विवादका कारण रोकिएको सडक विस्तार शुरु

२०७६ भदौ ३० सोमबार १७:३६:०० मा प्रकाशित

ललितपुर, ३० भदौ । दुई वर्षअघि विवादका कारण रोकिएको गोदावरी नगरपालिका–३ बोझापोखरीदेखि साविकको गोदावरी खानेपानीसम्म सडक विस्तारको कार्य अघि बढेको छ । 

पुरानो सडकलाई दुवैपट्टि आठ–आठ मिटर चौडा गरी पर्खाल लगाउने र ह्युमपाइप हाल्ने विवाद समाधान भएपछि धमाधम अघि बढेको हो । 

सो सडक मर्मत र विस्तारको जिम्मेवारी काठमाडाँै उपत्यका सडक विस्तार आयोजनाले भर्खरै अघि बढाएको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । “नेपाल सरकारले विसं २०३३ मा यो सडक २२ मिटर चौडा निर्माण गर्ने घोषणा गरेको थियो”, उनले भने, “हाल दायाँबायाँ गरी आठ–आठ मिटर सडक चौडा गर्ने योजना अघि बढेको छ ।” 
    
केही समय अघि स्थानीयवासीले सडक विस्तारका क्रममा पर्न जाने घर र जग्गाको विषयलाई लिएर नगरपालिका र वडाध्यक्षविरुद्ध मुद्दा हालेका थिए । दुईवर्ष अघि सो सडक विस्तारका क्रममा भएको विवाद भर्खरै टुङ्गो लागेसँगै विस्तारको काम अघि बढेको हो । सो सडक मर्मत गर्नका लागि तीन महीनाको समयावधि बाँकी छ । नेपाल सरकारले उक्त सडक मर्मत गर्न साविकको गोदावरी क्षेत्रमा करीब रु ३७ करोड लाग्ने अनुमान गरेको वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिए ।  

उक्त रकमले सडक खनेर ठाउँ ठाउँमा ह्युमपाइप हाल्ने, सडकको दुवैपट्टि ढुङ्गाको पर्खाल लगाउने र पिच गर्ने काम सम्पन्न गर्नुपर्ने छ । हाल निर्माण हुँदै गरेको सो सडकमा पर्ने ५० प्रतिशत जग्गामा ४४ देखि ६० फिट सार्वजनिक जग्गा रहेको र बाँकी ५० प्रतिशत जग्गा व्यक्तिका नाममा रहेकाले सडक मर्मतमा केही किचलो परेको घिमिरेले बताउनुभयो । सडक मर्मत र विस्तार गर्ने जिम्मेवारी लामा, समानान्तर जेभीले पाएको छ ।
 
यसैगरी अर्काे बोझापोखरीदेखि सातदोबाटोसम्मको सडक मर्मत र विस्तार गर्ने जिम्मा भने सिएम जेभिलाई दिइएको छ । लामा, समानान्तर जेभीले सातदोबाटो आसपास ४०० किलोमिटर सडक निर्माण गरिसकेको छ । विवादका कारण सातदोबाटोमा केही सडक मर्मत र विस्तार गर्न बाँकी रहेको सातदोवाटो–गोदावरी सडक विस्तारमा खटिएका आयोजनाका कर्मचारी दीपक भट्टले जानकारी दिए । 

सडक मर्मत र विस्तारका क्रममा पर्न जाने घरको मुआब्जा स्क्वायर फिट्का आधारमा दिने तर जग्गाको मात्र मुआब्जा भने जनतालाई नदिने घोषणा सरकारले गरेको बताइएको छ । रासस

ताजा खबर