहेको छ, त्यसलाई हेर्नुस् । यो स्वासप्रश्वास तपाईंले गरेको हैन, हेक्का रहोस् । तपाईंले गरेको भए सुतेको बेलामा स्वासप्रश्वास बन्द हुनुपर्ने । तर स्वासप्रश्वास अस्तित्वले गराईरहेको छ । ब्रम्हाण्डीय उर्जाले गराईरहेको छ । त्यसको गहिराईमा पुग्नुस् । 

जव तपाईंको ध्यान सासमा केन्द्रीत हुन्छ, केही समयका लागि भए पनि तपाईंको मन विचाररहीत हुन्छ । त्यो एक मिनट वा दुई मिनट मात्र किन नहोस् । तपाईंलाई तनावमा पार्ने बिचारबाट तपार्इं केही समयका लागि भए पनि टाढा हुनुहुन्छ । तपाईं निर्बिचार अवस्थामा पुग्न सक्नुहुन्छ । त्यसक्रममा कुनै बिचार आईहाले पनि सकारात्मक बिचार आउन थाल्छ । 
यही यात्राका क्रममा तपाईं बिस्तारै आनन्दको रसको स्वाद थाहा पाउन थाल्नुहुन्छ । तपाईं आफंैभित्र फर्कनुहुनेछ । आफ्नो नैसर्गिक आनन्द स्वभावमा फर्कने कार्यको श्रीगणेश हुनेछ । निर्बिचार वा साक्षी भावको अभ्यास गर्दै जाँदा एकदिन तपाईंले इश्वरीय अनुभव गर्नुहुनेछ । तर, यसका लागि निरन्तर साधना गर्नुपर्छ । (पत्रकार कुसुम भट्टराईको अनुभवमा आधारित विश्लेषण)

ताजा खबर