मान्छेहरूले दूध पिउन थालेको भेटियाे सबैभन्दा पुरानो प्रमाण

२०७६ भदौ २५ बुधबार ११:४४:०० मा प्रकाशित

मानवजातिले दूध सेवन गर्ने गरेको सबैभन्दा पुरानो र स्पष्ट प्रमाण वैज्ञानिकहरूले फेला पारेका छन् । ब्रिटेनमा प्रागैतिहासिक कालमा बसेका किसानका दाँतमा भेटिएको टाटोमा दूधमा हुने प्रोटीन भएको प्रमाणित भएको छ ।

यसको अर्थ मानिसहरू छ हजार वर्षअघि देखि नै दुग्धपदार्थ सेवन गर्थे । तर त्यति बेला उनीहरू दूधमा हुने ल्याक्टोज पचाउन सक्दैनथे । त्यसैले सोझै दूध सेवन नगरेर उनीहरूले दूधबाट दही, चीज वा अन्य फटाएर अरू केही परिकार बनाउने गरेको सम्भावना देखिन्छ । दूध फटाउँदा ल्याक्टोजको मात्रा घट्ने र स्वादिलो पनि भएको हुन सक्छ ।

यो अनुसन्धान गर्ने समूहका सदस्यले दाँतको टाटा खुर्किएर त्यसमा भएका विभिन्न रासायनिक तत्त्व छुट्याए। पछि ती तत्त्वको म्यास स्पेक्ट्रमट्री विधि प्रयोग गरेर विश्लेषण गरियो । त्यसो गर्दा उनीहरूले नीअलिथिक काल अर्थात् नवपाषाणयुगका सात जनाको दाँतबाहिरको सतहमा बीट-ल्याक्टोग्ल्योब्युलिन (बीएलजी) नामक दूधमा मात्र पाइने प्रोटीन फेला पारे ।

उक्त अध्ययन आर्कीअलोजिकल एन्ड एन्थ्रपलोजिकल साइअन्सेज को नयाँ अङ्कमा प्रकाशित भएको छ । अध्ययनमा सहभागी वैज्ञानिक एवम् शोधकी सहलेखिका डा. सोफी चार्ल्टनका अनुसार दाँतका टाटाको प्रोटीन विश्लेषण गर्ने विधि नयाँ हो । उनी यूनिभर्सिटी अफ योर्क विश्वविद्यालयसँग आबद्ध छिन् । उनी भन्छिन्, "पहिला पनि केही अध्ययन भएका छन् । तर प्राय: ती प्रागैऐतिहासिक सामग्रीमा नभएर ऐतिहासिक तथा पुरातात्त्विक सामग्रीमा हुन्थे ।" बीबीसी

ताजा खबर