१०० घण्टा भाषण गरेर गिनिज बुकको विश्व कीर्तिमान तोड्ने चाहना

२०७४ असोज २ सोमबार १५:३५:०० मा प्रकाशित

यी हुन् अनन्तराम केसी । २०५८ सालमा  स्वामी विकासानन्दको मनोक्रान्तिमा जोडिएका अन्नतराम केसी त्यसको दुईवर्षपछि सामुदायिक माध्यमिक बिद्यालयको हेडमास्टरको जागिर छाडेर अध्यात्म साधना मार्फत अनन्तको खोजिमा  भारततिर लागे । वास्तवमा यी एक यात्री हुन् । यात्रा उनको रुची हो । उनले नेपालको ७५ जिल्लाको फन्को मार्दा ८५०० किमि दूरी छिचोलिसकेका छन् भने  ०६६ सालमा भारतको ६ वटा  प्रान्तको ४ हजार किलोमिटर बाटो पनि नापीसकेका छन् । उनले काठमाडाैंदेखि भारतको कन्याकुमारीसम्मको १२ हजार ५०० किमिको दूरी पैदल यात्रा गरेका छन् ।

यी यात्री अनन्तराम अब भने  लामो अवधिसम्म भाषण गरेर गिनिज वल्र्ड रेर्कडमा आफ्नो नाम लेखाउने तरखरमा छन् । ७५ घण्टा ३२ मिनेटको लामो भाषण गरेका भारत राजस्थान निवासी अश्विन सुडैनको रेकर्ड तोड्ने दाउमा छन् अनन्त । सकेसम्म १०० घण्टा नभए ८४ घण्टासम्म लगातार भाषण गरेर गिनिज वल्र्ड रेर्कडमा नाम लेखाउन कस्सिएका उनै केसीसँग सरल पत्रिकाले गरेको यो कुराकानी :

तपाई विश्वकै सबैभन्दा लामो भाषण गरेर गिनिज बुकमा नाम लेखाउने तयारीमा हुनुहुन्छ हो ?

गिनिज वल्र्ड रेकर्डले अनेकन विधामा उत्कृष्ट काम गर्नेहरुको रेकर्ड राख्ने काम गर्छ । मैले आफ्नो लामो भाषणमार्फत यो रेकर्डमा नाम लेखाउन चाहेको छु । यस अघि भारतको राजस्थानका  आश्विन सुडैनले अहिलेसम्म ७५ घण्टा ३२ मिनेट भाषण गरेर आफ्नो नाम गिनिज वल्र्ड रेकर्डमा लेखाइसकेका छन् । उनकै यो रेर्कड बे्रक गर्नको लागि मैले सकेसम्म १०० घण्टा नभए कम्तिमा ८४ घण्टासम्म भाषण गर्ने  योजना बनाएको छु ।

 
कुन बिषयमा भाषण गर्ने त ?

मलाई अध्यात्म, स्वास्थ्य, योग जस्तो कुराहरुको ज्ञान छ । मैले यसमा धेरै कामहरु पनि गरिसेकको छु । त्यसैले म आध्यात्मिक, योग, जीवनदर्शन, स्वास्थ्य जस्ताको साधक भएको हुनाले त्यसै बिषयलाई मूल आधार बनाएर म त्यहि क्षेत्रमा बोल्छु । आध्यात्मिक विषय अन्तर्गत  महाभारतका कथाहरु, जीवनदर्शन जस्ता कुरा पर्छन्, जसले जीवन बदलोस्,जसले मानिसलाई सुखी राख्न सकोस् । जुन कुरा म सिक्दै आइरहेको छु र सिकाउँछु त्यहि कुरा म त्यहाँ पनि बोल्छु ।

यस्तो चाहना कसरी आयो नि ?

