दशैंको महँगी र सरकारको भाउ

२०७६ असोज १२ आइतबार १६:२९:०० मा प्रकाशित

घटस्थापना नवरात्रको पहिलो दिन । बिजया दशमीको काउन्टडाउन सुरु हुने तिथि । शहरबजार,गाउँबेंसी जताजतै चाडपर्वको हावा बहेको छ । पसलहरुमा महँगीको आँधी । सीमित आय हुने औसत नेपालीको खल्तीमा पहिरो । 

कहिँ व्यापारीकै निम्तोमा कहिँ पर्वको अवसर छोप्न आफैं सरकारी कर्मचारी अनुगमनमा छन् । वर्षका साढे एघार महिना आईसियुमा सुत्ने अनुगमन टोली दशैं तिहारका बेला जर्याकजुरुक उठेको छ । पसल कवलका सटर ढक्ढक्याएको छ । ताला र सिलबन्दी गरेको छ,साँझ खोलिदिएको छ । भएको के हो चरामुसाले पत्तो पाउँदैनन् । पत्तो पाउनुपर्नेले कसैसँग सोध्दा पनि सोध्दैन । सोध्ने कसलाई ? हेल्लो सरकारलाई ? उसैलाई थाहा छैन आफ्नै हालखबर ! 

तामझामसँग आए सबैथोक गर्छौं भने । धेरैतिर हात हालि पनि हेरे तर सिण्डिकेटमै फेल भए । फर्किए बसे चूपचाप । सिण्डिकेट झन् बलियो भो,यात्रीको मूल्य दशैंको च्यांग्राको जस्तै भयो । अहिले दशैं आयो यो दशा झन् बल्झिएको छ । 

कहिलेकाहीँ समाचारहरुमा उद्घाटन,विमोचन,शिलान्यास र श्रध्दाञ्जलि सभामा राष्ट्रपति,प्रधानमन्त्री र मन्त्रीहरु देख्न पाउँदा सरकार छ रहेछ भन्ने लाग्छ । तर बजारमा दुइखुट्टा टेक्ने साँढेको रजाईँ देख्दा होईन पो रहेछ जस्तो पनि लाग्छ । शहरका चोकचोकमा र सडकहरुमा सिटि फुकिरहेका प्रहरी नै सरकार हुन् कि पो जस्तो पनि लाग्छ । के हो के हो बुझ्नै सकिएन,आखिर सरकार बस्छ कहाँ हँ !

छोईसक्नु छैन बजार भाउ । मासु पसल अगाडि उभिएर भाउ सोध्यो,दशैंले ल्याएको अलिकति खुशी पनि ओठबाट खुत्रुक्क खसेर झर्छ । सागसब्जी,मरमसला र मदिराको भाउ बिहान सोधेर बेलुका किन्न गयो,खल्तीमा बोकेको पैसाले पुग्दैन । बाटोघाटो,सडक गल्ली र चोकहरुमा गफ जोतेर बसेको झुण्ड नै पो सरकार हो कि जस्तो पो लाग्छ,त्यो झुण्ड नै सकिरहेको छ राष्ट्रपति,प्रधानमन्त्री देखि सरकारी अधिकारीको उछित्तो काढ्न । अनि बजारमा डेँगु झैं आतंक मच्चाईरहेको महँगीको डसाईमा परेको फुटपाथे मान्छेलाई त त्यही झुण्डको तात्तातो गफ पो पेनकिलर जस्तो भैदिँदो रहेछ । सरकारले आफू जिउँदै भएको व्यवहारमा देखाउन नसक्दा पो यस्तो लागेको हो कि !

सचिबले ढाँट्यो भने प्रधानमन्त्रीले मेलम्चीमा तर ढाँटेको ढाँटेकै भयो । 

- निर्मला पन्तलाई बलात्कार गरेपछि हत्या गरेको घटनाले देशै हल्लायो तर अपराधी त हल्लिएन बरु सरकार पो हल्लियो कि !

