माथिल्लो तामाकोशीको भर्टिकल टनेलको काम सकियो

२०७४ असोज २ सोमबार ०६:३७:०० मा प्रकाशित

 दोलखा, २ असोज । भूकम्प र भारतीय नाकाबन्दीका कारण निर्माण ढिलाइ भैरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले लय लिन थालेको छ । आयोजनाको सबैभन्दा कठिन मानिएको भर्टिकल टनेल निर्माण सकिएको छ ।

यसअघि ३७२ मिटरको तल्लो भर्टिकल टनेलको काम सकिएको भए पनि माथिल्लो ठाडो सुरुङको काममा विभिन्न बाधा आएका कारण सम्पन्न गर्न सकिएको थिएन । आयोजनाले ३२२ मिटरको माथिल्लो भर्टिकल टनेल शनिबार साँझ ‘ब्रेक थ्रु’ गरेको छ । यससँगै आयोजनाको काम ९१ प्रतिशत पूरा भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।


अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले ठाडो सुरुङ निर्माण पूरा हुनु आयोजनाका लागि एक महत्वपूर्ण उपलब्धी भएको बताए । ‘आयोजनाको ३२२ मिटर ठाडो सुरुङको ब्रेक थ्रु भयो’ उनले भने ‘यो हाम्रो आयोजनाको लागि एउटा महत्वपूृर्ण कोसेढुङ्गा हो ।’

यसअघि तल्लो खण्डको ३७२ मिटर ठाडो सुरुङको काम एक वर्ष अघि नै पूरा भएको थियो । ठाडो सुरुङ पूरा भएपछि लाइनिङको काम गरेर पेनस्टक स्टिल पाइप राख्ने काम सुरु हुने उनले बताए । एक वर्षअघि पूरा भएको ठाडो सुरुङमा लाइनिङ गरेर पेनस्टक जडानको काम भइरहेको छ ।

आयोजनाका लागि ठाडो सुरुङ निर्माणको काम चुनौतीको रुपमा रहेको थियो । दुवै ठाडो सुरुङ निर्माणमा चीन र जर्मनीबाट ल्याइएका रेजबोरिङ लगायतका उपकरण ल्याएर काम गर्दा समेत असफल भएको थियो । कमजोर चट्टानका कारण कहिले छड्के जाने लगायतका समस्याले ४ वर्षदेखि पटकपटक स्थगित हुँदै सुरु हुँदै आएको थियो ।

आयोजनाको मुख्य सुरुङ डेढ महिनाभित्र पूरा हुने भएको छ । अहिले मुख्य सुरुङको भैसे खण्ड र गोंगरडाँडा खण्डबाट निर्माणको काम भइरहेको छ । अपर तामाकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार मुख्य सुरुङ अब २७० मिटर जति मात्र बाँकी    छ । कुल ८ किलोमिटर लामो मुख्य सुरुङको काम भुकम्पका कारण २ वर्ष अबरोध भएको थियो ।

आयोजनाले मुख्य सुरुङ निर्माणका लागि प्रवेश मार्गमा २ वटा रोड टनेल समेत निर्माण गरेको छ । ‘हामी ढिलोमा कार्तिक अन्तसम्म मुख्य सुरुङ ‘ब्रेक थु्र’ गर्ने गरी काम गरिरहेका छौं’ उनले भने । आयोजनाको सिभिल संरचना सर्ज साफ्टको लागि अर्को १ किलोमिटर लामो छड्के सुरुङको डिजाइन भएको छ । मुख्य सुरुङ पूरा भएपछि निर्माण सुरु हुने उनले बताए ।

सर्ज साफ्ट सुरुङ पावर हाउस चलिरहेको बेला एक्कासी बन्द गर्नुपर्दा मुख्य सुरुङबाट आएको पानी जाने ठाउँ तयारीको लागि निर्माण गर्न लागिएको हो । पहिला ४ सय मिटरको ठाडो सुरुङ बनाउने योजना भए तापनि पनि डिजाइ परिवर्तन गरेर छड्के सुरुङ बनाउन लागिएको हो ।
आयोजनाले आउँदो असारसम्म पहिलो युनिट सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएको छ । खिम्ती सव स्टेशन निर्माणको काम केही समयमै सुरु हुने अपर तामाकोशी हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । \

सरकारले निर्धारण गरेको जग्गाको मुआव्जा लिन लामो समयदेखि स्थानीय अस्वीकार गरेका कारण सवस्टेशन निर्माण कार्यमा ढिलाइ भएको हो । ‘सव स्टेशन निर्माणको कुरा मिल्न लागेको छ’, आयोजनाका प्रवक्ता डा. न्यौपानेले भने, ‘२÷४ महिना ढिला भयो र आयोजनाको विद्युत उत्पादन भए पनि त्यसको विकल्पमा सोझै किर्नेमा रहेको ६० मेगावाटको खिम्ती १ जलविद्युत केन्द्रमार्फत जोड्ने गरी योजना समेत बनेको छ ।’

आयोजनाको विद्युत प्रसारणका लागि गोंगरदेखि फुलासीसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइनको काम भइरहेको छ । 

ताजा खबर