यसकारण भयो युट्युबमाथि १९ अर्ब रुपैयाँ जरिवाना 

२०७६ भदौ १९ बिहीबार १३:३२:०० मा प्रकाशित

काठमाडौ, १९ भदौ । बालबालिकाको गोपनियता उल्लंघन गरेको कसुरमा अमेरिकाले युट्युबमाथि १७० मिलियन डलर (झण्डै १९ अर्ब ५० करोड रुपैयाँ) जरिवाना लगाएको छ । 

संघीय व्यापार आयोगसमक्ष गल्ति स्वीकार्दै गुगलले उक्त रकम तिर्ने सहमति जनाएको छ । युट्युब गुगलको स्वामित्वमा रहेको कम्पनी हो ।  

युट्युबमाथि अभिभावकको अनुमतिबिना १३ वर्षमुनिका बालबालिकाको डेटा संकलन गरेको आरोप लागेको थियो । व्यापार आयोगका अनुसार युट्युबले त्यसरी संकलित डेटाको दुरुपयोगमार्फत बालबालिकालाई लक्षित गरी विज्ञापन प्रवाह गरेको थियो । युट्युबको उक्त कार्य बालबालिकाको अनलाईन गोपनियता सुरक्षण कानुनको विपरित गरेको आयोगले जनाएको छ । 

‘उक्त कसुरमा युट्युबलाई उन्मुक्ति दिन मिल्दैन,’ आयोगका अध्यक्ष जोए सिमन्सले भने। शुरुमा गुगलले आरोप अस्विकार गरे पनि आयोगले संकलन गरेका प्रमाणहरु गुगलको दाबीसँग बाझिएका थिए। आरोप पुष्टि भएसँगै गुगलले अब व्यापर आयोगलाई १३६ मिलियन डलर र न्यूयोर्क राज्यलाई ३४ मिलियन डलर जरिवाना तिर्नुपर्नेछ । 

व्यापार आयोगका सदस्य रोहित चोपडाले सुधारका लागि युट्युबले जनाएको प्रतिवद्धताप्रति पनि असन्तुष्टि जनाएका छन् । उनले भने, ‘युट्युबले नर्सरी राइम र कार्टुनमा पनि क्लिकबेट गराएको छ।’ आकर्षक शीर्षक राखी ‘प्रयोगकर्तालाई इन्टरनेट सामग्रीमा क्लिक गर्न प्रोत्साहित गर्नु’लाई प्राविधिक भाषामा क्लिकबेट भनिन्छ । युट्युबले हाल बालबालिकालाई लक्षित गरी छुट्टै ‘युट्युब किड्स’ एप विकास गरेको छ ।

ताजा खबर