‘गुलाबी उमेर’ लिएर आए अमर

२०७६ भदौ २२ आइतबार ११:१५:०० मा प्रकाशित

काठमाडौं । चर्चित कृति ‘सेतो धरति’ का लागि मदन पुरस्कार विजेता अमर न्यौपानेको नवीनतम कृति ‘गुलाबी उमेर’ बजारमा आएको छ । लोकप्रिय आख्यानकार कृष्ण धरावासी र कलाकार केकी अधिकारीसहित लेखक अमरले यो नयाँ कृति शनिबार संयुक्त लोकार्पण गरेका हुन् ।

 प्रज्ञा प्रतिष्ठानको डबलीमा परम्पराभन्दा फरक शैलीमा   लोकार्पण भएको ‘गुलाबी उमेर’ नेपाली साहित्यकै नौलो कृति भएको मदन पुरस्कार बिजेता धरावासीले टिप्पणी गरेका छन् । धरावासीले भने– ‘गुलाबी उमेर’ पुस्तक किशोर मनोविज्ञानमा आधारित रहेर लेखिएको छ । यो समयमा किशोरीहरुको मनोविज्ञान कसरी विकास हुन्छ, वर्षैपिच्छे उनीहरुको व्यवहारमा कसरी परिवर्तन आउँछ र उनीहरुले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन्, त्यो देखाउने प्रयास यो नयाँ कृतिले गरेको छ ।’

धरावासी ‘गुलाबी उमेर’ पुस्तकमा फ्रायडले प्रतिपादन गरेको इलेक्ट्रा कम्प्लेक्सलाई लेखकले चित्रण गरेको मान्छन् । उपन्यास लेखनमा केही नवीनता रहेको र प्रत्येक अध्यायको उपसंहारका रुपमा अर्को पाठक खडा गरिनु पनि नौलो अभ्यास रहेको उनले सुनाए । नेपाली साहित्यमा किशोर साहित्यको अभाव रहेको र त्यसलाई पूर्ति गर्न ‘गुलाबी उमेर’ले सघाउने धरावासीको विश्वास छ ।

कलाकार केकी अधिकारीले ‘गुलाबी उमेर’ आफूलाई एकदमै फरक शैलीको अनुभव भएको बताईन् । उनले भनिन्– ‘पुस्तक पढिरहँदा मलाई आफैं किशोरवयमै फर्किएको अनुभूति भयो । मलाई लाग्छ, यो पुस्तकमा प्रत्येक किशोरीले आफूलाई भेटाउँनेछन् भने महिलाहरुले आफ्नो किशोरावस्थाका घटनापरिघटनालाई सम्झन्छन् ।’

  लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीहरुले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको अनुभव सुनाए । न्यौपानेले भने– ‘मैले भनेर गृहकार्य दिएँ, उनीहरुले नभनेरै गृहकार्य दिए । यो उपन्यास विद्यार्थीहरुले दिएको त्यही गृहकार्य हो ।’


  लेखक न्यौपानेले एउटी किशोरीको हुर्कंदो उमेरको कथालाई कलात्मक शैलीमा अनौठो पाराले प्रस्तुत गरेका छन् । जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथालाई आकर्षक र सूत्रवध्द तरिकाले संयोजन गरिको छ । यही उमेरको कथालाई नै ‘गुलाबी उमेर’ को नाम दिएका छन् अमरले ।

लेखक न्यौपानेले उमेरको अवधि तोक्न पनि रोचक सूत्र प्रयोग गरेका छन् । जसलाई उनले पाँच भागमा छुट्याउँदै जन्मदेखि १२ वर्षसम्म पल्लवी, १३ देखि १९ वर्षसम्म गुलाबी, २० देखि ४० वर्षसम्म मखमली, ४१ देखि ६० वर्षसम्म बैजनी र ६१ देखि मृत्युपर्यन्तको समय अवधिलाई अस्मानी उमेरका रुपमा प्रस्तुत गरेका छन् । 

लोकार्पण लगत्तै समारोहमा सहभागी साहित्यप्रेमीले ‘गुलाबी उमेर’को नयाँ प्रति हातपार्न र त्यसमा लेखकको हस्ताक्षर लिन निकै बेर प्रतिक्षा गर्नुपरेको थियो । 

 
 

ताजा खबर