आलिया भट्टमाथि चोरी आरोप लागेको याे गीतः जसले तानिइन् विवादमा

२०७६ भदौ १२ बिहीबार ०९:५०:०० मा प्रकाशित

कराची । बलिउड अभिनेत्री आलिया भट्ट ‘पर्दा’ बोलको गीतका कारण विवादमा परेकी छिन् । पाकिस्तानी अभिनेत्री मेहविश हयातले पाकिस्तानी गीतको प्रतिलिपि बलिउडले चोरेको आरोप लगाएपछि अभिनेत्री भट्ट विवादमा तानिएकी हुन् । अभिनेत्री भट्टको डेब्यु म्युजिक भिडियो ‘पर्दा’ गीत पाकिस्तानी एल्बम ‘भाइटल सिन्स’ को ‘गोरे रंगका जमाना’ सँग हुबहु मिलेपछि पाकिस्तानी अभिनेत्री मेहविश हयातले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएपछि टिकाटिप्पणी आएका थिए । ‘मलाई यो अनौंठो लाग्यो । एकातिर बलिउडले हरेक अवसरमा सकेसम्म पाकिस्तानको बेइज्जत गर्छ । अर्को तर्फ, हाम्रो गीतहरू चोर्न कार्यलाई निरन्तरता दिइरहेको छ । प्रतिलिपि अधिकार र रोयल्टी भुक्तानीका विषयमा उनीहरूलाई कुनै अर्थ दिदैन्,’ उनले ट्वीटमा उल्लेख गरेकी छिन् ।

बलिउड फिल्मले पाकिस्तानी गीतहरू चोरी गरेको आरोप लगाउँदै उनले बलिउड अभिनेता शाहरुख खानद्धारा अभिनित नेटफिक्स प्रोडक्सनको ‘बर्ड अफ ब्लड’ को पनि आलोचना गरेकी थिइन् । ‘अभिनेता शाहरुख खान देशभक्त बन्नुहोस् । कसैले तपाईंलाई रोकेको छैन् । हामीलाई अपमान गरेर आम्दानीको हिसाब गर्ने कार्यले नगर्नुहोस्,’ उनले ट्वीट गरेकी छिन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड फिल्म उद्योगलाई आफ्ना एजेन्डाको प्रचार गर्ने माध्यम बनाएको उल्लेख गरेकी छिन् । ‘पाकिस्तानी कलाकारहरुका लागि भारतमा काम पाउन असम्भव छ,’ उनले ट्वीट गरेकी छिन् ।

केही दिनअघि नर्वेको राजधानी ओस्लोमा आयोजित ‘प्राइड अफ पर्फमेन्स’ मा अवार्ड लिँदै अभिनेत्री हयातले हलिउड र बलिउडका फिल्महरूले पाकिस्तानको बदनाम गरेको आरोप लगाएकी थिइन् । बलिउडले चाहे भारत र पाकिस्तानको सम्बन्ध सुध्रिनसक्ने तर्क उनले दिएकी थिइन् । ‘बलिउडले चाहे फिल्मको माध्यमबाट भारत र पाकिस्तानको आपसी सम्बन्ध र समझदारी बढ्न सक्थ्यो । तर, बलिउडले पाकिस्तानको बदनाम गर्न फिल्महरू निर्माण गरिरहेको छ । बलिउडले राष्ट्रवाद वा शान्तिपूर्ण भविष्य रोज्ने भनेर सोच्नु जरुरी छ, ’उनले भनेकी थिइन् । विवादमा परेकी अभिनेत्री भट्टले डेब्यु म्युजिक भिडियोप्रति कुनै प्रतिक्रिया दिएकी छैनन् । यस वर्ष रिजिल भएको उनी अभिनित ‘गली ब्वाई’ ले बक्सअफिसमा सफलता कमाउन सफल भएको थियो भने ‘कलंक’ फ्ल्प फिल्मको सूचीमा परेको थियो । सन् २०२० मा उनीको ‘ब्रम्हास्त्र’, ‘सडक–२’ र ‘आरआरआर’ रिलिज हुँदैछन् । एजेन्सी

ताजा खबर