गुगलका कर्मचारीलाई कार्यकक्षमा राजनीति कुरा गर्न प्रतिबन्ध 

२०७६ भदौ ९ सोमबार १६:४५:०० मा प्रकाशित


९ भदौ । तपाईंलाई कुनै विषयका बारेमा खोज्न मन लाग्यो भने तुरुन्त गुगल सर्च गर्नुहुन्छ।  आजकल त झन् सबै प्रश्नको उत्तर नै गुगलले पत्ता लगाउँछ भन्ने गरिन्छ । सबैको समस्या समाधानमा सहयोग गर्ने यति ठूलो सर्च इन्जिन गुगल नै कहिलेकाहीँ आफैँ विवादमा पर्ने गरेको छ । 

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मत फेरबदलमा भूमिका निर्वाह गरेको आरोप खेपेको गुगलले अब त्यस्ता आरोप नै बेहोर्नुनपरोस् भन्नका खातिर आफ्ना कर्मचारीहरूलाई सचेत गराएको छ । उसले आफ्ना कर्मचारीहरुलाई कार्यकक्षमा राजनीति र अन्य अनावश्यक मुद्धामा बहस नगर्न र आफ्नो काममा मात्र ध्यान दिन निर्देशन दिएको छ । जसअनुसार अब गुगलका कर्मचारीहरूले आफ्नो कार्यकक्षमा रहँदा कुनै पनि प्रकारको राजनीतिक कुराकानी गर्न पाउने छैनन्। नयाँ निर्देशन नमान्ने कर्मचारीमाथि कारबाही मात्र गरिनेछैन उसको जागिर नै जानसक्छ ।  

गुगलले छुट्टाछुट्टै विभागका म्यानेजर र फोरमको नेतृत्व गर्नेहरूलाई नयाँ निर्देशन लागू गराउन र नमान्नेलाई अनुशासनको कारबाही गरिनेबारे सावधानी गराउन भनेको छ । गुगलको यो निर्देशनलाई अमेरिकी निर्वाचनमा राष्ट्रपति ट्रम्पको मत फेरबदलको आरोपसँग जोडेर हेरिएको छ । कम्पनिले भविष्यमा यस्तो आरोप नलागोस् भन्ने हेतुले यो कदम चालेको बुझिएको छ । गुगलले जारी गरेको निर्देशनमा कर्मचारीहरूबीच राजनीतिक मुद्‍दामा बहस हुँदा त्यो सार्वजनिक हुने, यसका लागि कम्पनीलाई जिम्मेवार ठहराइने र यसले गलत प्रभाव पर्ने उल्लेख गरिएको छ । 

“गुगल कुनै पनि प्रकारको वितण्डा, कारोबार या राजनीतिक विमर्शभन्दा टाढा रहन्छ यसकारण गलत या भ्रामक बयान दिनबाट कर्मचारीहरूले बच्नुपर्नेछ” भनिएको छ । यसले कम्पनीमाथि मानिसहरूको विश्वास कायम रहने गुगलको विश्वास छ ।  

गुगलबाट निस्किएका एक इन्जिनियरलाई आधार बनाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगलले डेमोक्रेटिक पार्टीकी राष्ट्रपतिकी उम्मेद्वार हिलारी क्लिन्टनको पक्षमा १६ मिलियन मत फेरबदल गरेको आरोप लगाएका थिए । यद्धपि, गुगलले राष्ट्रपति ट्रम्पको उक्त आरोपलाई तत्काल निराधार भन्दै कम्पनीले कुनै पनि प्रकारको राजनीतिक झुकाव नराख्ने स्पष्ट पारेको थियो ।

ताजा खबर