राजा हटाउन किन तयार भए गिरिजा, कसरी प्रयोग भए सिटौला ?

२०७६ भदौ २९ आइतबार १३:०४:०० मा प्रकाशित

खै, मिति र बार याद भएन । पुनर्स्थापित संसद र यथावत् सडकमा अनेकन् आशंकाहरू देखिएको थियो । संसदको पहिलो बैठक बस्ने तय भएको थियो । अनेकन् बिषयहरू चर्चामा थिए । राजतन्त्रको भविष्यका कुराहरू, राजनीतिक व्यवस्थाका भावी स्वरूपका कुराहरू-यस्तै अनेक कुरा तलमाथि भैरहेको थियो । बीपी ले ‘मोदिआईन’ मा महाभारत युद्ध हुनु पहिले कुरूक्षेत्रको त्रस्त मनोविज्ञानको चर्चा गरे झैं “...ठूलो बिशाल कुरूक्षेत्रमा पाण्डव र कौरवका सेनाहरू आ-आफ्ना सेनापतिहरूका साथ भेला हुन थालि सकेका थिए । पर अग्लो ठाँउमा तर छुट्टाछुट्टै गरी कौरव र पाण्डव पक्षका रानी महारानीहरू, योद्धाहरूका पत्नीहरू र सेविका सुसारेहरू आसन्न परिणामबाट भयाक्रान्त र सशंकित भएर अनेकन् दुर्संभावनाहरूका उपर चर्चा गरिरहेकी थिईन...सबै मध्यस्थता र युद्ध रोक्ने प्रयासहरू असफल भयो...! हे भगवान अब के हुन्छ ? के प्रलय हुने हो .....?”

यस्तै माहौल बनेको थियो तेस बखतको राजनीतिक वृतमा । यस्ता चर्चामा सबैभन्दा मूल बिषय थियो-राजाको के हुने ! राजा माने ज्ञानेन्द्रको ! उ बेला हावा, पानी र आगोमा कसैको नियन्त्रण नभएको जस्तो अवस्था थियो । तर पनि, केहीले ‘बेबी किंग’, कोही भने भारत स्वतन्त्र हुँदा ताकाका कश्मिरका राजा हरिसिंहका झै, कतिले फेरी ‘करेक्टेट सेरेमोनियल किंग’...थरीथरीका आँकलन र अनुमानहरू व्याप्त थियो । नारायण हिटीबाट निकालिए पछि कहाँ बस्ने होला ? सेनाले मान्छन त ? आदि आदि !

उपल्लो दर्जाका एकाध उपवादका नेता बाहेक अधिकांश भने राजनीतिका भवितव्यबाट निरपेक्ष थिए । आफैमा गमक्क थिए । गफ, आशंकाका खेति गरि बसेका थिए ।
मैले जानेको कुरा इमानका साथ भन्नु पर्दा, हुने कुराको जानकारी गिरिजा बाबु र प्रचण्डलाई यकिनका साथ ज्ञात थियो । किनभने, गिरिजा प्रसाद कोईरालाले यौटा मन बनाउनु भएको थियो र प्रचण्डले भने-उहाँले बनाएको मनमा आफ्नो सफलताको सोपान देख्नु भएको थियो ।

‘प्रचण्ड’ भनेको तेस बखतको प्रचण्ड ! अहिलेको जस्तो लुंजपूंज, थिलथिलो, ज्ञानेन्द्रीयहरू अनियन्त्रित भएको, मागेर अरूको कोट लगाएको मानिस जस्तो हुन्थेन तेस बखत । उनको आँखातिर देख्दा संकल्प तथा सपना देखिन्थ्यो, पाइलातिर हेर्दा दरो टेकाई अनि अग्रगतिको आभाष हुन्थ्यो । तिनताकका घटनाहरूको जानकार प्रचण्ड यस कारणले पनि हुनुहुन्थ्यो, किन कि भर्खरभर्खरै उहाँले गिरिजा बाबुको संकल्प र दृढता बुझ्न थाल्नु भएको थियो । जसबाट स्वयं उहाँको काँग्रेस र एमालेहरू अनभिज्ञ रहेका थिए ।

