आयरल्याण्डमा सुनिए कवि सुमन

२०७४ भदौ २६ सोमबार १४:१२:०० मा प्रकाशित

'घाँटी भिजाउने पानी मात्रै भईदिएको भए,
जुनकिरी जत्तीको प्रकाश मात्र भईदिएको भए,
म भुईचालोले भत्काएको
घरको भग्नावशेष भित्र
ईनारमा रहेका कछुवा जस्तै
सयौं वर्ष जिईदिन्थें ।' 

कवि सुमन घिमिरेले 'भग्नावशेष भित्रबाट' कविताबाट माथिका हरफहरु सुरु गर्दा आयरल्याण्डमा रहेका कविता प्रेमीहरु मन्त्रमुग्ध भएका थिए । महाभूकम्पको सेरोफेरोमा लेखिएको उक्त कविता सुनाई रहँदा फेरि एक पटक त्यो दुखद क्षणको सम्झना गराएको थियो । कवि सुमनले डब्लिनको फिनिक्स पार्कमा आयोजित कार्यक्रममा दसवटा कविता सुनाएका थिए। दशैंको  मुखमा, मनमाया र प्रेम पत्र, नामसारी, बा(मेरो अनि छोरीको, तिमी मौनता र बर्रो,बाको चिन्ता, भत्केको घर र साँघुरा पसलहरु,मृत्यु समाचार र छोरी र भर्चुअल सन्सार कविता सुनाएका थिए ।

बेलायत  तथा आयरल्याण्डका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीले सुमनका कविताहरुले बिदेसमा बस्ने नेपालीहरु र नेपालमा बस्ने नेपालीहरुलाई जोड्ने सेतुको काम गरेको बताए।  कवि दुबसु क्षेत्रीका उपनामले परिचित सुबेदीले सुमनका कविताहरु सुन्दा नेपालको परिवेश र परिस्थितिलाई बुझ्न पाइएको बताए। बिदेशमा रहेर नेपालीले भाषा र साहित्यका यस्ता कार्यक्रम गर्नुका साथै आफ्ना सन्तानहरुलाई पनि नेपाली बोल्न र लेखाउन सिकाउनुको साथै आफ्नो सन्स्कृति र संस्कारहरु सिकाउन आव्हान गरे।

कार्यक्रमका सन्चालक समेत रहेका डम्बर सिंहले कवि सुमनलाई कविता वाचनमा साथ दिदैं ूनामसारीू कविता वाचन गरेका थिए । कार्यक्रममा नेपाल आयरल्याण्ड समाजका अध्यक्ष दिपेशमान शाक्य, गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नवराज कोइराला,गैरआवासीय नेपाली संघका आइसिसि सदस्य राजन काफ्ले लगायतको उपस्थिति थियो ।  नेपाल आयरल्याण्ड  समाज र गैरआवासीय नेपाली संघ आयरल्याण्डको संयुक्त्त आयोजनामा एकल कविता वाचन आयोजना गरिएको थियो ।
 

ताजा खबर