हुती भए युवाहरू कायरता र अवसरवादिता छोडेर आउन् !

२०७४ भदौ ३० शुक्रबार १४:१७:०० मा प्रकाशित

वर्तमानमा असाध्य जस्तो देखिने समस्या र चुनौतीहरू उत्साही नयाँ नेतृत्वको लागि सुवर्ण अवसर हो !
 
१. भारतमा १९९१ मा ७१ वर्षीय पी.भी. नरसिंह राव राजनीतिबाट निवृत्ति लिँदै थिए, उनी संसदीय निर्वाचनमा उम्मेदवार थिएनन्,
तर निर्वाचन अभियानकै क्रममा राजीव गान्धीको हत्या भयो । निर्वाचनमा काङ्ग्रेस ठूलो पार्टी त भयो तर ऊसँग बहुमत थिएन ।
त्यतिखेर भारतीय राष्ट्रिय काङ्ग्रेसले संसद्को निर्वाचन नै नलडेका पी.भी नरसिंह रावलाई अल्पमत सरकारको नेतृत्वगर्ने चुनौती सुम्पियो ।
 
२. बढीमा दुई हप्ताको आयात पनि धान्न नसक्ने विदेशी मुद्राको संचिति भएको, जर्जर भएको र टाट पल्टिने अवस्थामा पुगेको अर्थतन्त्रको जिम्मा लिएर राव प्रधानमन्त्री भए र उनैको क्रान्तिकारी निर्णयले भारतको इतिहासले सम्वृद्धि र गतिशीलताको नयाँ अध्याय निर्माण गर्यो ।
आज विश्वमा भारतको जुन आर्थिक र सामरिक महत्व र सामथ्र्य स्थापना भएको छ, त्यसको जग रावले हालेका हुन् ।
लाल बहादुर शास्त्री पछि उनी भारतका सबै भन्दा सक्षम प्रधानमन्त्री मानिए । उनी पछि अटल बिहारी वाजपेयीले त्यो मानदण्ड कायम राखे ।
दक्षिण भारतबाट देशको प्रधानमन्त्री हुने राव पहिला व्यक्ति हुन् र उनले अल्पमतकै सरकारलाई पाँच बर्ष टिकाए ।
 
३. १९८१ मा आइपुग्दा अमेरिका संसारमा कमजोर महाशक्तिको रुपमा देखिँदै थियो । भियतनाममा पराजय, इरानमा अमेरिकी समर्थक शाह रेजा पहल्वीको पतन र कट्टर धार्मिक कट्टर पन्थीहरुको इस्लामिक शासन अन्तर्गत अमेरिकी दूतावासका सबै कूटनीतिक र कर्मचारीहरु महिनौ बन्धक थिए र अमेरिका लाचार भएर बसेको थियो । साथमा सोभियत सङ्घको बढ्दो अन्तर्राष्ट्रिय प्रभाव । त्यसैबीच ७२ वर्षका रोनाल्ड रेगन राष्ट्रपति भए ।
अहिले इतिहासकै सबैभन्दा बढी उमेरका डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति छन् !
 
रेगनले अमेरिकाको अर्थतन्त्र र अन्तर्राष्ट्रिय प्रभावलाई शिखरमा पुर्याएका मात्र होइनन्, सोभियत सङ्घसँगको सम्वन्ध पनि अत्यन्त सुमधुर राखे र आणविक र अन्य विध्वंशक हतियार नियन्त्रणबारे पनि महत्वपूर्ण संझौता गरे ।
 
४. तर आर्थिक रुपमा जर्जर हुँदै गएको सोभियत सङ्घ उनको कार्यकालको अन्त्यतिर राजनीतिक रुपमा पतन र विखण्डनतर्फ अग्रसर भै रहेको थियो । दुई कार्यकाल राष्ट्रपति भएका रेगन अब्राहम लिंकन पछिका महान राष्ट्रपतिमा लिइन्छन् ।
 
५. भारतीय जनता पार्टीले पार्टीका ५ जना केन्द्रीय अध्यक्ष भइसकेका र अन्य दर्जनौं वरिष्ट नेताहरु हुँदाहुँदै एउटा प्रान्तका मुख्यमन्त्री नरेन्द्र मोदीलाई आफ्नो भावी प्रधानमन्त्री घोषणा गरेर उनको नेतृत्वमा संसदीय निर्वाचनमा गयो । अहिले मोदी  एउटा कुशल र प्रभावशाली विश्व नेताको छवि निर्माण गरिरहेका छन् ।

उता चीनमा सी जिन्पिङ् एउटा नयाँ विश्व इतिहास निर्माण गरिरहेका छन् !
 
