प्रधानमन्त्रीलाई आराम गर्न देउ, विकल्प खोज

२०७६ भदौ १८ बुधबार १३:०६:०० मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली यतिबेला सिंगापुरमा उपचाररत छन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि  प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि पटक पटक सिंगापुरमा स्वास्थ्य परीक्षण गरिँदै आएको छ । यसपटक उनको मिर्गौलाको ‘एन्टिबडी’ उपचार भैरहेको बताईएको छ । यसैहप्ता सोमबार सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल छैटौंपटक प्लाज्माफेरेसिस गरिएको जानकारी प्रकाशमा आएको छ। यसपटकको परीक्षण सकेर प्रधानमन्त्री शनिबारसम्ममा स्वदेश फर्किने सम्भावना रहेको बताईएको छ ।

सिंगापुरमै उपचाररत प्रधानमन्त्री ओलीले दुइपटक त्यहीँबाट मन्त्रीपरिषद्को बैठकको अध्यक्षता गरिसकेका छन् । यद्यपि सरकारी प्रवक्ता यसलाई अर्कै अर्थमा बुझ्न सल्लाह  दिन्छन् । यसबारेमा बहस चलिरहेकै छ, प्रविधिको प्रयोग गर्ने नाममा मन्त्रीपरिषद्को बैठक नै त्यसरी गर्नु हुन्थ्यो कि हुँदैनथियो भनेर। कतिपयले राष्ट्रको गोपनीयताको प्रश्न समेत उठाईसकेका छन्।

१२ वर्ष अघि नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले यसवीच ठूलो राजनीतिक दौडधुप गरेको कुरा सबैलाई जानकारी भएकै बिषय हो। उनले त्यही अनुसारको उपलव्धि समेत हासिल गरिसकेका छन्। पार्टीको नेतृत्व लिनेदेखि दुइ–दुइ पटक प्रधानमन्त्री हुनेसम्मको उपलव्धि ओलीले हासिल गरिसकेका छन्। अझ दोस्रोपटक त दुइ विपरित धु्रवका कम्युनिष्ट पार्टीलाई एक गराएर दुइतिहाई बहुमत प्राप्त दलको सरकार प्रमुख नै बन्ने पहिलो वामपन्थी नेता बनेका छन्– ओली। एउटा राजनीतिक व्यक्तिको जीवनमा यो चानचुने उपलव्धि होइन।

प्रकाशमा आएका विवरण अनुसार, यतिबेला ओली गम्भीर स्वास्थ्य अवस्थाबाट गुज्रिरहेको बुझ्न सकिन्छ। उनको बलियो इच्छाशक्तिले मात्र धान्न कठिन हुनेगरी स्वास्थ्य अवस्था चुनौतिपूर्ण रहेको स्वास्थ्यविज्ञहरु बताईरहेका छन्। एकातिर दुइतिहाई बहुमतको प्रभावकारिता सिध्द हुन नसकिरहेको अवस्था र आफ्नै नेतृत्वमा उल्लेख्य काम गर्ने महत्वाकांक्षाको लामो तर अपूरो कार्यसूचि, यी दुइ कुराले पनि प्रधानमन्त्री ओलीलाई चर्को मानसिक दवाव पारिरहेको बुझ्न सकिन्छ। यसो हुनु अस्वाभाविक पनि होइन। इतिहासले उनलाई बलियो बहुमत र जनसमर्थन जुन उपलव्ध गराएको छ,यसको बढिभन्दा बढी उपयोग गर्न चाहनु कुनै पनि प्रधानमन्त्रीको स्वाभाविक महत्वाकांक्षा हो। प्रतिकूल स्वास्थ्य अवस्था र कार्यकारी कार्ययोजनाको चिन्ताले प्रधानमन्त्री ओलीलाई थप क्लान्त बनाईरहेको हुनसक्छ। यस्तोमा न त इच्छाशक्ति न ओखतिमूलो दुवैको टेवा प्रभावकारी हुन कठिन पर्नसक्छ।

त्यसैले प्रधानमन्त्री ओलीमाथि परिरहेको यस्तो दोहोरो चाप र तापलाई ध्यानमा राखेर नेकपाका नेताहरुले ओलीलाई आराम गर्ने सल्लाह दिनुपर्छ। उनलाई अभिभावकीय भूमिकामा रहन र कम्तीमा सरकार प्रमुखको दौडधुप व्यस्तताबाट अलग बस्न सुझाव दिनुपर्ने समय आएको छ। त्यसपछि उनकै सल्लाह सुझावमा सरकारको नेतृत्वमा विकल्प दिनुपर्छ। यो कुरा स्वयं प्रधानमन्त्री ओलीको हितमा छ भने देशले पनि यसको आवश्यकता महसुस गरिरहेको छ। यसमा अब विलम्व गर्नु कुनै किसिमले पनि वुध्दिमानी देखिँदैन। पूर्ण रुपले आराम गरी आफ्नो शरीरलाई पूर्ण स्वस्थ्य बनाउनु प्रधानमन्त्री ओलीको अधिकारको हो। उनलाई यसमा सहयोग उपलव्ध हुनुपर्छ र पूर्ण सफलता पनि मिल्नुपर्छ।

यसैवीच, नेकपाका महासचिव र  संगठन विभाग प्रमुख प्रधानमन्त्री ओलीसँग भेट्न सिंगापुर गएको खबर प्रकाशमा आएको छ। महासचिव बिष्णु पौडेल मंगलबार नै त्यता गएका छन् भने  संगठन विभाग प्रमुख बामदेव गौतम आज बुधबार गएका छन्। ओलीको इच्छा अनुसार, नेकपाका महत्वपूर्ण पदाधिकारी त्यता गएका छन्। यस अवसरमा सरकार,राष्ट्रिय राजनीति र सत्तारुढ दलभित्रकै हालखबरबारे छलफल र निर्देशन हुनसक्ने सम्भावना छ। साथै ओलीले आफ्नै भावी कदमबारे पनि यी दुइ निकटस्थ पदाधिकारी ‘कमरेडहरु’सँग परामर्श गर्नसक्छन्। उनले आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राखी राजनीतिक धपेडीबाट केही समय विश्राम लिने इच्छा व्यक्त गरे भने त्यो सबै दृष्टिकोणले उनको हितमा हुनेमा कुनै शंका छैन। त्यसपछि पार्टी र सरकारको नेतृत्वमा ओलीकै सल्लाह अनुसार विकल्प दिन नेकपाका नेताहरु तयार भए भने यो पनि ओलीकै सफलतामा गणना हुने छ।

यी सबै कुरा नेकपाको आन्तरिक मामिला हुन्। तर सरकारको नेतृत्व परिवर्तनको बिषय राजकीय भूमिका हो तसर्थ यसमा कुनै किसिमले पनि अवरोध अथवा शिथिलता आउनु उपयुक्त होइन। यसलाई मार्ग प्रशसस्त गर्न प्रधानमन्त्री ओली र उनको दल नेकपा सफल होउन्। प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभ होस्,सरकारको नेतृत्वमा उपयुक्त विकल्प चाँडै मिलोस् ।

शुभकामना !

 

ताजा खबर