काङ्ग्रेसमा को बढी आधिकारिक, बिमलेन्द्र कि शशांक ?

२०७६ भदौ २० शुक्रबार १०:२०:०० मा प्रकाशित

१.महामन्त्री शशांक कोइरालाको उपस्थितिमा उनलाई समेत लक्ष गरेर काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले काङ्ग्रेसले हिन्दु राष्ट्रको एजेण्डा नबोक्ने र उनको उक्त कुरा फाइनल हो भनेर ठोकुवा गरेको पढ्न पाइयो।

२.उनले बुझेकै हुनुपर्ने कोइराला निर्वाचित महामन्त्री हुन् र निधि मनोनित उपसभापति ! अझ कोइराला निर्वाचित सांसद हुन् र त्यसैले जन प्रतिनिधि पनि हुन् !

३.संगठनहरूमा उपसभापतिको पद आलंकारिक मात्रै हुन्छ र महामन्त्री कार्यकारी अधिकारी हुन् ! संगठनहरूका मेरुदण्ड भनेकै महामन्त्री वा महासचिव हुन्– त्यसैले हरेक आधारमा कोइराला निधि भन्दा बढी आधिकारिकता राख्दछन्।

४.काङ्ग्रेसमा देउवा मात्रै कोइराला भन्दा बढी आधिकारिकता राख्दछन् र कोइरालाका कुनै कुरा खण्डन गर्नु परे त्यो अधिकार सभापति देउवाले मात्रै राख्दछन्।

५.थोरै आधिकारिकता राख्नेले धेरै आधिकारिकता राख्नेलाई चुनौती दिने अनुशासनहीन र मर्यादाहीनहरू धेरै भएकैले काङ्ग्रेस आजको स्थितिमा छ।

६.सुशील कोइराला र कृष्ण सिटौलाले मृत्युसैयामा रहेका गिरिजा प्रसादलाई लक्ष गरेर काङ्ग्रेसको विधान संशोधन गरेर सभापतिको अधिकारमा व्यापक कटौती गरे।

पछि उनै सुशील कोइराला सभापति भए, कृष्ण सिटौला कोइरालाका मनोनित महामन्त्री– एउटा सन्दर्भमा सिटौलाले कोइरालाको कुनै भनाईलाई उनको निजी विचार भनेर ठोकुवा गरिदिए।

त्यस्तै स्थिति एउटा सन्दर्भमा देउवा र निधि वीचमा पनि आएको थियो।

७.काङ्ग्रेसको सबैभन्दा आधिकारिक निकाय भनेको महाधिवेशन हो र महाधिवेशन नहुँदा महासमिति। महासमितिले आफ्नो वैधानिक सङ्ख्याको बहुमतले काङ्ग्रेसले हिन्दु राष्ट्रको पक्षमा लाग्नुपर्ने प्रस्ताव गरेकोबारे जिम्मेवार मानिसहरूले सार्वजनिक रुपमा भनेको पढियो, काङ्ग्रेस नेतृत्वले त्यसलाई स्विकार्ने सङ्कल्प गर्यो तर के भयो भनिरहन परेन!

८.सुशील कोइराला,देउवा र शशांक कोइराला अरु धेरै कुरा होलान्,तर धुर्त होइनन्, कपटी होइनन्–सोझा नै हुन। अरू भन्दा बढी इमान्दार पनि हुन्।

९.त्यसैले उनीहरूले निधि र सिटौलाहरूबाट पाउने व्यवहार यही हो, यस्तै हो! अनि काङ्ग्रेस पनि यस्तै हो र यस्तै रहिरहन्छ।

(राजनीतिक विश्लेषक केशबप्रसाद भट्टराईको सान्दर्भिक टिप्पणी उनको फेसबूकवालबाट)
 

ताजा खबर