इतिहासविद्को मतः सिन्धुलीगढीमा अंग्रेज हराएको असोज १५ मै हो

२०७६ असोज १३ सोमबार १०:४३:०० मा प्रकाशित

काठमाडाैं । सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई पराजित गरेको दिन असोज महिनाको १५ गते भएको इतिहासविद्हरुमा एक मत देखिएको छ । सिन्धुलीगढीमा १८२४ म युद्ध भएको थियो । गोर्खाली सेनाले विजय हासिल गरेको दिनमा भने विवाद हुँदै आएका बेला आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा इतिहासविद्हरुले असोज १५ मै विजय हासिल भएकाले त्यही दिन उत्सव मनाउनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ सिन्धुलीको पहलमा सुरु भएको विजयोत्सव कमलामाई नगरपालिकाले आफ्नो स्वामित्वमा आएपछि हरेक बर्ष कात्तिकको २४ गते मनाउँदै आएको छ । गढीमा २०७४ सालमा मनाइएको २५०औं विजयोत्सवमा राष्टपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन् ।

समृद्ध सिन्धुली अभियानले आयोजना गरेको अन्तरक्रियामा इतिहासविद् प्राध्यापक डा. दिनेशराज पन्तले काठमाडौं उपत्यकाका मल्ल राजाहरुलाई सघाउन आएको अंग्रेजी फौज सिन्धुलीगढीमा असोज १५ गते पराजित भएर फर्किएको दावी गरे । 'जुन दिन विजय हासिल गरेको हो, त्यही दिन विजय दिवस मनाउनु पर्छ,' उनले भने, 'इतिहासलाई बंग्याउन हुन्न । भोलिको सन्ततीले हामीलाई इतिहास बंग्याएकामा सराप्ने छन् ।'

सिन्धुलीगढी तत्कालीन मकवानपुर राज्य अन्तर्गत रहेको बताउँदै प्राध्यापक पन्तले सामरिक दृष्टिकोणले निकै महत्वपूर्ण उक्त स्थल मकवानपुर राज्यमाथि बिजय हासिल गरेपछि पृथ्वीनारायण साहले हात पारेको बताए । उनले सिन्धुलीगढी विक्रम संवत १३८१ देखि महत्वपूर्ण स्थलका रुपमा रहेको दावी गरे ।

सेनाको इतिहासमा विद्यावारिधि गरेका डा. प्रेमसिंह बस्न्यातले सिन्धुलीगढीमा अंग्रेजी सेनालाई गोर्खालीहरुले नरोकेको भए उनीहरु तिब्बतहुँदै बेइजिंग पुग्ने दावी गरे । 'त्यतिखेर काठमाडौं तिब्बत हुँदै सुन, उन र सुन ल्याउने ट्रान्जिट प्वाइन्टका रुपमा रहेको थियो,' डा. बस्न्यातले भने, 'त्यसैले अंग्रेजहरु कान्तिपुरका राजालाई सहयोग गर्ने बहानामा ब्यापारिक उद्देश्यले चिनतिर अघि बढ्न चाहन्थे ।'

सिन्धुलीगढीमा अंग्रेजहरुले विजय हासिल गरेको भए नेपाल एकिकरण नहुने ठोकुवा गर्दै डा. बस्न्यातले यही लडाईंमा जित हासिल गर्नु नै गोर्खालीहरुलाई बहादुरका रुपमा संसारभर स्थापित हुन सघाएको बताए । 'अहिले संसारमा गोर्खाली सेना ब्राण्डका रुपमा स्थापित भएको छ,' उनले भने, 'त्यसको श्रेय सिन्धुलीगढीको लडाईंलाई जान्छ ।'

सेनाको इतिहासका अध्येता मोहन थापाले कप्तान किनलकलाई भारतको टिपराको युद्ध जितेर आएका बेला तत्कालीन ब्रिटिस सेनाले कान्तिपुरका मल्ल राजालाई सघाउन पल्टनको नेतृत्व गरेर पठाएको बताए । 'हार्डी भन्ने अफिसर कप्तान किनलकका सहायक थिए । उनीहरुलाई रोक्न सिन्धुलीको ढुंग्रेबासमा बंशु गुरुंग र बीरभद्र उपाध्याय नेतृत्वको गोर्खाली पल्टन लुकेर बसेको थियो,' उनले सुनाए, 'सिन्धुलीगढीमा श्रीहर्ष पन्त र बंशराज पाण्डेको नेतृत्वको पल्टन बसेको थियो । ढुंग्रेबासबाट अगाडि बढेको अंग्रेजी सेनालाई गोर्खालीहरुले चेपुवामा पारेर परास्त गरेका थिए ।'

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ शुषमा राजभण्डारीले सिन्धुलीगढीमा अंग्रेजी सेनालाई परास्त गरेको दिनको सम्झनामा आफूहरुले समृद्ध सिन्धुली अभियानसँग मिलेर यही असोज १४ देखि १७ गतेसम्म कला शिविर आयोजना गर्न लागिएको बताइन् । 'सिन्धुलीगढीमा कलाकारहरुले क्याम्प खडा गरेर तीन दिनसम्म त्यहाँको बस्तुस्थितिको कला तयार गर्नेछन्,' उनले भनिन्, 'त्यसलाई सिन्धुलीगढीको प्रबर्धनमा प्रयोग गरिने छ ।'

समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले सिन्धुलीगढीको प्रबर्धनमा अभियानले हरेक बर्ष साइकल यात्रा, हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग जोड्ने एकिकरण पदमार्गको निर्माण, कला शिविरलगायतका काम गर्दै आएको जानकारी दिए ।

कला शिविरका संयोजक तथा अभियन्ता दीपक श्रेष्ठले इतिहासविद्हरुसँग समन्वयमा विजयको तिथिमिति यकिन गरेर अभियानले असोज १५ गते विजय दिवस मनाउन सुरु गर्न लागेको बताए ।

कार्यक्रममा अर्का अभियन्ता सौरभ ढकालले सिन्धुलीगढीको प्रबर्धनसँगै यसको संरक्षणमा समेत उत्तिकै लाग्नु पर्ने बताउँदै पूरातात्विक स्थलमा जथाभावी निर्माण रोक्नु पर्ने बताए ।
अभियानले ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धन गर्न हरेक बर्ष गर्दै आएको राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा यस बर्ष यही मंसिर ६ देखि ९ गतेसम्म काठमाडौंबाट ऐतिहासिक सिन्धुलीगढीहुँदै जनकपुरधामसम्म गर्ने भएको छ ।

 

ताजा खबर