केही पाएजस्तो केही छुटेजस्तो ‘इलाम साहित्यिक महोत्सव’ 

२०७६ असोज ६ सोमबार १२:१३:०० मा प्रकाशित

लामो समय भएछ ठूला लाग्ने साहित्यिक कार्यक्रमहरुमा नगएको । मन नभएर नगएको भने होइन । आफ्ना सहितका पेटहरु भर्नका लागि आवश्यक जोहो गर्दागर्दै त्यताको बाटोमा झारजंगल पलाउँदै गएको पत्तै भएन छ । अब खानकै लागि समस्या छैन, अरु समस्याहरु भए पनि । सहज भएपछि मन भएर जान नपाएको बाटोहरु समाउनु पर्छ भन्ने लाग्यो । साहित्यकार इन्द्रबहादुर राईले मलाई भनेको एउटा वाक्यले सधैं घोचिरहन्छ– ‘आफूले मात्र गर्न सक्ने काम जे हो, त्यही गर्नुपर्छ । अरुले पनि गर्न सक्ने काममा किन पो मरिहत्ते    गर्नु ?’ त्यसैले केही अघिबाट साहित्यिक गतिविधिहरुमा सहभागी हुन थालें । मलाई लाग्छ– मैले अनुभूति गरेका विषयहरु मैले मात्र लेख्न सक्छु । त्यसैले ती अनुभूतिहरुलाई लेख्नका लागि अब मलाई केहीले वाधा गर्दैन ।

भर्खरै इलामको साहित्यिक महोत्सवमा सहभागी हुन पुगें । कसैको ‘हार्दिक निमन्त्रणा’मा पुगेको थिइनँ । आफूले धेरै अघिबाट हिँड्न थालेर गोरेटो बनिएपछि भुलेको बाटोमा सम्झनाका देवीदेउरालीहरु भाक्न पुगेको थिएँ । इलाम पुगेपछि आफूले ओहोर–दोहोर गर्दा देखेका कैयौं कालजयी लाग्नेहरु देख्न सकिनँ, जसहरुको नाप्न नसक्ने फेरोमा मेरो पनि नाम कुँदिएको थियो । अहिले त भविष्यमा थुप्रै कालजयी लाग्नेहरुले ढाकिएर बाटो भुलेको जस्तो पो भएछु त्यहाँ पुगेपछि थाहा पाएँ ।

यसपालिको इलाम पुगाइ मेरो लागि नितान्त साहित्यिक थियो । साहित्यिक महोत्सव एकदम व्यवस्थित लाग्यो । आयोजकले निम्ता गरेर बोलाएकाहरुप्रति उनीहरुको आतिथ्यता हार्दिकतापूर्ण थियो । खान र बस्न निम्तालुको लागि गरेको व्यवस्थापन लोभलाग्दो थियो । कार्यक्रम स्थल मेरो लागि अति सुन्दर थियो । किनकि झापाले अहिलेसम्म त्यत्तिको भवन निर्माण गर्न सकेको छैन । पहाडभित्रको साँघुरो क्षेत्रमा पर्याप्त भूमिभित्र जर्मन सरकारको सहयोगमा बनेको गौतम बुद्ध सभागृहले मलाई एक झापड हानेर भन्यो– ‘ठाउँ गफले बन्दैन, काम गर्नुपर्छ । तँ मधेशमा बसेर के भो र ! म जत्तिको भवन पनि त तिमी अल्छेहरुले बनाउन सकेका छैनौं ।’ सभागृहको व्यङ्ग्यपूर्ण झटारोबाट मेरो अनुहार रातो भयो लाजले किनकि अरुलाई दोष दिएर म उम्कन सक्ने थिइनँ त्यसबेला ।

 झापाबाट पुगेको मेरा लागि इलाम शित्तल थियो । इलाम जस्तै शित्तल भएर आयोजक उत्तरदायी बनेको थियो ।

प्रचार गरेको कार्यक्रम तालिका फेरिएको रहेछ, त्यहाँ पुगेपछि थाह पाएँ । तालिका फेरिए पनि साहित्यिक महोत्सवको नारा फेरिएको थिएन– ‘पर्यटनका लागि साहित्य ।’ म त नाराले तानिएर पनि पुगेको थिएँ । त्यो नाराप्रति मेरो बडो आशा थियो ।

