जोगिएला त कोइराला निवास ?

२०७४ भदौ २८ बुधबार १४:०३:०० मा प्रकाशित

काठमाडौं ।  जुझारु, अडानमा रहने अनि कुशल संगठनकर्ताका रुपमा चिनिएका तत्कालीन कांग्रेस सभापति र पटक–पटक मुलुकको प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला राजधानीको व्यस्तताबाट केही समय मुक्त हुन पुख्र्यौली थलो विराटनगर पुग्थे । सत्तामा रहँदा होस् वा नरहँदा, उत्तिकै ओजपूर्ण व्यक्तित्व भएका कोइराला विराटनगर पुग्नासाथ निवासमा मेलै लागेसरह भीड लाग्थ्यो ।

कोइरालाको एउटा स्वभाव सधैं चर्चामा रह्यो । राष्ट्रिय राजनीतिमा अनेक तरंग ल्याउने खालका अभिव्यक्ति दिनुपर्ने बेलामा उनी विराटनगर पुग्थे । निवासमा भेला भएका स्थानीय सञ्चारकर्मीमार्फत् आफ्ना अभिव्यक्ति दिन्थे । यस्तो बेला विराटनगर र खासगरी कोइराला निवासमा सारा देशको ध्यान केन्द्रित हुनेगथ्र्याे ।

लामो संघर्षपूर्ण राजनीतिक इतिहासको ज्यूँदो साक्षीका रुपमा रहेको ऐतिहासिक कोइराला निवासमा उतिबेला जस्तो आकर्षण थियो, अचेल छैन । त्यतिबेलाकै जस्तो त नहोला, तर यसलाई स्याहार गरेर एउटा गतिलो संग्रहालयका रुपमा बिकास गर्न सकिने थियो । तर यसो हुन सकेको छैन । बरु बिस्तारै यसको अस्तित्व नै मेटिने हो कि भन्ने चिन्ता व्याप्त हुन थालेको छ ।

राजनीतिक दृष्टिले दर्शनीय स्थल बन्न सक्ने विराटनगरस्थित कोइराला निवास ओझेलमा पर्दै गएको छ । मुलुकले पाएका तीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसादले बनाएको उक्त निवासलाई संग्रहालयका रुपमा बिकास गरिनुपर्ने आवाज व्यापक रुपमा उठ्दै आए पनि यसमा कसैले पहल गरेको छैन ।

संग्रहालय बनाउनुको साटो निवास रहेकोसहित करिब एक बिघा १६ कट्ठा जग्गा अशंबन्डा गरी टुक्र्याइएको छ । कांग्रेसको मोरङ जिल्ला समितिले एक बेला किनेर संरक्षित गर्न खोज्दा यसमा कसैले चासो नदिएको विराटनगरका एकजना कांग्रेसका पुराना नेता बताउँछन् । वीपीपुत्रहरु प्रकाश, श्रीहर्ष, शशांक र छोरी चेतनाले आफ्नो भागमा परेको जग्गा बेचिसकेका छन् । अरु जग्गा पनि धेरैजसो बिक्री भइसकेको कोइराला परिवार स्रोतले जनाएको छ ।

गिरिजाप्रसादकी भाउजू नोना कोइरालाको निधनपछि निवास सुनसान बन्दै आएको थियो । परिवार र घरको समेत रेखदेख गर्ने ‘उमा दिदी’ को पनि निधन भएपछि यो ऐतिहासिक धरोहरको स्याहार हुनै छाडेको छ । आफ्नो जीवनकालको अन्तिम समयतिर गिरिजाप्रसादले निवासलाई संरक्षण गरी संग्रहालयका रुपमा स्थापित गर्ने इच्छा प्रकट गरेको सार्वजनिक भएको थियो । तर उनको निधनपछि त निवास झन् बेस्याहार बनेको छ ।

पहिले शैक्षिक वा अरु कुनै उद्देश्यले भ्रमणमा आउने प्रशस्तै समूहहरु सोधखोज गर्दै कोइराला निवास पुगेर अवलोकन गर्ने गर्थे । तस्बिर खिचेर लैजान्थे । अचेल पनि यो क्रम जारी छ । तर अवलोकनका लागि आउनेहरुलाई यथेष्ट जानकारी दिने अनि ऐतिहासिक कुराहरु थाहा पाउने गरी व्यवस्थित रुपमा राख्ने व्यवस्था नभएकाले भ्रमणकर्ताहरु खिन्न बन्ने गरेका छन् ।

पहिले कोसी अञ्चल अस्पतालबाटै प्रष्ट देखिने कोइराला निवास अचेल त आसपास क्षेत्रमा बनेका ठूला पक्की घरहरुले घेरिएको छ । निकै अघि पुगेको कोही मानिस यतिबेला निवास खोज्दै गए सोधेर मात्र पत्ता लगाउन सक्ने अवस्था भएको छ ।


(फायल तस्बिर : कोइराला निवासमा तस्बिर खिच्दै भ्रमणमा आएका सर्बसाधारण ।)
 

ताजा खबर