‘राजनीतिक दल र नेता असान्दर्भिक हुँदै गए’ 

२०७६ भदौ २० शुक्रबार १६:१२:०० मा प्रकाशित

काठमाडौं । वीपी कोइरालाका ज्येष्ठ पुत्र तथा राजनीतिज्ञ प्रकाश कोइरालाले वर्तमान अवस्थामा नेपालले उपयुक्त नेतृत्व पाउन नसकेको बताएका छन् । मूलधारका राजनीतिक दल र नेताहरुको प्राथमिकतामा देश पर्न नसकेको बरु सबैलाई सत्तासुख र व्यक्तिगत महत्वाकांक्षाको मात्र चिन्ता रहेकोले नेपाल दिनदिनै संकटको भुँमरीमा पर्दै गएको धारणा कोइरालाले व्यक्त गरेका छन् ।

 उनले चेतावनीको शैलीमा भनेका छन्–‘नेपालको भविष्य कि त असाध्यै डरलाग्दो हुनेछ,सही नेतृत्व पाउन सकेमा सामान्य भएर जान पनि सक्छ ।’ आमनिर्वाचनपछि गठित दुइतिहाईको सरकारको प्रभाव, प्रमुख प्रतिपक्षको भूमिका र विश्व तथा दक्षिण एशियाको राजनीतिक घटनाक्रमको गहिरो विश्लेषण गरिरहेका नेता कोइरालाले आफ्नै देश नेपालको भविष्यबारे यस्तो निचोड निकालेका छन् । नेताहरुले देशको स्थायी सत्य र अकाट्य वस्तुस्थितिलाई उपेक्षा गर्दै ‘गलत बाटो समातेर अक्षम्य गल्ति गरेकाले यस्तो अवस्था आएको’ नेता कोइरालाको ठम्याईँ छ । 

नेपालको मुख्य चुनौति भनेको आफ्नो अस्तित्वको रक्षा गर्नु हो भन्ने नेता कोइरालाको निचोड छ । तर यस बिषयमा प्रजातन्त्र स्थापना र पुनस्थापनापछिका कुनै पनि नेता गम्भीर नभएको र यसलाई प्राथमिकता समेत नदिएको उनको भनाई छ । 

  सरल पत्रिका प्रतिनिधिसँगको लामोे कुराकानीमा नेता कोइरालाले भने– ‘नेपालको मुख्य समस्या (चुनौति) भनेको “एक्जिस्टेन्सीयल” नै हो, र यो नै स्थायी समस्या पनि हो । अनिमात्र आर्थिक,राजनीतिक र शान्ति जस्ता बिषय आउँछन् ।’ तर कुनैपनि दलले यसलाई राम्ररी सम्बोधन गर्न नसकेको हुनाले सबै दलहरु असान्दर्भिक हुँदै गएको कोइरालाको भनाई छ । 
  उनी भन्छन्– ‘देशको समस्या एउटा छ उनीहरु (दल र नेता) अन्य कुरामा अल्झिएका छन् । चाहे सत्तारुढ दल नेकपा होस्,या प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस या अरु दलहरु नै किन नहुन्,सबै नै मुख्य बिषयप्रति उदासीन छन् र तपसीसलका कुरामा अल्मलिएका देखिन्छन् ।’

  नेता कोइरालाका भनाईमा, देशको मुख्य मुद्दाको पहिचान गर्न र त्यही अनुसारको कुटनीतिक र राजनीतिक कदम चाल्न नेताहरु असमर्थ भएकाले नै छिमेक र विश्व मञ्चमा नेपालको उपस्थिति कमजोर हुँदै गएको छ र विश्वसनियता पनि गुम्दै जाने खतरा बढेको छ ।

कश्मिर सन्दर्भ

    हालै भारत सरकारले कश्मिरको पूर्व सम्वैधानिक प्रावधान खारेज गर्दै केन्द्रीय शासन अन्तर्गत ल्याएको घटनाबारे कोइरालाको आफ्नै विश्लेषण रहेको छ । यसबारे नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जनाएको प्रतिक्रियामा उनको समर्थन रहेको छ । मन्त्री ज्ञवालीले कश्मिरबारेका निर्णय भारतको आन्तरिक मामिला हो भनेका   थिए । उनले यसैसाता माल्भिसमा रहँदा सम्वाददातहरुसँग पनि यही धारणा दोहोर्याएका छन् ।

