बिजोक छ प्रधानमन्त्री ओहोरदोहोर गर्ने सडक 

२०७४ भदौ २५ आइतबार १२:५५:०० मा प्रकाशित

काठमाडौं, २५ भदौ । नारायण गोपाल चोक क्रस गरेर पूर्व पश्चिम जोडिएको चक्रपथ अरु सडक जस्तो सामान्य सडक होईन । सार्बजनिक सवारीको अधिक चाप त यो सडकले थेगिरहेकै छ । यसबाहेक धनाड्य,नवधनाड्य मात्रै होईन विशिष्ट र अतिविशिष्ट व्यक्तिहरु पनि  यही सडक भएर दिनहुँ ओहोरदोहोर गर्ने गर्छन् ।

 यो चोक पार गरेर उत्तरतिर गए भगवना विष्णुको दर्शन गर्न बूढानिलकण्ठ पुग्न सकिन्छ भने राजनीतिक शक्ति पीठको दर्शन गर्न घम्साघम्सी गर्नेहरु प्रधान मन्त्री शेरबहादुर देउवाको दरबारमा पुग्छन् । यसबाहेक अरु ससाना राजनीतिक र पर्दा भित्र र बाहिर बसेर श्याम श्वेत व्यवसाय गर्ने अनगिन्ति ससाना शक्ति केन्द्रहरु पनि यतै छन् ।

बुढानिलकण्ठ मात्रै होईन महाराजगंज चक्रपथ भएर कैयौं कुटनीतिक नियोग, अस्पताल , होटल र कलेज आवतजावत गर्ने हज्जारौं मानिस यसको नाजुक अवस्थाबाट प्रभवित भएका छन् ।

  राजधानीको व्यस्त र भीभीआइपी रोड मानिने यो सडकमा अहिले मेलम्ची आयोजनाले खनेको खाल्डाहरुका कारण हिलो र धुलोेले सबैलाई पिरोलेको छ । महाराजगञ्जको भाटभटिनी डिपार्टमेन्टल स्टोरकी सलोजा श्रेष्ठ (नाम परिवर्तन) यो रोडबाट अफिस आउजाउ गर्न एकदमै सकस परिरहेका बताउँछिन् । उनी भन्छिन्, ‘यहाँ यस्तो धुलो र खाल्डाखुल्डी छन् कि मान्छेलाई डरैडर बोकेर हिड्नुपर्छ । यहाँ कुन बेला के हुने हो केही भन्न सकिन्न ।’ 

काठमाडौं महानगरपालिकाको वडा नं ३ भित्र रहेको यो सडकको मर्मत हँुदै रोकिँदै गरेको छ । वडा नं ३ का वडा अध्यक्ष दिपक केसी भन्छन् – ‘यो सडकको कुरामा मेरो केही भन्नु छैन यसमा एकदमै अन्यौल छ । न सरकारलाई सडकको मतलब छ न मेलम्ची खानेपानी आयोजनालाई नै । मेलम्चीको काम भनेको खाली सडकलाई खाल्डो बनाएर छोड्ने मात्र भएको छ । ’

यता मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता लीला ढकालको कुरा भने अलि भिन्न रहेको छ । मेलम्ची पानीको लागि लगभग सबै कामहरु सकिएको तर भल्व च्याम्बर बनाउने काम मात्र बाँकी रहेकोले यसमा समय लागेको ढकालले बताए । बाटो मर्मत गर्ने काम सडक बिभागको भएको बताउँदै ढकालले आफुहरुले यसबारे जानकारी गराइसकेको पनि ढकाल सुनाए । उनको दावी अनुसार,अब दशैं पछि सबै काम सकिनेछ।
मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना २ अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले (पीआईडी) वितरण सञ्जाल तथा सुधार अन्तर्गत राजधानीमा पाइप बिछ्याउने काम गरिरहेको छ । पीआईडीले आगामी ६ महिनाभित्र वितरण सञ्जाल तथा सुधारको काम सम्पन गर्ने उद्देश्यले रातमा पनि काम गरिरहेको पीआईडीका प्रवक्ता ढकालले जानकारी दिए ।

जताततै भ्वाङ, खल्डाहरुले गर्दा काठमाडौंलाई अहिले राजधानी भन्न सकिने अवस्था छैन ।  सडक देख्दा र खाल्डाखुल्डीले सडकमा भएका दुर्घटना देख्दा राजधानी भन्न पनि लाज हुने अवस्था आइसकेको छ । यतिबेला गतिला सडकको अभावमा दिनदिनै सवारी दुर्घटना पनि बढिरहेको छ । निर्माण कार्यमा हुने ‘ठगी’ तथा मेलम्ची खानेपानीको लापरवाहीपूर्ण पाइप बिच्छ्याउने कामले राजधानीका सडकहरु ‘कालमार्ग’ सरह बनेका छन् ।
 

ताजा खबर