६. नेपाल संविधान कार्यान्वयनको भजन गाएर प्रदेश र सङ्घको निर्वाचनमा जाँदैछ । स्थानीय तहको निर्वाचन झन्डै सकिएको अवस्था छ ।
यति जटील संवैधानिक संरचना र यति विघ्न जाति, धर्म, क्षेत्रीय तनाव र द्वन्द्व झेलिरहेको मुलुक समक्ष निर्धक्क मुलुक सुम्पिने कुनै नेता छैनन् !
 
७.सी जिन पिङ् र नरेन्द्र मोदी जस्ता नेताहरूले विश्व र क्षेत्रमा जुन तनाव र द्वन्द्व चक्र निर्माण गरिरहेका छन् त्यसलाई बुझेर उपयुक्त रणनीति निर्माण गरेर ठूलो कूटनीतिक कौशलद्वारा उक्त रणनीति अवलम्वन गर्न सक्ने सक्षम नेता नेपालले तयार नगर्ने हो भने सामाजिक संजाल र अनलाईन मध्यमहरूमा पोखिएका र निर्वाचनमा कथिएका र कथिने नाराहरूले देश जोगिदैन !
 
८. त्याग, बलिदान र सङ्घर्षको भजन गाएर केही अर्थ छैन, सवाल त्यो . . . जनताको लागि काम लाग्ने हुन्छ कि कबाडीमा जान्छ भन्ने हो ।
प्रधानमन्त्री , मन्त्री , राष्ट्रपतिको लोभमा र पैसा कमाउने र सम्पत्ति जोड्ने होडमाको कहाँसम्म पुग्छ सबैलाई थाहा भैसकेको छ ।
मानिसले भोगेका, बेहोरेका र पत्रु सावित भै सकेका नेताहरुको भार बोकेर पार्टी र देश उँभो लाग्दैन ।
 
९. माथि नरसिंह राव, रोनाल्ड रेगन र नरेन्द्र मोदी वा सी जिन पिङ्को प्रसंग यसकारण प्रस्तुत गरेको हो कि पार्टीले मुलुकको लागि जिम्मेवारी सुम्पदा उमेरको हिसाव राख्नु पर्दैन ।

७१ – ७२ वर्षको उमेरमा प्रधानमन्त्री र राष्ट्रपति भएका राव र रेगनले इतिहासमा कसैले नगरेको काम गरेर देखाए ।
३६ वर्षको उमेरमा बि.पिले सात सालको क्रान्तिको नेतृत्व गरे र किसुनजीले ३५ वर्षकै उमेरमा कुशलतापूर्वक नेपालको पहिलो सभामुखको भूमिका निर्वाह गरे ।

१०. तर श्री ३ महाराजाहरुको चाकरीमा धाए जसैगरी पालैपालो सीमापारी र यताका पनि नेताहरुको दरबारमा धाउने सोख, मोज र शक्ति भोगको क्यान्सररुपी लालसामा राल चुहाउँदै धाइरहेका युवाहरु र गर्न केही नसक्ने र आफ्नो अकर्मण्यता र असक्षमतालाई छोप्न इतिहासको भजन मात्र गाएर र दोष जति अरुमा थोपरेर आजीवन पद, सत्ता र शक्तिको थांगना स्याहारेर बस्न नपाए कालै आए जस्तो सम्झने पाका नेताहरु दुवै देश र पार्टीहरुका रोग हुन् । यिनीहरु शोक र कहर हुन् ।

आफू र आफ्ना सन्तान, नातागोता र आसेपासेहरूले मात्र भोगेको उपलव्धिको वाक्क लाग्दो रटानबाट मानिस आजित भैसकेका छन् भनेर बुझ्नु पर्नेले बुझे हुन्छ !

११. कमसेकम पार्टीमा सोच्ने र देशप्रति र जनताप्रति दायित्ववोध हुनेहरू अब अघि आउन् ! अरू पनि सक्ने आउन् ! प्रदेश र सङ्घको चुनाव अघि नै आउन् ! कायरता र अवसरवादिता छोडेर आउन् ! नेतृत्वको पहिचान चुनौतीहरूमाझ नै हुन्छ ! वर्तमानमा असाध्य जस्तो देखिने समस्या र चुनौतीहरू उत्साही नयाँ नेतृत्वको लागि सुवर्ण अवसर हो !
(भट्टराई नेपाल शिक्षक युनियनका पूर्ब अध्यक्ष हुन्)
 

ताजा खबर