तर नेता कोइराला आश्चर्य मान्दै प्रश्न गर्छन्– ‘नेपाल सरकारले काश्मिर मुद्दामा यसरी बोल्ने आँट कहाँबाट गर्यो ?’ सार्क राष्ट्रको वहालवाला अध्यक्ष रहेको हैसियतले पनि नेपाल चूप लागेर बस्न नमिल्ने अवस्था रहेकाले मात्रै परराष्ट्रमन्त्रीले आफ्नो स्ट्याण्ड देखाएको हुनसक्ने बताउँदै कोइरालाले ‘यस्तो वाध्यता नपरेको भए नेपाल नबोलीरहन पनि सक्थ्यो’ भने ।

      कश्मिर प्रसंगमा कोइरालाको विश्लेषण छ, ‘सार्क राष्ट्रका सदस्य छिमेकीमध्ये भूटान र बंगलादेशले मात्र भारतको समर्थनमा प्रष्ट अडान देखाएका छन् भने श्रीलंकाले मझधारमा उभिएर बोलेको छ । पाकिस्तान त परम्परागत विरोधी भैगयो र यसमा पनि कश्मिरकै दावीलाई लिएर दशकौंयता भारत र  पाकिस्तानवीच चर्को द्वन्द चलिरहेकै छ । अरु छिमेकी र ठूला शक्ति राष्ट्रका पनि मिश्रित आलोचनात्मक भनाईहरु आईरहेका छन् । तसर्थ प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारका लागि कश्मिरको आकस्मिक कदम निकै जोखिमपूर्ण हुनपनि सक्ने देखिन्छ ।’

सिक्किम विलयको प्रसंग

     विगतमा बंगलादेश पाकिस्तानबाट अलग्याईए लगत्तै आकस्मिक रुपमा सिक्किम आफूमा गाभेको भारतले काश्मिरमा चालेको कदमपछि भविष्यमा के गर्छ भनेर सतर्कतापूर्वक नियाल्नुपर्ने अवस्था रहेको पनि नेता कोइरालाको भनाई छ । उनले यसै प्रसंगमा सिक्किमको भारतमा विलयपछि आफ्ना पिता तथा नेपाली कांग्रेसका संस्थापक वीपी कोइराला नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि राजासँग मिलेर काम गर्ने निर्णयसाथ भारत निर्वाशनबाट स्वदेश फर्किएको ऐतिहासिक घटनाको महत्व अरु नेताले नबुझेको वा बुझ्न नचाहेको बताए । उनले भने– ‘वीपीले देशको यथार्थ अवस्था बुझेर अत्यन्त परिपक्व कदम चाल्नु भएको थियो,नेपालको स्थायित्वका लागि आवश्यक पक्षहरुबारे उहाँ प्रष्ट हुनुभएको थियो स्वदेश फर्कँदा । तर उहाँको यो राजनीतिक कदम र यसको दीर्घकालिन महत्व नबुझी निर्णयहरु गर्दै जाँदा देशले समस्याहरु सामना गर्नुपरेको हो ।’

भारतको नयाँ सत्ता र नेपाल प्रसंग

विश्व राजनीतिक घटनाक्रम र क्षेत्रीय राजनीतिक परिस्थितिको गहन अध्ययन गरिरहने नेता कोइराला यता आएर एउटा बिषयमा ठोकुवा नै गर्न थालेका छन् । उनको दावी छ– ‘नेपालमा राजसंस्था पुनस्थापित हुन्छ, हुन्छ र हुन्छ । यो नेपालको त आवश्यकता हुँदै हो तर नेपाललाई भन्दा पनि ज्यादा आवश्यकता छिमेकी चीन र भारतलाई छ ।’ 

यो यथार्थ कुरा नबुझेर सत्तारुढ दलका शीर्ष नेताहरु अपरिपक्व प्रतिक्रिया जनाउँदै आत्तिएको अवस्थामा तिक्तता पोखिरहेको उनको टिप्पणी छ । कोइरालाले संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतृत्व वर्गलाई पनि यस कुरालाई समयमै गम्भीर रुपमा बुझ्न सुझाव दिएका छन् ।   
 

ताजा खबर