तर, गिरिजा बाबु भने आफ्ना ध्येयमा निशंक हुनुहुन्थ्यो । माओवादीलाई एमालेको जतिकै संख्या दिएर संसदमा प्रवेश गराएको कुरामा सुशील कोईराला असंतुष्ट भै ठस्केको अवस्था थियो । सुशील जीसंगै अरू धेरै । “गिरिजा दाजुले आतंककारीहरूलाई संसदमा हुल्नु भो” यत्ति मै रन्नभुल्ल भएर रन्थनिएका थिए-गिरिजा बाबुसंगको यौटा जमात । मलाई लाग्दछ, घरभित्रका नोना कोईराला मात्र एक हुनुहुन्थ्यो, जो अध्याँरो टनेलको अर्को तिर थोरै उज्यालोमा नारायणहिटीको वैभवता ढल्न लागेको देखिईरहनु भएको थियो ।शेखर कोईराला परिबारबाट उदीयमान थिए, शशांकको जीवन उरेन्ठेउला काँग्रेसहरूसंग मौजमस्ती कै थियो । यही बेला गिरिजा बाबुसंग नजिकिदै गएका कृष्ण सिटौला बढी नजिक हुनु भयो । शायद उहाँले आफ्नो अदृश्य राजनीतिक मिशनको सफलताका लागि कृष्ण सिटौला उपर बढी भर गर्दै जानु भएको थियो । किन भने “अब मुलुकलाई राजा र राजतन्त्र चाहिन्न” भने कुरा पहिलो पटक सिटौला मार्फत नै गिरिजा बाबुले ज्ञानेन्द्रसम्म पुर्याउनु भएको थियो । राजाले चाहेमा थोरै सम्मानका साथ बहिर्गमनको बाटो दिईने कुरामा गिरिजा बाबुको मन बनि सकेको थियो । र, यो सन्देश राजाकोमा पुर्याएर, यसलाई न स्वीकारेमा हुने परिणामको झलक राजालाई सिटौलाले दक्षता साथ भन्नु भएको थियो । यो जिम्मेवारीको निर्वाह बडो सिपालु भै सिटौला जीले गर्नु भएकोमा गिरिजा बाबुले परोक्षमा पनि सिटौटालाई “बडो होसियार रहेछ” भन्नुहुन्थ्यो । गिरिजा बाबुले कसैलाई “बडो होसियार रहेछ” भन्नु- त्यो मानिसले बिश्वासको नोवेल पुरस्कार पाउनु सरह हुने मेरो धारणा रहेको हो ।

असंख्य आशंकाका बीच, दबाव र प्रभावका बीच, दुर्घटनाहरूको ढकढक्याईका बीच निजी रूपमा गिरिजा बाबुले जे चाहनु भएको थियो-भयो । मध्यरातमा, पुनर्स्थापित प्रतिनिधी सभाले राजतन्त्रलाई बिदा गर्यो । एक झटकामा शाह राजाहरूको स्वप्न बगैचा सखाप भयो । अचिन्तनका कुरा मूर्त भयो ।

राजतन्त्र समाप्त पारिएको तेस घटनालाई आज धेरैले राजा ज्ञानेन्द्रसंग दलहरूले गरेको सम्झौताको बर्खिलाफ गरिएको कदम भन्छन । कतिपयले १२ सूत्रीय समझदारीमा राजतन्त्रको अन्त्यको कुरा उल्लेख नरहेको तथा राजासंग धोकाधडी भएको भन्छन् । म तेता जान चाहन्न । मैले बुझेको त के हो भने नेपालमा राजतन्त्रको अन्त्य, न त जनमत संग्रहको परिपाटीबाट हुन सक्थ्यो । न त, उ बखतको सात दलका नेताहरूको बीचमा सहमति नै गरेर । यदि, राजालाई फाल्ने कसैको संकल्प रहेको हो भने उसको अगाडी इतिहासले देखाएको दुई वटा बाटाहरू मात्र थिए । जंगबहादुरले कोतपर्व पछि भण्डार खालका रक्तरंजित नालाहरूमा मिल्केको राजाको श्री पेचलाई तलवारको टुप्पोले उठाएर आफ्नो शिरमा भिर्ने जंग बहादुर राणाको बाटो । वा, माथवर सिंह थापा मारिएको बाटो । पहिलो बाटो सैन्यशक्तिको सहयोगले हुने बाटो हो । र, दोस्रो छलको बाटो हो । शक्तिपूंज सहित मुख्तियार माथवर सिंह थापा मर्नु परेको बाटो । गिरिजा बाबुसंग छलको सम्बन्ध देखाउनु शायद मेरा निम्ति प्रियकर उपमा होवईन । नेपालको इतिहास पढेर हैन, सुनेर बुझेको गिरिजा बाबुले दोस्रो बाटोबाट राजालाई गद्दीच्यूत गराउनु भयो ।

गिरिजा बाबुले राम्ररी बुझ्नु भएको थियो कि ति दलहरू, जस्को अन्तरंग सोचको निर्माण बिदेशी दुताबासहरूमा हुने गर्दछ-ति दलहरूको सहमतिबाट नेपालका राजालाई कसरी फाल्न सकिन्छ र ? तेस बेलाको निर्णायक शक्ति सात दलीय गठबन्धनमा सबैको प्रतिनिधित्व थियो; भारत, चीन, अमेरिका तथा उत्तर कोरिया सम्मको ।

