यी एप प्रयाेग नगर्नुस्ः जहाँ तपाइँले यौन सम्पर्क गरेको समयसहित सूचना चुहिन्छ

२०७६ असोज १२ आइतबार १०:१८:०० मा प्रकाशित

प्रिभसी इन्टरन्याश्नल (पीआई) ले गरेको एउटा अध्ययनले यौनसम्पर्क गरेको समयसहित मानिसहरूको अन्तरङ्ग सम्बन्धका कुरा सामाजिक सञ्जाल फेसबुकलाई उपलब्ध गराइरहेको देखाएको छ । सर्वाधिक लोकप्रिय उक्त सामाजिक सञ्जालसँग कस्ता सूचना शेअर गरिन्छ भन्ने विषयमा पीआईले महिलाको महिनावारीको विवरण राख्न प्रयोग गरिने एपहरूको अध्ययन गरेको थियो ।

एप प्रयोग गर्ने महिलाले कस्तो गर्भनिरोधक औषधि प्रयोग गरिन्, उनको महिनावारी कहिले हुन लागेको छ र कस्ता लक्षणहरू देखियो भन्ने विवरण त्यसमा लिइएको हुन्छ । अनुसन्धान थालिएपछि एउटा एपले गोपनीयतासम्बन्धी आफ्ना नीतिहरू परिवर्तन गर्न लागेको बतायो ।

महिनावारीका बारेमा बताउने एपहरूले सामान्य स्वास्थ्यका कुरादेखि यौन, मनस्थितिसम्बन्धी सूचना, प्रयोगकर्ताले के खाने र पिउने गर्छन् अनि कुन स्यानिटरी प्याड प्रयोग गर्छन् भन्नेसम्मका विवरण लिने गरेका छन् ।

ती विवरण राखेपछि एपहरूले गर्भधारणका लागि उपयुक्त समय कुन हो र अर्को महिनावारी कहिले हुन्छ भन्नेबारे जानकारी दिन्छन् । सामाजिक सञ्जालको सफ्टवेअर डेभलपमेन्ट किट (एसडीके) मार्फत् फेसबुकमा त्यो शेअर हुन्छ र सामाजिक सञ्जालहरूले प्रयोगकर्ताहरूलाई व्यक्तिमा केन्द्रित विज्ञापनहरू उपलब्ध गराउने विज्ञापनकर्ताबाट पैसा कमाउनका लागि एसडीकेलाई प्रयोग गर्न सक्छन् ।

पिरिअड ट्र्याकर, पिरिअड ट्र्याक फ्लो र क्लू पिरिअड ट्र्याकरजस्ता लोकप्रिय एपहरूले चाहिँ फेसबुकसँग डेटा शेअर नगरेको पाइएको पीआईको अनुसन्धानले देखाएको छ ।

तर प्ल्याकल टेकको माया (गुगल प्लेमा ५० लाख डाउनलोड भएको), मोबएप डेभलप्मन्ट लिमिटेडको एमआईए (१० लाख डाउनलोड भएको) र लिन्चपिन हेल्थको माई पिरिअड ट्र्याकर (१० लाखभन्दा बढी डाउनलोड भएको) एपले चाहिँ डाटा शेअर गर्दारहेछन् ।

पीआईले भनेको छ, "अनुसन्धानका क्रममा हामीले हेरेका एपहरूको व्यापक पहुँचको अर्थ विश्वभरिका लाखौँ प्रयोगकर्ताका स्वास्थ्य वा यौन जीवनसहितका संवेदनशील व्यक्तिगत विवरणहरू उनीहरूको सहमतिबिनै फेसबुक र अरू तेस्रो पक्षसँग शेअर गरिँदैछ ।"

अध्ययनको नतिजा देखाइएपछि मायाले तत्काल परिवर्तन ल्याउनेगरी फेसबुकको एसडीके र एनलिटिक्स एसडीकेलाई हटाएको पीआईलाई बतायो । प्रयोगका आफ्ना सर्त र गोपनीयतासम्बन्धी नीतिसँग सहमत प्रयोगकर्ताको हकमा चाहिँ फेसबुक एड एसडीके टूल प्रयोग गरिरहने उसले जनाएको छ ।

तर व्यक्तिगत पहिचान हुने वा स्वास्थ्यसम्बन्धी विवरण शेअर नगरिएको उसले उल्लेख गरेको छ । पठाएको एउटा वक्तव्यमा उसले भनेको छ, "माया एपले राम्ररी काम गरोस् भनेर आवश्यक सबै डेटामा पहुँच कायम गरिएको हो । महिलाको मासिक चक्रबारे अनुमान लगाउने कुरा जटिल हुन्छ र त्यो हजारौँ भेरिएबल्समा निर्भर हुन्छ ।"

"मायामा साइन अप गर्नुअघि नै हामीले प्रयोगकर्तालाई प्रयोगका सर्त र गोपनीयतासम्बन्धी नीतिबारे अवगत गराउँछौँ । साइन अप गरेपछि हाम्रा प्रयोगकर्ताले आफ्ना डेटा लिन सक्छन् र चाहेको बेला आफ्नो खाता डिलिट गर्न सक्छन् ।" लिन्चपिन हेल्थले चाहिँ पीआईलाई कुनै प्रतिक्रिया दिएन र एमआईएले आफ्नो उत्तर नछापियोस् भन्यो । 

फेसबुकले भन्यो, "सेवासम्बन्धी हाम्रो सर्तले डेभलपरहरूलाई स्वास्थ्यसम्बन्धी संवेदनशील सूचना पठाउन रोक लगाएको छ र गरेको थाहा पाउनासाथ त्यसो नगर्न भन्छौँ ।" 

आफ्नो निष्कर्षमा पीआईले भनेको छ, "कानुनी दायित्व परिपालना गर्ने जिम्मेवारी कम्पनीहरूमाथि हुनुपर्छ र सेवा लिने बेला प्रयोगकर्ताले गरेको विश्वासलाई तिनीहरूले कायम राख्नुपर्छ ।"

फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि एउटा टूल सञ्चालनमा ल्याउन लागेको जनाएको छ । त्यो टूलले एप तथा व्यवसायीलाई सामाजिक सञ्जालमा प्रयोगकर्ताका डेटा शेअर गर्नबाट रोक्नेछ । बीबीसी

ताजा खबर