झापाको दमकमा दक्षिण एसियाकै आधुनिक औद्योगिक पार्क बन्ने

२०७६ असोज १७ शुक्रबार १३:४१:०० मा प्रकाशित


काठमाडौं । नेपालमा दक्षिण एसियाको सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुने भएको छ । सो पार्क चिनियाँ सहयोगमा झापा जिल्लामा निर्माण हुन लागेको हो ।

एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्यगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर लगानी गरेर निर्माण कार्य हुनेछ । सो औद्योगिक पार्क काम, आराम, मनोरन्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने चिनियाँ प्रतिनिधि मण्डलका नेता जोउ चेङ जीले शुभारम्भ सभारोहमा बताए ।

राजधानीमा एक कार्यक्रम बीच निर्माण शुभारम्भको घोषणा गरिएको हो ।

औद्योगिक पार्क निर्माणका लागि नेपाल लगानी बोर्ड र दमक क्लिन इन्डष्ट्रियल पार्कबीच समझदारीमा हस्ताक्षर भएको हो । ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम राखिएको सो पार्कका अध्यक्ष गोविन्द थापा र लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सो औद्योगिक पार्क झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिको क्षेत्र ओगट्छ । ती ठाउँमा जग्गा प्राप्तिका सबै प्रकृया पूरा भएको र अब निर्माण थालिने समारोहमा जानकारी दिइएको छ । चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजना अन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना भएको छ ।

शुभारम्भ समारोहमा औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले यो निर्माण कार्य नेपालको सबैभन्दा प्रभावकारी, आकर्षक र पारदर्शी हुने जानकारी दिए । उनले औद्योगिक पार्क निर्माणपछि नेपालमा विकासको नयाँ मोडल स्थापित हुने बताए । उनले भने– ‘नेपालीले विकासको ठोस परियोजनाको उदाहरण दिनुपर्दा विदेशतिरको दिनुपथर््यो । अब दमकले नेपाल र नेपालीका लागि उदाहरणीय र गर्व गर्न लायक विकासको मोडल तयार हुनेछ ।’

चिनियाँ प्रतिनिधिमण्डलका नेता जोउ चेङ जीले शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सो औद्योगिक पार्क उद्योग र सहरको एकीकृत विकासको मोडलमा तयार पारिने बताए । उनले सो औद्योगिक पार्क दक्षिण एसियाको एकमात्र आधुनिक औद्योगिक क्षेत्रको रुपमा विकास हुने र औद्योगिक पार्क बनेपछि दशौं हजारले रोजगार पाउने बताए । औद्योगिक पार्क बनेपछि नेपालमा ठूलो परिमाणमा राजश्व वृद्धि हुने र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त हुने बताए ।

त्यसैगरी लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले यो औद्योगिक पार्क निर्माणले नेपालको विकासमा ठूलो योगदान पुग्ने बताए । त्यसैगरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दमकमा निर्माण हुने औद्योगिक पार्क नेपालकै मोडेल परियोजना हुने बताए । नेपालमा पीपीपी मोडलमा जलविद्युत आयोजना बाहेक अन्य खाले निर्माण कार्य नभएको बताउँदै बस्नेतले यो औद्योगिक पार्क पीपीपी मोडलको पहिलो गैरजलविद्युत आयोजना भएको बताए ।

ताजा खबर