‘सरकार सेवा गर्नेलाई धन्यवाद समेत दिँदैन’ मधुसुदन शर्मा रिजाल 

२०७४ भदौ २७ मंगलबार १३:०७:०० मा प्रकाशित

लायन्स क्लब इन्टरनेशनल स्थापनाको सय बर्ष पुगेको छ । नेपालमा पनि चार दशकदेखि यो क्लब सक्रिय छ ।  सामाजिक सेवामा नाम कमाएको यो क्लबका नेपालमा चारवटा डिष्ट्रिक्ट रहेका छन् । त्यस मध्येको एउटा डिष्ट्रिक्ट हो ‘डिष्ट्रक्ट ३२५ बि २ ’ र यसका गभर्नर हुन् मधुसुदन शर्मा रिजाल ।

नेपालगञ्जमा रहेर सामाजिक क्षेत्रमा सक्रिय ५६ वर्षीय  रिजाल दुई दशकदेखि लायन्स क्लव इन्टरनेशनलका माध्यमबाट सामाजिक कार्यमा संलग्न छन्। उनीसँग सरल पत्रिकाका कार्यकारी सम्पादक भोजराज न्यौपानेले नेपालमा लायन्स क्लवको सन्दर्भमा गरेको वार्ताको सार:

तपाईको गभर्नरशिपमा नयाँ के हुँदैछ ?

पहिलो कुरा  यो इन्टरनेशनल क्लबलाई नेपालको  कानुन अनुसारनै  संस्थागत गर्नुपर्छ भनेर काम गरिरहेको छु । त्यसैगरी हामीले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ को नाममा  आपतकालिन कोषको स्थापना गरेका छौं । यो कोषको स्थापनाका लागि म, फस्ट गभर्नर सुनिल ओझा र सेकेन्ड गभर्नर अनुप पहारीले रुपमा दुइ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छौं । त्यसैगरी नेपाल लायन्स फाउन्डेसन नामको फण्ड छ । त्यसलाई अझै व्यवस्थित गर्ने योजनामा छु ।

अर्को छ, लिडरशिप एकेडेमी बनाएर लिडरशिपलाई पनि संस्थागत गर्ने तयारीमा छु । सदस्यता बृद्धि र तिनको पनि उचित व्यवस्थापन र संस्थागत गर्ने काम भैरहेको छ ।

क्लवहरु बन्द हुने क्रमलाई रोक्ने योजना के छ ?

काम  चैं गर्ने तर ब्राण्डिङ्ग गर्ने काम भएन । कुन क्लबले आफ्नो मेजर काम के गर्ने भन्ने कुरामा ध्यान दिनु पर्छ भन्ने मेरो धारणा छ । क्लबले आफ्नो ब्राण्ड आफैंले बनाउनु पर्छ । आफ्नो मेजर कामलाई प्राथमिकता दिनुस् भनेको छु । मुख्य कुरा त सर्भिस नै हो । सेवामा समर्र्पित हुँदै जाँदा क्लवहरु बन्द हुने क्रम स्वत कम हुँदै जानेछ ।

 अन्य एनजिओ र लायन्स क्लव इन्टरनेशनलमा फरक के छ ?

अरुको विषयमा त म केही भन्न चाहन्न । तर लायन्स क्लवमा सवै सदस्य साथीहरुले आफैंले कमाएको पैसाबाट सेवामा खर्च गर्ने परम्परा छ, हामी त्यही गरिरहेका छौं । कमाएको रकम मध्येबाट केही सामाजिक सेवामा खर्च गर्ने , दान गर्ने संस्कृतिबाट लायन्स क्लब इन्टरनेशनल संचालित छ । हामी अरुसँग मागेर काम गर्दैनौं । हाम्र्रो आफ्नै फण्ड छ । सभा सम्मेलनमा आफ्नै पैसा खर्च गर्छौं । हामीले क्लबको प्रशासनिक खर्च समेत आफ्नै गोजीबाट गर्ने गरेका छौं ।

सेवामुखी भन्ने तर सेवामा भन्दा बढी आफैं खर्च गर्ने भन्ने आरोप पनि लाग्छ नि तपाईहरुलाई ?