- त्यतिविधि सुन तश्करीको घटनाले प्रहरी संगठन,गुप्तचर,निजामति प्रशासन र बन्दव्यापारिक क्षेत्रमा भुँइचालो नै गयो । गोरेलाई जेलमा कोचेपछि पहेंलो धातुले सबैका मुख बन्द भए, किन ? 

- बालुवाटारको महँगो जग्गामा हात हालेका नेतालाई कार्बाही होला भनेर आँखा तानेर बसेका नागरिक थाकेर आँखा चिम्लिन वाध्य भए । हराएको सुनपानीले छर्केछन् कि क्या हो, सामसुम पो भयो त !

एनसेलका करमा संसद,सर्बोच्च अदालत र सबैजसो शक्तिकेन्द्रमा करकर गरेको सुनियो । उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री एनसेलकै साहुजीको मेजबानीमा बसेको खबर पनि बाहिर आयो । तर फेरि सामसुम भयो किन ?

- बोकाको अण्डकोष देखाएर बूढी बाख्रीको मासु बिक्री गरेझैं अख्तियार पनि ससाना कर्मचारीलाई समाउँछ । करोडौं अर्बौंको बजेट हिनामिना गर्ने ठूला माछा समाउँदैन किन ? बुझिनसक्नु छ ।

- वाईडबडी विमान खरिद गर्दा निकै ठूलो आर्थिक चलखेल भयो भनेर संसद देखि सडकसम्म हल्लिखल्लि भयो । बालुवाटार देखि बूढानिलकण्ठसम्म मान्छेले औंलो सोझ्याए,वायुसेवा निगमको आन्तरिक सत्ता हेरफेर भयो । मुख्य कुरा रातो कार्पेटमुनी छोपियो । अब कम्पनी बनाउने हुँइया चलाईएको छ, अनि सबै कुरा सामसुम !

कुम हल्लाई हल्लाई,चश्मा सारीसारी अनि नानाथरीका तुक्का जोडीजोडी गफ दिने नेता छन्, आज भन्छन् एकथोक भोलि गर्छन् अर्कै । होसमै छन् कि बेहोसमा सोध्न र जाँच्न पनि नसकिने । एउटा मात्र होइन सबै र एउटा दलको मात्र पनि होइन सबै दलका,उस्तै छ छाँटकाँट, उस्तै सिल्लीपारा । आखिर भएको के हो बुझ्न सकिँदैन ।

सरकार चलाईरहेको दलले चीनको सरकार चलाउने दलको गायत्री जप्न थाल्यो भन्ने चर्चाले शहर तात्यो । यो सेलाउन नपाउँदै अमेरिकाको छटपछी देखियो । उसले त नेपालमाथि आँखा लाउने र अंकमाल गर्न तम्सिने कसैलाई बाँकी नराख्ने खालको झोंक पनि देखाईसकेको छ । दक्षिणको छिमेकी भारत चालै नपाए झैं चूपचाप छ । अमेरिकाकै मुखबाट उ पनि बोलेको हो भन्ने अड्कलबाजी छ । कुनैबैला नेपाललाई भारतको आँखाले हेर्छु भनेको थियो अमेरिकाले । हुन के लागेको छ,आँधी आउनु अघिको जस्तो किन भैरहेको छ वातावरण । बुझ्न सकिँदैन ।

बुझ्न नसकिने कैयौं बिषय छन् देशका । कसले बुझ्नुपर्ने हो भनेर बुझ्नुपर्ने कुरा नै बुझ्न गाह्रो परिरहेको छ । अरु कुरा त बुझे पनि भयो नबुझे पनि आकाश नै खसिहाल्ने त होईन । 
  बुझ्न नसकिएको मुख्य कुरा हो, सरकार चैं छ कि छैन ?


 

ताजा खबर