 गिनिज वल्र्ड रेर्कडमा नाम लेखाउने मेरो पहिला देखि कै लक्ष्य थियो । केही न केही पुरुषार्थ गर्नुपर्छ अर्थात् केही न केही कृति त राख्नु पर्छ भन्ने मेरो पहिला देखि कै सोच हो । अग्रज, गुरु ज्ञानीहरुको संगतले मलाई यो काम गर्छु भन्ने विश्वास भयो । मेरा शुभचिन्तकले पनि हौसला दिनुभयो । संसारमा हरेक कुरा सम्भव छ । मभित्र पनि केही गर्नुपर्छ भन्ने सोच पलायो। यसैले गर्दा लामो भाषणको रेकर्ड गिनिज बुकमा लेखाउन लागेको हुँ । लामो भाषण गर्ने मेरो पहिला देखि कै रुची हो । म राम्रो भाषण गर्ने मान्छेहरुको फ्यान पनि हुँ । स्वर्गीय मदन भण्डारी, गगन थापा र बिकासानन्द यी सबैको म फ्यान हुँ । यी हस्तीहरुको भाषण सुनेर पनि मैले धेरै कुराहरु सिकेको छु । मलाई भाषण गर्न एकदमै इच्छा लाग्छ, लामो भाषण गरे गिनिज रेर्कडमा नाम रहन्छ भन्ने कुरा मैले सामाजिक सञ्जालहरुबाट सुनेको पनि थिएँ । गत वर्ष भारतको राजस्थानका एक व्यक्तिले ७५ घण्टा ३२ मिनेट भाषण गरेर रेकर्ड राखिसकेका रहेछन् । सम्भवत यसको शुरुवात भनेको १९७४ मा फिडेल क्यास्ट्रोले आफु राष्ट्रपति भएको बेला ३२ घण्टा २७ मिनेट लामो भाषण नेशनल आर्मीलाई दिएका रहेछन् र अहिले ७५ घण्टा ३२ मिनेट पुगिसकेको छ । अब मैले नेपालको प्रतिनिधित्व गर्दै यसको रेर्कड तोड्ने शुर कसेको हुँ ।

यसको फाइदा के छ त ?

यसमा फाइदा भनेको देशको लागि मैले केही गरें भन्ने मात्र हो,आत्मसन्तुष्टि । मैले केही कृति राखें भने त्यो मेरो एउटा स्वाभिमान हुन्छ । आर्थिक देखि भौतिक कुराहरुमा त्यस्तो फाइदा केही छैन । पैसा उसले केही दिँदैन । उल्टै हाम्रो नै खर्च हुन्छ । यदी मैले वल्र्ड रेर्कडमा नाम राख्न सकें भने उनीहरुले दिने भनेको एउटा सर्टिफिकेट मात्र हो ।

तपार्इँ त मनोक्रान्तिमा बिकासानन्दको शिष्य पनि हुनुहुन्थ्यो होइन ?

मैले उहाँको संगत लामै गरेको हो । मैले उहाँबाट धेरै कुराहरु सिकेको छु । लामो लामो भाषण गरेको रेर्कड पनि छ, अहिले पनि मेरो उहाँ आदरणीय नै हुनुहुन्छ । अहिले म उहाँको टिममा छैन ।

  उहाँबाट छुट्टिनुको कारण चाहि के थियो त ?

म त्यहाँ केही हदसम्म ज्ञानगुनका कुराहरु सिक्नका लागि बसें । त्यो समय सकिसकेपछि हामीले एउटा मनोक्रान्ति मुभमेन्ट नै चलाएका थियौं । उहाँ संरक्षक र म अध्यक्ष भएर उक्त मुभमेन्ट चलाएका थियौं । त्यसपछि उहाँ आफ्नै हिसाबले चल्नु भयो र मलाई पनि संसारमा सबै एकै ठाउँमा बसेर काम गरिरहनु पर्छ भन्ने छैन जस्तो लाग्यो । मेरो पनि स्वाभिमान छ । म पनि केही गर्नका लागि जन्मिएको हुँ भन्ने जस्तो कुरा मेरो मनमा आयो त्यसैले म आफ्नो हिसाबमा हिँडेको हुँ ।


  

ताजा खबर