लायन्स क्लवमा आवध्द साथीहरु भन्दा धेरै धनी मानिस पनि छन् । तर उनीहरु लायन्स सदस्य बन्न सक्दैनन् ।  लायन्स क्लबमा सवै आफ्नै पैसा खर्च गर्नु पर्छ । सवैले त्यसो गर्न सक्दैनन् । भलै कोही मन भएर पनि नसक्ने होलान् । कोही धन भएर पनि नसक्ने होलान् । तर तपाईँले भनेजस्तो भने होइन । सेवामा नै बढी खर्च भैरहेको छ ।

विपद्का बेला स्तस्फुर्त सेवा गर्ने भनी चिनिएको लायन्स क्लवप्रति सरकारी निकाय किन उदासिन देखिएका त ?

सरकारी सोचमा परिवर्तन हुन नसकेको जस्तो लाग्छ । कुनै एनजिओले दिएको ५० हजारको पनि सरकारले निकै ठुलो विज्ञापन गर्छ । तर, लायन्स क्लबका साथीहरुले ठुलो रकम बाढी पहिरो, भूकम्प जस्ता प्राकृतिक संकटका बेला  सहयोग गर्दापनि उहाँहरुलाई धन्यवाद समेत दिँदैन ।

भूकम्प पीडितका एक हजार वटा घर बनाई दिने लायन्स क्लवको योजना थियो । कहाँ पुग्यो त्यो योजना ?

हामीले ठाउँ उपलव्ध गराई दिनुस् हामी एक हजार वटा घर बनाएर हस्तान्तरण गर्छौं भन्दा नेपाल सरकारले ठाउँ उपलव्ध गराएन । उल्टै हामी आफैं बनाउँछौ  पैसा नै दिनुस् भनेपछि हामीले नेपाल सरकारलाई पैसा दिन अस्वीकार ग¥यौं । त्यसो भए हामीले स्कुल बनाई दिन्छौं भनेर माग ग¥यौं । अहिले हामी १७ करोड बराबरको रकम स्कुलको पुननिर्माणमा खर्च गरिरहेका छौं । हाम्रो डिष्ट्रिक्टले ललितपुर जिल्लामा भत्किएका स्कुलको पुननिर्माण सुरु गरेका छौं । सरकारले उपलव्ध गराएका अरु ठाउँमा पनि यो काम भैरहेको छ ।

 दुःखको बेला लायन्स क्लवले सहयोग गर्छु भन्दापनि सरकारले नै किन नमानेको होला त ?

नेपालभित्र कुन शीर्षकमा कहाँबाट कति कति पैसा आएको छ भनेर सरकारले एउटा नियम बनाउन खोजेको होला, त्यो त स्वागत योग्य छ । तर, सरकारले आफ्नो कार्यशैलीलाई जिम्मेवार बनाउन जरुरी छ ।

लायन्स क्लबका माध्यमबाट नेपालमा गरिएका महत्वपूर्ण कामहरु के के हुन ?

मिजल्स रुवेला, आँखाको क्षेत्रमा, भैरहवामा भएको आँखा अस्पतालमा डिग्री पढाउने सन्दर्भमा , अस्पताल जस्ता धेरै क्षेत्रमा काम गरिरहेका छौं । क्लव स्थापनाको सय बर्ष पुगेको उपलक्ष्यमा अरु थप कार्ययोजनाहरु बनिरहेका छन् ।

तपाईको कार्यकालमा यहाँले प्राथमिकता दिनु भएको  काम चाहिं के हो ?

यो वर्ष लायन्स क्लव इन्टरनेशनलले डायबिटिजको कार्यक्रमलाई फोकस गरेको छ । त्यो वाहेक अरु कामहरु त पाइपलाइनमा छँदैछन् ।

नेपाल सरकारबाट के अपेक्षा गर्नु भएको छ ?

हामी आफ्नै बुताले भ्याएसम्म समाजमा केही गरौं भनेर आफ्नै खर्च गरेर काम गरिरहेका छौं । हाम्रो डिष्ट्रिक्टमा मात्रै ८ हजार सदस्य छन् । नेपालभरिमा २६ हजार सदस्य छन् । यति ठूलो शक्तिलाई सरकारले अपनत्व महसुस गराउनु पर्छ । सरकारले अहिले नीजि क्षेत्रका केही मुनाफा योग्य कम्पनीहरुलाई सामाजिक जिम्मेवारी अन्तर्गत नाफाको एक प्रतिशत सामाजिक काममा खर्च गर्नैपर्ने प्रावधान छ। यो स्वागतयोग्य छ । यस्ता कम्पनीहरुसँग लायन्स क्लवसँगै हातेमालो गरेर अघि बढ्न तयार छ । 

ताजा खबर