साहोमाथि आरोप : हलिउडको नक्कल गरिएको फिल्म

२०७६ भदौ १७ मंगलबार १३:४५:०० मा प्रकाशित

काठमाडौँ, १७ भदौ । बाहुबली फिल्मबाट संसारमा तहल्का मच्चाएका, नाम र दाम कमाउन सफल दक्षिण भारतीय कलाकार प्रभासको फिल्म ‘साहो’ ले अपेक्षित प्रशंसा पाउन सकेन । यसको प्रदर्शन शुरु भएदेखि नै फिल्म झूर, बकवास रहेको भन्ने खालका प्रतिक्रियाहरु फिल्म समीक्षकहरुले दिए । र, अब पछिल्लो क्रममा यो फिल्म कुनै मौलिक कथावस्तुमा आधारित रहेको नभई अंग्रेजी फिल्म ‘लार्जो विन्च’को नक्कल भएको आरोप लागेको छ ।

हलिउडको चर्चित फिल्म ‘लार्जो विन्च’ (ीबचनय ध्ष्लअज) को नक्कल हो भन्ने आलोचना सामाजिक सञ्जालहरुमा व्यापक भएपछि उक्त फिल्मका निर्देशक जरोम सलेले पनि प्रतिक्रिया दिएका छन् ।

उनले आफ्नो ट्वीटमा भनेको छन्ः यस्तो प्रतीत हुन्छ, लार्जो विन्चको यो दोस्रो निःशुल्क निर्माण पनि पहिलो जस्तै खराब छ । अतः तेलगु निर्देशकहरु, तपाईं मेरो कार्य चोर्नुहुन्छ भने कृपया त्यसलाई सही ढंगले गर्नुहोस् ।

जरोमले विना रिमेक अधिकार लिएर आफ्नो स्वतन्त्रताले फिल्मको नक्कल गर्ने कामलाई आफ्नो ट्वीटमा निःशुल्क निर्माण अर्थात् फ्रि मेक शब्द प्रयोग गरेका छन् । उनले एक प्रयोगकर्ताको ट्वीटलाई ट्याग गर्दै के पनि भनेको छन् भने, मलाई लाग्छ, भारतमा मेरो राम्रो करियार हुन सक्छ ।

त्यसो त खराब आलोचना हुँदा हुँदै पनि साहोले बक्स अफिसमा राम्रै कमाइ गरिरहेको बताइन्छ । फिल्म लन्च गरिएकै दिन यसले विश्वव्यापी रुपमा १०४ करोडको कमाइ गरेको थियो भने दोस्रो दिनमा यसले २०० करोडको कमाइ गरेको थियो ।

साहोको हिन्दी संस्करणले तेस्रो दिनमा २९.४८ करोड कमाइ गरेर जम्मा ७९.०८ करोड कमाइ गरेको थियो । कमाइको यो आँकडाले साहोलाई फिल्म समीक्षकहरुको खराब आलोचनाले खासै असर नपरेको देखिन्छ ।

चर्चित फिल्म समीक्षक तरन आदर्शले एक ट्वीट गर्दै साहोले बक्स अफिसमा आगो लगाएको प्रतिक्रिया दिएका छन् ।

ताजा खबर