साँखु–जोरपाटी सडक : बनाउन माग गर्दै चक्काजाम

२०७६ असोज १३ सोमबार १३:४६:०० मा प्रकाशित

काठमाडौँ, १३ असोज । साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै सोमबार साँखुमा चक्काजाम गरेका छन् । निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका हुन् ।

स्थानीयवासीले उक्त सडकमा सवारीसाधन चल्न दिएका छैनन् । लामो समयदेखि साँखु–चाबहिल सडकखण्ड निर्माणमा ढिलाइ भएको र यात्रुले सास्ती खेप्नु परेको भन्दै दबाब दिन स्थानीयवासीले सडक ठप्प पारेका हुन् । वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालिएको हो । चाबहिलबाट साँखु जाने सडक कालोपत्र नगरेका कारण दबाब दिन चक्काजाम गर्नुपरेको समितिका अध्यक्ष मिलन खड्काले बताए । 

सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायत सडकमा खाल्टाखुल्टी तथा हिलो छ । दैनिक हजारौँ उपभोक्ताले सडकका कारण निकै कष्ट भोग्नु परिरहेको स्थानीयवासी पुरुषोत्तम चौलागाईंले बताउनुभयो । स्थानीयवासी दिलीप श्रेष्ठ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिको पटक पटक ध्यानाकर्षण गराउँदै आएको बताउनुहुन्छ । सडक निर्माणमा विलम्ब भएको र स्थानीयवासीले खेप्नु परेको दुःखका कारण सडक बन्द गर्नुपरेको उनको भनाइ छ ।  

सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा सडक बनाउने योजना ल्याएको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडक निर्माणका लागि बोलपत्र आह्वान गरी त्यही वर्ष असोजमा चार निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । एघार दशमलव ४६ किलोमिटर लामो उक्त सडक विस्तार समयमै नसकेपछि थप एक कम्पनीलाई जिम्मा दिइएको थियो । अहिलेसम्म उक्त सडकखण्ड विस्तार सकिएको छैन । रासस

ताजा खबर