झमक घिमिरेको चर्चित कृतिमाथि चलचित्र बन्दै

२०७६ भदौ १० मंगलबार १७:२८:०० मा प्रकाशित

काठमाडौं । चलचित्र ‘जीवन काँडा कि फूल’ को ट्रेलर सार्वजनिक भएको छ । यहाँ मङ्गलबार एक कार्यक्रमवीच चलचित्रको ट्रेलर र सिनेमाघरमा आउने मिति सार्वजनिक गरिएको हो । यो चलचित्र सिनेमाघरमा कार्तिक २२ गते आउने निर्माताले बताए ।

चलचित्रको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला, जीवन काँडा कि फूलका निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा सञ्चारकर्मी शान्तिपृयलगायतले चलचित्रको ट्रेलर सार्वजनिक गरेका थिए ।

साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ को ट्रेलर सार्वजनिक भएपछि अतिथिहरुले ट्रेलर हेर्दा चलचित्र राम्रो बनेको भन्दै चलचित्रलाई सफलताको शुभकामना दिएका थिए ।

चलचित्र पत्रकार सङ्घकी उपाध्यक्ष गीता अधिकारीले सहजीकरण गरेको कार्यक्रममा नायिका तथा गायिका सारिका घिमिरले स्वागत मन्तव्य राखेकी थिइन् ।

चलचित्रमा झमक सानो छँदाको अवस्थाको सिलिगुडिकी अवस्था थापा र ठूलो भएपछिको उमेरको भूमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमककी बहिनीको भूमिकामा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरीलगायत ३० जति कलाकारको अभिनय रहेको छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको चलचित्रमा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई हुन् ।

शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङले मेकअप गरेको यो चलचित्रको सहनिर्माता जुनु गौतम हुन् भने कार्यकारी निर्मातामा बद्री चौहान र उमेश सुवेदी छन् ।

विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘रणसंग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण/निर्देशन गरिसकेका छन् । चलचित्र ‘जीवन काँडा कि फूल’लाई वालाजी टेली फिल्मका सुनिल मानन्धरले वितरण गर्दैछन् । 

ताजा खबर