सूचना र प्रविधिको विकास : यसले बढायो बालविवाह

२०७६ असोज १७ शुक्रबार १३:५६:०० मा प्रकाशित

काठमाडौँ, १७ असोज । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै स्वयम् बालबालिकाले विवाह गर्ने प्रवृत्ति बढ्दै गएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले आर्थिक वर्ष २०७५÷७६ मा बाल विवाहसम्बन्धी विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण भएका सामग्री अध्ययन प्रतिवेदन हेर्दा बाल विवाह बढ्दै गएको देखाएको छ । 

सामान्यतया बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानूनमा विवाह गर्न उपयुक्त भनी तोकिएको उमेरभन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । सामान्यतया १८ वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सो सम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

बाल विवाह विरुद्धका विभिन्न प्रयास हुँदाहँदै पनि घटनामा कमी भएको देखिँदैन । यस अवधिमा विभिन्न ३४ जिल्लामा १३७ बाल विवाहका घटनामा १९६ बालबालिकाले विवाह गरेको देखिन्छ । बाल विवाहका घटनालाई हेर्दा पहिलो चौमासिकमा ४६ घटनामा ५६ बालबालिका, दोस्रो चौमासिकमा ४९ घटनामा ३२ र तेस्रो चौमासिकमा ४२ घटनामा ६८ बालबालिकाले विवाह गरेको परिषद्ले जनाएको छ ।  

नेपालको संविधानले कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनेको छ । बाल विवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै ११८ ले उमेर नपुग्दै विवाह गरेका छन् भने १८ वर्षभन्दा कम उमेरका दुई बालिकाको विवाह ६० वर्षभन्दा माथिका वृद्धसँग भएको देखिएको छ । साथै ७३ बालिकाको वयस्क पुरुषसँग विवाह भएको पाइएको छ । 

बाल विवाह भएका १९६ मध्ये अभिभावकद्धारा ७५ जना (३८ प्रतिशत) र आफूखुशी वा भागी विवाह÷सामाजिक सञ्जाल तथा फेसबुकमार्फत उमेर नपुग्दै १२१ जना (६२ प्रतिशत) को बाल विवाह भएका घटना सार्वजनिक भएका छन् । यसैगरी बाल विवाहलाई लैङ्गिक रुपमा विश्लेषण गर्दा बालक ५९ (३० प्रतिशत) र बालिका १३७ (७० प्रतिशत) रहेका छन । साथै नेपाल प्रहरी बाल क्लबको सक्रियतामा २४ बालबालिकाको विवाह रोकिएको देखिन्छ । 

जिल्लागत रुपमा हेर्दा कोलीकोट सबैभन्दा बढी २६ बालबालिकाको बाल विवाह भएको घटना प्रकाशनमा आएको छ । आर्थिक वर्ष २०७४÷७५ मा १३६ बाल विवाह भएकामा यस अवधिमा १३७ बाल विवाहका घटना प्रकाशनमा आएका छन् । यसबाट बाल विवाहको रोकथाममा सुधार हुन नसकेको देखिएको छ । बाल अधिकारकर्मी दुर्गादेवी मैनालीले बाल विवाह रोक्नका लागि सरकार र सरोकारवाला सङ्घसंस्थाले प्रभावित क्षेत्रमा सचेतनामूलक अभियान नै सञ्चालन गर्नुपर्ने बताउँछन् । 

नेपालको देवानी संहिता २०७४ मा २० वर्ष उमेर पूरा नभई कसैले पनि विवाह गर्न हुँदैन भनी उल्लेख गरिएको छ । बाल विवाह तराई र सुदूरपश्चिमका जिल्लामा बढी मात्रामा देखिएको छ । शारीरिक र मानसिक रूपमा परिवर्तन हुने उमेरमा बालबालिका वैवाहिक बन्धनमा बाधिँदा किशोरीको स्वास्थ्यमा समस्या हुनाका साथै यौन दुव्र्यहार, अशिक्षा, कमजोर स्वास्थ्य, जनसङ्ख्या वृद्धि आदि समस्या हुने गरेको परिषद्का प्रवक्ता रामबहादुर चन्दको भनाइ छ । रासस

ताजा खबर