उत्तर कोरियाले जापानको रक्षाकवच भेद्ने क्षेप्यास्त्र बनाएको दाबी

२०७६ भदौ १० मंगलबार १७:०२:०० मा प्रकाशित

१० भदौ । उत्तर कोरियाले जापानको ब्यालिस्टिक क्षेप्यास्त्र कवच भेदन गर्ने वारहेडहरू विकसित गरिरहेको जापानका रक्षाप्रमुखले बताएका छन् । 

रक्षामन्त्री ताकेशी इवायाले प्योङयाङका तफर्बबाट हालैका दिनमा गरिएका क्षेप्यास्त्र प्रक्षेपण छोटो दूरीका ब्यालिस्टिक मिसाइल भएको विश्वास गरिएको बताए । 

उत्तरले तारन्तार परीक्षण गरिरहँदा नजिकैको जापान सतर्क भएको छ । क्षेप्यास्त्रहरू अनियमित मार्ग भएर समुद्रमा विसर्जन गरिएकोले जापान सतर्क भएको हो । तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यी प्रक्षेपणहरू महत्त्वपूर्ण नभएको प्रतिक्रिया दिएका छन् । 

शनिवार मात्र उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ । सउलले टोक्योसँग सैन्य सूचना आदानप्रदान सम्झौता अन्त्य गरेको बताएको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण गरिएको हो । 

उत्तर कोरियाले तेर्स्याउने जोखिम बढ्दै जाँदा सउलले तर्कहीन निर्णय लिएको इवाया तथा अन्य जापानी अधिकारीहरूले बताए ।

ताजा खबर