 कार्यक्रममा सबैभन्दा बढी मन परेको विषय थियो– कार्यक्रमको शुरुवात् । न कुनै आसन, न कुनै भाषण । जे लेखिएको थियो, त्यही भयो । कार्यक्रममा सामान्य औपचारिकताका लागि सामुहिक आसनग्रहण, राष्ट्रगान, स्वागत मन्तव्य र स्वागत गीत बाहेक केही भएन ।

 डा.संजीव उप्रेतीले आलोचनात्मक चेत र संरचनात्मक लाभांशका विषयमा बोलेका विषयले पहिलो दिनका सबै कार्यक्रमका वक्ताहरुलाई पूरै प्रभावित बनायो । पूर्ण लोकतन्त्रको प्राप्ति असम्भव हुने र हरेक समय त्यसको अभ्यास मात्र हुँदै आएको भन्ने विषयमा उनले– ‘लोकतन्त्र त्यसबेलामात्र पूर्णसम्भव छ, जुनबेला हरेक व्यक्तिले आत्मआलोचनात्मक चेतमाथि विमर्श गर्न थाल्छ’ भन्ने विषयले मेरो मनमा स्थापित मान्यताको धराहरालाई अझ उँचो बनाएको थियो । हरेक व्यक्तिलाई हाम्रो सामाजिक संरचनाबाट आफ्नै किसिमको लाभांश प्राप्त छ, जसका कारण उच्च लाभांश पाउनेहरुबाट थाहै नपाइकन निम्न लाभांश पाउनेहरु प्रताडित बनिरहेका हुन्छन् । त्यसैले पीडितहरुको व्यथा लाभांश पाउनेहरुले नबुझेसम्म सामाजिक समस्यामा परिवर्तन गर्न सकिँदैन भन्ने कुरा सारमा बुझें ।

 कार्यक्रम समापन हुनु केही अघि नै म झापा फर्किएँ । म कार्यक्रममा सहभागी भइन्जेल मलाई इलाम जान तान्ने महोत्सवको नारा ‘पर्यटनका लागि साहित्य’ को मर्म कतै अनुभूति गर्न पाइनँ ।

पर्यटन बर्ष २०२० नजिक आइरहेको बेला ‘पर्यटनका लागि साहित्य’ नाराका साथ कार्यक्रमको आयोजना गर्नु बडो गर्व लाग्दो कुरा थियो । तर त्यत्रो विघ्न दुःखका साथ आयोजना गरिएको त्यस्तो भव्य कार्यक्रमको मर्म तर्फ भने कार्यक्रम किन गम्भीर बनेन होला भन्ने मलाई लागिरहेको छ । हाम्रो देशमा हरेक क्षेत्रमा नाराहरु एकातिर, काम अर्कोतिरको हुने गरेकै छ, त्यसको निरन्तरताबाट इलाम साहित्यिक महोत्सव पनि अछुतो रहन सकेन कि भन्ने मलाई लागिरहेको छ ।

मलाई लागेको थियो– कार्यक्रमको तालिका अनुसार हरेक विषयहरु साहित्यमा आएर जोडिने छन् । जोडिएका विषयहरुलाई साहित्यको माध्यमबाट कसरी संसारभरि छर्न सकिनेछ भन्ने विषयमा गम्भीर बहस हुनेछ । तर म त्यतिखेर झल्याँस्स भएँ, जतिखेर सहजकर्ताहरुले साहित्यलाई राजनीतिक बहस बनाउन थाले । फिल्म निर्माताले भनेको सय करोडको कमाई झुठो हो कि साँचो हो ? भन्ने प्रश्न गर्न थाले । पर्यटनका लागि सरकारले गरेको काम ठीक छन् कि छैनन् ? लोकतन्त्र खतरामा छ कि छैन ? भने जस्ता कुरा तर्फ कार्यक्रम मोडियो । कुनै पनि सहजकर्ताले विषयलाई साहित्यिक साँचोभित्र ल्याएर छिराएनन् । कार्यक्रम साहित्यिक नभएर कुनै व्यवसायीका गुण–दोष, राजनीतिक चेतको गुण–दोष, सिनेमाको गुण–दोष माथि आग्रही वा पूर्वाग्रही बताउनका लागि प्रायोजन गरेको जस्तो मात्र देखें ।

