पेट पाल्न फुटपाथमा गीत गाउनेलाई सलमान खानले दिए ५५ लाखको घर उपहार

२०७६ भदौ १२ बिहीबार ०८:२५:०० मा प्रकाशित

मुम्बई । बलिउड अभिनेता सलमान खानले फुटपाथमा गीत गाउने एक महिलालाई ५५ लाखको घर उपहार दिएका छन् । पछिल्लो समय भारतमा रानू मण्डल नामकी महिला रल्वे स्टेशनमा लता मंगेश्वरले गाएको सन् १९७२ को फिल्म ‘शोर’को गीत ‘एक प्यार का नगमा है’ गाएर चर्चामा छिन् । एक यात्रीले उनले गाउँदै गरेको गीतको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि उनी भाइरल भएकी थिइन् । उनी बलिउड गायकका नजरमा पनि परिन् । गायक हिमेश रेशमियाले उनलाई बोलाएर आफ्नो फिल्ममा गीत गाउनसमेत लगाएका छन् । 

यसका आलावा हिमेशले रानूलाई आफू जज रहेको सोनी टेलिभिजनको रियालिटी शो सुपर सिंगरमा विशेष अतिथिका रुपमा बोलाएर गाउन लगाए । कार्यक्रममा  उनले सलमानका पिता सलीम खानको भनाई सम्झिए– ‘यदि कोही ट्यालेन्ट भेटियो, मनभित्रैबाट लाग्यो कि उसमा प्रतिभा छ भने उसलाई अगाडि लिएर जानुपर्छ ।’ 

यसैक्रममा भारतको ‘न्यूज १८’ ले सलमानले रानूलाई बस्नका मुम्बईमा ५५ लाखको घर उपहार दिएको उल्लेख गरेको छ । यतिमात्रै होइन रानूको आवाजबाट प्रभावित भएर सलमानले आफ्नो फिल्म दबंग ३ मा उनको स्वरमा एक गीत समेत रेकर्ड गराउने भएका छन् । 

रानूले सुपर सिंगर कार्यक्रममा रेल्वे स्टेशनमा गाउनुको बाध्यता पनि खुलाइन् । ‘म रेल्वे स्टेशनमा गाउथें । किनकी मसँग बस्न घर थिएन। गीत गाएरै पेट पाल्थे । कोही विस्कुट दिन्थे त कोही पैसा ।’ सामाजिक सञ्जालकै कारण अहिले रानूको भाग्य चम्किएको छ । पुरै जीवन गरिबीमा बिताएकी उनको भाग्य केही मिनेटको भिडियोले चम्काएको हो । उनी अहिले जताततै छाएकी छिन् । एजेन्सी

ताजा खबर