उहाँले अपनाएको बाटोको बारेमा प्रश्नहरू होलान् । दस्तावेजहरू खोतल्दा “निरंकुश राजतन्त्रको अन्त्य” पढनेहरू जिल्लिएका छन कि यो ‘अनर्थ’ कसरी हुन गयो ? यही अनर्थमा गिरिजा प्रसाद कोईरालाले जीवनमा आफ्नो संकल्पको ‘अर्थ’ भेटनु भएको हो । जीवनका अनेकन पक्षहरूका बारेमा दृढ सोचहरू रहे झैं नेपालका राजतन्त्रको बारेमा पनि उहाँको आफ्नै प्रकारको धारणा थियो ।

राजाको बारेमा गिरिजा बाबु किसुन जीको भन्दा गणेशमान जीको नजिक हुनुहुन्थ्यो; गणेशमान जी बीपी कोईरालाको । बस्तुत: किसुन जी बाहेक यी तीनै जना नेता पछिल्लो नेपालमा राजतन्त्रको पक्षमा हुन्थेन । बीपी आफ्नो राजनीतिक दर्शनको आधारमा, गणेशमान जी राजाको नेतृत्वमा भएको अनवरत् दमनका कारणले र गिरिजा बाबु भने बिभिन्न राजाहरूले गरेको अपमान र छलका कारणले । राजसंस्थाका बारे किसुन जीको दृष्टिकोण अध्यात्मिक थियो, जुन उहाँले जीवन पर्यन्त राख्नु भयो । अहिले पुराना मंडलेहरू, नेपाली राजनीतिमा भारतको हस्तक्षेपका मुखर बिरोधीहरू र हालको राजनीतिक बेथितीका आलोचकहरू बीपी कोईरालाका बढी उद्धरणहरू प्रयोग गर्छन । राष्ट्रिय मेलमिलापका नीतिको चर्चा एवं अनुसंशा गर्दै, अहिले बीपी हुनु भएको भए राजासंग सहकार्य गरेर राष्ट्रियता जोगाउनु हुन्थ्यो-भन्ने गर्छन् । बीपीका यस्ता नव अनुयायीहरूले बजारमा बीपी साहित्यको बिक्री बढाएका छन् । तर, बस्तुत: तिनीहरू बीपीका बिचारबाट बेमतलबी जमातका हुन् ।

तर, यहाँ मेरो लेखनीको मतलब स्पष्ट छ; गिरिजा बाबु रणनीतिक र कार्यनीतिक आधारमा बाहेक कहिल्यै पनि राजाको पक्षमा रहनु भएन । आज धेरैले हेक्का राख्दैनन्, २०२६ सालमा गिरिजा बाबु जेलबाट रिहा भएपछि २०६२-०६३ सम्म कहिल्यै पनि राजाबाट धोका, छल र अपमान बाहेकको व्यवहार पाउनु भएन । यसको सविस्तार चर्चा अर्को लामो लेखको बिषय हुन सक्छ । अहिलेको प्रयोजन यति मात्र हो कि, नेपाली राजनीतिमा आफ्नो बिचार निर्माणको प्रारम्भिक काल देखिनै राजा र राजतन्त्रका बिपक्षमा रहनु भएको गिरिजा बाबुले जब मौका पाउनु भयो-राजालाई बिस्थापित गराउनु भयो ।

अहिले मानिसहरू राजालाई बिर्सिसके । राजाहरूका व्यवहार याद गर्न चाहदैनन् । झिनो रूपमा देखिइने रेशमी पर्दाका पछाडी राजाका तस्वीर झुण्ड्याएर राजाका गुणगान गर्छन । तर, सत्य तेस्तो हैन ।

मैले यहाँ तल इतिहासका दुईटा चिठ्ठीहरू पोष्ट गरेको छु। क्यान्सरबाट ग्रस्त बीपी कोईराला जेलबाट रिहा भएपछि बिदेशमा गई अपचार गराउन चाहनु हुन्थ्यो। यसर्थ, राहदानीका लागि तत्कालिन राजकीय परिषदका अध्यक्ष रहेका बीरेन्द्रका सामु निवेदन गर्नु भएको थियो, २०२७ सालमा। बीरेन्द्रले मानवीय रूपमा राहदानी दिन इन्कार गरेको प्रत्यूत्तर पत्रको कपी पनि यहाँ पोष्ट गरेको छु। पढन सकिन्छ, पढनेले पढेपछि थाहा पाउछन् नेपालमा जनप्रिय भनी चिनिएका राजाको के अतित थियो। यस्ता धेरै दस्तावेजहरू प्रकाशित-अप्रकाशित छन्। राजनीतिक घटनाक्रमहरूलाई स्मृति वा विस्मृतिमा राख्नेहरू जो जीवित छन्-कयौं घटनाहरूका साक्षी छन्। राजाहरू कस्ता रहे....!

(पूर्वमन्त्री जयप्रकाश आनन्दले आफ्नो  फेसबूकमा पोष्ट गरेको ऐतिहासिक घटनासँग सम्बन्धित सामग्री)

ताजा खबर