 मलाई लागेको थियो– अबको साहित्यभित्र कुन कुन विषयहरु उठान गर्न सके हाम्रो देशको पर्यटन विकास सम्भव छ ? यो प्रश्नभित्र रहेर सिनेमा जगतभित्र साहित्यिक लेखन प्रयोग कसरी गर्न सकिन्छ,जसका माध्यमबाट अन्तर्राष्ट्रिय जगत्लाई आकर्षण गर्न सकियोस् ? भौतिक विकासका कुराहरुमा दिगो पूर्वाधार निर्माणका लागि साहित्य क्षेत्रको भूमिका के हुन सक्छ, जसले हाम्रा संरचनालाई विश्व मानचित्रमा साहित्यिक माध्यमबाट फरक देखाउन सकियोस् ? स्थानीय पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्न साहित्यको कस्तो भूमिका आवश्यक छ ? लोकतन्त्रलाई स्थायित्व दिनका लागि साहित्यकारहरुको भूमिका के हुनेछ ? जस्ता यावत् प्रश्नहरुले साहित्यलाई विविध क्षेत्रभित्रको प्रयोगको मार्ग देखाउँदै फराक दायराभित्र देशको पहिचान र आगन्तुक भित्र्याउने मार्गचित्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा चर्चा हुन्छ भन्ने आशा थियो ।

त्यो सँगै लागेको थियो– इलाम साहित्यिक महोत्सवबाट एउटा यस्तो घोषणा हुनेछ, जसको सन्देशबाट सरकारको ध्यान साहित्य क्षेत्र तर्फ तानिनेछ । इलामबाट साहित्यकारहरुले भन्ने छन्– ‘सरकार ! बेरोजगारी भत्ता वा बृद्धभत्तामा मात्र नेपाल भ्रमण गर्न आउने सयौं विदेशी पर्यटक भन्दा एउटा गहकिलो अन्तर्राष्ट्रिय साहित्यकार कसरी भित्र्याउन सकिन्छ, त्यता ध्यान देऊ । जसले यहाँबाट फर्किएर लेखेको एउटा लेख पढेर संसार घुम्न मन पराउने हजारौं सम्पन्न पर्यटकहरुको ध्यान यता तानियोस् ।’ तर त्यो भएन । आयोजक र वक्ताहरु स्वयंले सरकारले आयोजना गरेको छलफल कार्यक्रम जस्तो बनाइ दिए साहित्यिक माहौललाई पनि ।

यो मैले भन्न खोज्नुका केही कारणहरु छन् । केही समयअघि जीटीजेडले आयोजना गरेको प्रोजेक्ट अन्तरगत साहित्य लेखन गरिसकेपछि कृष्ण धराबासी, बेन्जु शर्मा, विप्लव प्रतिक, भुपाल राई लगायतको समूहलाई जर्मन सरकारले जर्मनी घुमायो । जर्मन घुमेर आएपछि धराबासीले ‘गेष्टापो’ लेखे । त्यतिखेर मेरो मनमा एउटा प्रश्न उठेको थियो, जो आजसम्म ज्यूँकात्यूँ छ– ‘गेष्टापो’ नेपाली साहित्य हो कि जर्मनी ?

 यो प्रश्न केही अघि मात्र पनि फेरि झझल्किएको थियो– मदन पुरस्कारको चर्चा चलिरहँदा । नेपाली मूलका भारतीय नागरिकले लेखेको कृति ‘फातसुङ’, जो गोर्खाल्याण्ड आन्दोलनसँग जोडिएको विषय छ, लाई नेपाली साहित्य आकाशमा नेपाली साहित्य भनेर पूरै व्याख्या गरियो । अब मेरो मनमा प्रश्न उठ्छ– ‘फातसुङ नेपाली भाषामा लेखिएको भारतीय साहित्य हो कि नेपाली साहित्य हो ?’

