अदालतमा बिर्तावाल बाबुका सन्तानको हालीमुहाली

२०७६ भदौ ९ सोमबार १६:०१:०० मा प्रकाशित

यो सत्य हो कि, सामन्त अनि बिर्तावाल बाबुका पढेलेखेका सिमित छोराहरूको संगतिबाट अदालत खडा भएको हो । आज पर्यन्त यिनैको प्रभाव र बर्चस्व कायम छ । पहिलो प्रधान न्यायाधीश देखि पछिल्लोसम्मका फेहरिस्तले यही बताउँछ । सबै तहका न्यायाधीशहरूको लिष्टले पनि यही बताउने छ । म बाहुन बर्चस्वको कुरा गर्दिन । पहाडका लिम्बु हुन् वा क्षेत्री, नेवार वा अभिशप्त मधेसबाटै त्यहाँ पुगेकाहरू सबैको पृष्ठभूमि अपवाद बाहेक एउटै खाले रहेको छ । शुद्रको छाँया आफ्नो शरीरमा पर्न नदिनु अन्यथा शुद्र दोषको संक्रमण हुनजान्छ भन्ने भैं मनु सोच अदालतमा हावी रहेको छ कि “उच्च वर्ण व्यवस्थाबाट मात्र घृतन्याय निसृत हुनसक्छ ।” स्वभावत यो सामन्ति सोच तथा चिन्तनले न्याय सम्पादन शैलीलाई गाँजेको छ । यसैको रोहमा अदालतले सामन्ति न्याय प्रणालीलाई छोड्न सकेको छैन ।

अंग्रेजी पढेलेखेकाहरू अदालतको न्याय सम्पादनलाई लन्डनको मिडीलसेक्सस्थित अदालतसँग दाँज्दछन् । सांसदहरू आफ्नो सुनुवाई कलामा अमेरिकी सिनेट र काँग्रेसको शैली निसृत भएको आत्मरति गर्छन् । उच्च जातीय सम्भ्रान्त एलिटहरूले आफ्ना दाजु बडाबाबुले गरेको फैसला भनी प्रतिशोधमा समेत न्याय देख्दछ । यो बिरोधाभाषले न्यायको बिकृत पक्ष उन्मुक्त भएको छ । स्वभावत आलोचनाबाट मुक्त रहनु पर्ने निकाय बढी बिवादग्रस्त रहँदै आएको छ ।

सरदार, डिठ्ठा र सुब्बाहरूको हुकूमलाई न्याय मान्ने समाज बदलिँदै छ पनि । जनसंख्याको ढाँचा बदलिईँदै छ । आज मुलुकको कूल जनसंख्याको ४० प्रतिशत भाग पच्चीस बर्षे युवाको छ । यिनीसँग बिद्रोही चेत्त छ । यस जमातले फैसलाहरूलाई अक्षुण्ण, अभेद्य मान्दैन । यस जमातले फैसलालाई बिज्ञानको नियमको आधारमा हेर्छ, अर्थात कुनैपनि बिषय प्रश्न रहित हुँदैन । यस समुदायले बिभिन्न फैसलाहरूको सन्दर्भमा अदालतलाई निर्देशित, न्याय भन्दापनि दण्डाधिकारको प्रयोग र प्रतिशोधपूर्ण मान्दछन् । यो पूर्ण सत्य नहोला । तर, अभिमत यस्तै बन्दैछ ।

छलफल हुनु पर्दछ नयाँ पुस्ताको सोचको बारेमा । हिजोसम्म सामाजिक संजालको प्रयोगबाट घचघच्याउन मात्र सकेको पुस्ता अहिले दल दर्ता बिना नै, कानूनन असंगठित रहेर पनि सडकमा शक्तिपूर्ण देखिएको छ । यो अटेर खालको छ । तियानमेन स्क्वायरमा बिरोधलाई टैंकले कुल्चिँदा १र२ फोटो र भिडीयो बाहेक अरू देखिएन । तर, अहिले हंगकंगको बिरोध र सरकारी कारवाही पलपल संसारको अभिलेखमा संग्रहित हुँदैछ । सामाजिक संजालबाट जन्मेको यस्तो असंगठित संगठनले संसारमा जताततै बदलाव ल्याई सकेको छ ।

प्रहरी थुनामा अनुसन्धानको क्रममा धेरै मानिसहरू यातनाले मारिएका छन् । यहाँ एकजना थुनुवा म प्रहरीबाट नै असुरक्षित छु भनेपछि देशकै प्रहरी प्रमुख थुनुवा कोठामा गएर सुरक्षाको प्रत्याभूति दिनु परेको पनि सामाजिक संजालको शक्ति नै हो । यसको पहिचान कसले गर्ने ? यसको धक्काले भत्काउन सक्छ । कम्पन बुझ्नेले बुझे हुन्छ !
(पूर्व मन्त्री जयप्रकाश आनन्दको फेसबूकवालबाट) 
 

ताजा खबर