वर्षाैँपछि पशुपति मन्दिरमा रङ्गरोगन तथा सरसफाइ

२०७४ भदौ २६ सोमबार ०६:१०:०० मा प्रकाशित

काठमाडौँ, २६ भदौ । वर्षौंदेखि रङ नलगाइएको पशुपतिनाथको मूल मन्दिरभित्रका ढुंगामा सफाइ गरी चम्काउन थालिएको छ । 

पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङको संयुक्त आयोजनामा पशुपतिनाथको मूल मन्दिरभित्र आइतबार देखि  सफाइ शुरु गरिएको हो । 

बिहान दर्शनार्थीको भीड हुने भएकाले दिउँसो १ बजेपछि भीड कम हुने समय पारेर सफाइ गरी रङ लगाउन थालिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । 
भक्तजनको भीड कम भएपछि दिउँसो १ः०० बजेदेखि राति ८ः०० बजेसम्म मन्दिरभित्रका ढुंगामा वर्षौंदेखि जम्मा भएको फोहर सफाइ यन्त्रले पुछेर पालिस लगाइएको उनले बताए । 

दिउँसो सफाइसहित रङ लगाएपछि अर्को दिन बिहान भक्तजनको भीड लाग्नुअघि सुक्ने भएकाले दिउँसोको समय रोजिएको कोषले जनाएको छ । यसअघि पशुपति मन्दिर बाहिर पनि यसैगरी सफाइ गरिएको थियो । मन्दिर बाहिर बेलुकी ८ः०० बजेदेखि राति २ः०० बजेसम्म सफाइ गरिएको थियो । मन्दिरभित्र बहुमूल्य गहनालगायत पुरातात्विक सम्पदाका चीजबीज भएकाले कोषको समेत संलग्नतामा सफाइसहित पालिस लगाउने काम शुरु भएको हो । 

कोषको कोषाध्यक्षमा थापा 

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषको कोषाध्यक्षमा ललितपुरका मिलनकुमार थापालाई चार वर्षका लागि नियुक्त गरेको छ । 

थापालाई भदौ १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । थापा तन्त्र विज्ञान नेपालका अध्यक्ष, दक्षिण एशियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद्का समेत उपाध्यक्ष हुन् । थापाले आइतबार कोषमा पद बहाली गर्दै पशुपति क्षेत्रको सुधारका ४१ बुँदे योजनाअघि सारेका छन् । रासस 
 

ताजा खबर