इलाम साहित्यिक महोत्सवको प्रसङ्गसँग यो विषय जोड्नुको विशेष कारण छ । पर्यटक भनेको व्यक्तिगत वा संस्थागत खर्चमा संसार घुम्न मन पराउने व्यक्ति वा समूह हो । नेपालको सौन्दर्यका बखान हामीले हाम्रो ढङ्गले गरेका छौं र आफंै रमाएका पनि छौं । हामीले गरेको व्याख्या जति थाह पाउनु पर्ने हो, त्यति संसारले थाह पाएकै छैन । डा. संजीव उप्रेतीले गरेको ‘संरचनात्मक लाभांशा’को कुरासँग संसारलाई तुलना गर्ने र त्यहाँभित्र हामीलाई खोज्ने हो भने हामी त्यहाँ छौं, जहाँ अहिलेको हाम्रो सामाजिक संरचनामा सिमान्तकृत समुदाय छ । जसरी उसको आवाज राज्यले चाहे जति सुन्न सकेको छैन, त्यसरी नै हामी नेपालीको आवाज संसारलाई सुनाउन सकेका छैनौं ।

जसरी सिमान्तकृत समुदायको बारेमा एउटा स्थापित लेखक, स्थापित नेता, स्थापित अभियन्ताले उठाएको मुद्दा मात्र सुनुवाई हुन्छ, त्यसरी नै हाम्रो साहित्य तथा सँस्कृतिलाई पनि अन्तर्राष्ट्रियकरण गर्ने हो भने स्थापित अन्तर्राष्ट्रिय लेखकहरुको कलम अनिवार्य छ । अनि पो हाम्रो साहित्यले संसार छुन्छ, अनि हामीले परिकल्पना गरे जस्तो पर्यटनको विकास सहज बन्नेछ ।

मलाई लाग्छ– त्यसका लागि दुई विकल्प छन् । कि त हाम्रो साहित्य जगतले अब अन्तर्राष्ट्रिय साहित्य जगतसँग हातेमालो, सहकार्यको बाटो स्थापित गराउनु पर्छ । जसलाई टेकेर नेपाली साहित्यकारहरुले आफ्ना कृतिहरु अन्तर्राष्ट्रिय जगतमा पु¥याउन सकुन् वा बाहिरी लेखकलाई यहाँका विषय लेखाउन सकौं । कि त नेपाली साहित्य जगतले नेपाली लेखकहरुलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन कम्मर कस्नु पर्छ । दुई–चार लेखकहरुलाई अन्तर्राष्ट्रिय ‘आइकन’ बनाउन राज्यले पनि सहयोग गर्नुपर्छ ।

इलामभित्रबाट अब सरकारलाई स्थानीय पहिचानको लागि ‘नगर लेखक’का प्रस्तावहरु अघि बढ्ने छ लागेको थियो । जुन कुरा कृष्ण धराबासीले जर्मनी घुमेर आएपछि लेखेको दोस्रो कृति ‘कागजको मान्छे’मा उल्लेख गरेका छन् । स्थानीय सरकारले नै लेखकहरुका लागि बस्ने, खाने र स्थानीय विषयहरुमा लेख्नका लागि अनुरोध गर्ने गर्छ । र, एउटा साहित्यिक कृति तयार हुनेछ । हाम्रो सरकारले खेलाडीहरुको पहिचानमा खर्च गरे जस्तै लेखक र बौद्धिक बर्गका लागि पनि अब बाँच्ने आधारहरु तयार हुने गरी पूर्वबाट एउटा घोषणा उदाउने छ भन्ने आशा थियो । महोत्सवको अवधिभरि त्यसतर्फ आयोजकको ध्यान जान नसके पनि अबका दिनमा आयोजकले इलाममा बसेर साहित्यिक लेखन गर्न चाहने कुनै पनि पर्यटक लेखकका लागि ‘लेखक भवन’ व्यवस्थापन तर्फ स्थानीय सरकारसँग हातेमालो गर्दै नयाँ गन्तव्यको थालनी गर्ने छ भन्ने आशा लिएर फर्किएको छु । [email protected]
 
 

ताजा खबर