निष्प्रभ सजी : डार्लिङ हार्वर हुँदै खरबारी

२०७४ भदौ ३१ शनिबार १३:२६:०० मा प्रकाशित

डेढ दशक अघि पोखरामा हुने साहित्यिक कार्यक्रममा एउटा खिरिलो ज्यानको युवा निकै शक्तिशाली कविता सुनाउँथ्यो । गम्भीर स्वभाव र उज्यालो अनुहार भएको त्यही युवा २०६१ सालमा पोखरामा आयोजित भ्रष्टाचारका विरुध्दमा कविता लेख्न मसँगै आन्तरिक राजश्व कार्यालय पुग्यो । त्यहीं हाम्रो परिचय भयो । नाम थियो माधवराज पौडेल ।

म पोखरा छाडेर काठमाडौं पसें र यतै बस्न थालें । कविताको सन्दर्भमा माधवलाई सम्झन्थें । निकै पछि एकदिन फेसबुकमा एउटा फ्रेन्ड रिक्वेष्ट आयो । नाम थियो ‘निष्प्रभ सजी’ । प्रोफाइल हेरेर थाहा भयो तिनै माधवले निष्प्रभ सजीको रुपमा साहित्यमा आफुलाई स्थापित गरिसकेछन् ।
‘नाममा त्यस्तो के हुँदो रहेछ ?’

सजीले सुनाए — मेरो नाम धेरै रिपिट भयो । त्यसैले चेन्ज गरें । निष्प्रभको नेपाली अर्थ अँध्यारो हो । तर, सजी नेपाली शव्द होइन । यो अरबिक शव्द हो । यसको अर्थ हुन्छ - शान्त ।

साँच्चिकै शान्त लाग्छन् सजी । तर, कसैगरे पनि ‘अँध्यारा’ छैनन् उनी । छन् उज्याला तर शान्त !

सजी पोखराको हेम्जामा जन्मे ।

उनका बुबा व्यवसाय गर्नुहुन्थ्यो ।  बुबा आमा व्यापारकै सिलसिलामा नेपालगंज बस्न थाल्नु भयो । भरखरै स्कुले जीवन सकेका कान्छा छोरा सजीलाई आमाबुबाबाट टाढा बस्नु सजिलो थिएन । यसले उनलाई निकै एक्लोपन र उदासीको भाषमा लगिदियो । त्यसपछि उनी आफन्तको घर चितवन पुगे । त्यहीं बसे । त्यहीं पढे । पछि वि.एस्सी पढ्न फेरि पोखरा पुगे । अनि सुरु भयो उनको कविता लेखन ।

एक दशक अघि विद्यार्थीको रुपमा अष्ट्रेलिया पुगेका सजी यतिबेला उपन्यासकारको लोभलाग्दो इमेज बनाउँदैछन् । पहिलो उपन्यास ‘डार्लिङ हार्वर’बाट उत्साहित उनले अर्को उपन्यास ‘खरबारी’ लेखिरहेका छन् ।

सजी अष्ट्रेलिया पुगेदेखि व्लग लेख्न थाले । व्लगलाई वेभ साइट बनाए । सन् २०११ देखि त्यही वेभ साइट ‘साताको साहित्य’ नामको साहित्यिक अनलाइन पत्रिका बनेको छ । राम्रा रचना छान्न र छाप्न तल्लिन छन् उनी । छापिएका रचनालाई पारिश्रमिक पनि दिन्छन् । उनलाई पत्नी जयन्तीको दरो साथ छ । जयन्ती आफैं राम्रो स्रष्टा हुन् ।

 नेपालबाट उनीहरुलाई कवि उपन्यासकार सुमन घिमिरेले सघाउँछन् ।

‘इजलासमा लाहुरे फूल’ र ‘भूपरिवेष्टित खुट्टाहरु’ उनका दुई कविता संग्रह हुन् ।

सन् २०१० मा ‘सिमानामा देश’ शीर्षकको उनको कविता निकै लोकप्रिय भयो । केही साथीभाइको सल्लाहमा उनले त्यो कवितालाई गीतको शैलीमा ढाले । त्यही गीत हो ‘बारीको कान्लो’ । न्ह्यू बज्राचार्यको संगीतले यो गीत सुन्दर बनेको छ । भुषण दाहालको निर्देशनमा बनेको म्युजिक भिडियोमा सजी आफैंपनि देखिएका छन् । चर्चित गायक गायिकाको आवाजले युटुबमा ‘हिट’ भयो ।

‘अहिले भएको भए म त्यस्तो गीत लेख्दिनथें’ सजीले भने — ‘लेखकको विचार पनि बदलिँदो रहेछ । डेमोक्रेसी भनेको विचारहरुसँग मेल खानुपर्छ , संगठनसँग होइन ।’ उनी भन्छन् — ‘हिजो भनेको कुरा आज गलत सावित पनि त हुन्छ नि ।’

उनी राम्रो गीत लेख्छन् । उनका पचासवटा गीत रिकर्ड भैसकेका छन् । संगीतकार न्ह्यू बज्राचार्यसँग मिलेर ‘हार्मोनी’ एल्वम निकालेका छन् । फिल्मका लागि पनि गीत लेखेका छन् । एउटा गजल संग्रह, कथा संग्रह र कविता संग्रह  प्रकाशनका लागि तयार छन् ।

देश बाहिर बसेर पनि साहित्यमा  सक्रिय छन् सजी ।

केही समय नेपालीपत्र अष्ट्रेलियामा ‘ट्रेनभित्र आधा घण्टा’ शीर्षकमा स्तम्भ लेखे । त्यो स्तम्भ नेपालीमाझ चर्चित बन्यो । त्यहींबाट उनको गद्य लेखनमा रुची बढ्यो ।

कहिले आउँछ त खरबारी ?

‘फुर्सदले आउँछ, तर माटोको सुगन्ध लिएर आउँछ ’ ढुक्क देखिए सजी । उनलाई शुभकामना - छिटो आओस् र राम्रोपनि आओस् ।


 

ताजा खबर