संयोजकको हस्तक्षेपले २१ करोडको योजना अलपत्र

२०७६ भदौ ४ बुधबार १२:४८:०० मा प्रकाशित

जयपुर बुधबारे (झापा) । जिल्ला समन्वय समिति झापाका संयोजक सोम पोर्तेलले अनधिकृतरुपमा हस्तक्षेप गर्दा बुद्धशान्ति गाउँपालिकामा २१ करोडको बिकास योजना अलपत्र परेको छ ।

बिरिङ खोलाको पानी चारवटा पैनीबाट संकलन गरी बुद्धशान्तिको वडा नं. १ र २ को  १२०० बिगाह जमिनमा सिंचाई सुविधा पुर्याउने उदेश्यले एशियाली बिकास बंैकको लगानीमा दुई किलोमिटर मुख्य नहर र सात किमी शाखा पैनी निर्माण भइरहेकोमा पोर्तेलले हचुवाको भरमा रोक लगाउँदा योजना प्रभावित भएको गाउँपालिका अध्यक्ष रमेश भूजेलले बताए ।

गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेर नहर निर्माणको कार्य गर्न अनुमति दिएको पोर्तेलले मौखिक आदेश दिई ठाडो हस्तक्षेप गरेका कारण निर्माण कार्यमा ढिलाइ भएपछि योजना अनिश्चित बनेको अध्यक्ष भूजेलले जानकारी दिए । नहर निर्माण कार्य एडिबीले नै ठेक्का लगाएको बताउँदै पालिका अध्यक्षले भने– आफ्नो ठाउँको बिकास योजना बिना अवरोध नियम र परिधिभित्र रहेर समयमै काम सम्पन्न होस भनेर गाउँ कार्यपालिकाको बोर्डले निर्णय गरेर काममा सहजीकरण मात्र गरेका हौं, खै पोर्तेलजीलाई के पुगेन र यो अवरोध गरिएको हो ?’ 

बर्खाको सिजनमा ढुंगा बालुवा र गिट्टी निकासीमा गाउँपालिकाले नै रोक लगाएको र कसैले यस्तो कार्य गरेको पाइएमा दण्ड जरिवाना गर्ने गरेको बताउँदै अध्यक्ष भूजेलले भने– नहर खन्दा निस्केको गिट्टी, बालुवा र ढुंगा धोएर नहरमै प्रयोग गर्ने शर्तमा गाउँपालिकाले नहर निर्माणको कार्य अघि बढाउन अनुमति दिएकोमा पोर्तेलजीले नदीजन्य पदार्थ झिक्न पाइँदैन भन्दै  अनाधिकृतरुपमा रोकेर बिकासका काममा बाधा पुयाउनुभयो, यो राम्रो भएन ।’

 नहर खन्दा निस्केको ढुंगा, बालुवा र गिट्टी धोएर नहरकै निर्माण कार्यमा प्रयोग गर्न वासिङ्ग प्लाण्ट राख्न गाउँपालकाले अनुमति दिएको बताउँदै अध्यक्ष भूजेलले भने– काम सकिएपछि यो प्लाण्ट ठेकदारले लैजान्छ,यो स्थायी संरचना होइन, तर जिससका पोर्तेलजी यसलाई क्रसर हो भनेर अपब्यख्या गर्दै हुनुहुन्छ । मौखिक आदेशमा प्रहरी बल दुरुपयोेग गरेर बाधा गर्ने कार्य तत्काल बन्द गर्न पोर्तेललाई सुझाव दिँदै अध्यक्ष भूजेलले जिससले काम रोक्न औपचारिक पत्र पठाएमा  पोर्तेलका बिरुद्ध अदालतमा मुद्दा हाल्ने चेतावनी समेत दिए ।

गाउँपालिका आफैंमा स्वायत्त निकाय हो, तीन तहको सरकारमध्ये यो एउटा सरकार हो । अनि प्रदेश र संघीय सरकार छ यो देशमा, यो जिसस भनेको कुन तहको सरकारमा पर्छ मैले बझेको छैन भन्दै अध्यक्ष भूजेलले भने– हामी त संविधानसँग नबाझिने गरी ऐन कानून बनाउनसक्छौं, यो जिससले कस्तो कानून बनाउँछ, त्यहाँ कस्तो कार्यपालिका छ ? हामी स्थानीय सरकारहरु जिससको मातहतमा होइनौं पोर्तेलजीले यो बुझेहुन्छ ।

 

गत ०७५ साल चैत महिनाबाट १६ महिनाभित्र कामसक्ने गरी  कुमार आशिस जेभी निर्माण कम्पनीले निर्माण कार्य गरिरहेकोमा जिसस संयोजक सोम पोर्तेलले माटो धुने वासिङ मेसिनलाई क्रसर हो भन्दै चावी खोसेर लगेपछि निर्माण कार्य ठप्प भएको निर्माण कम्पनीका प्रोप्राइटर केशर बुढाथोकीले बताए । काम सकिनासाथ हामी यो माटो धने मेसिन लगिहाल्छौं, यो ढुंंगा पेलेर रोडा बनाउने क्रसर होइन भन्दापनि उनले नमानेको बुढाथोकी बताउँछन् । 

बाँध निर्माणकार्य रोकिएको बिषयमा जिज्ञासा राख्दा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनञ्जयकुमार शाह भन्छन्– बर्षाको समयमा नदीजन्य पर्दाथको उत्खनन् र निकासीमा हामीले नै असारदेखि तीन महिना रोक लगाएका छौं, कसैले रोक लगाएको मितिभन्दा अघिबाट घाटगद्दीमा स्टक राखेको छ भने स्टक प्रमाणित गराएर निकासी पनि गर्न पाउँछ, तर अहिले खोलाबाट झिक्न  र निकासी गर्न पाइँदैन ।

यस्तो कार्यमा संलग्न हुनेहरुलाई नियन्त्रणमा लिएर ट्याक्टरको १० हजार र ट्रिपरको ३० हजारका दरले दण्ड जरिवाना समेत गरिरहेको बताउँदै शाहले नहरको काममा  नहर खन्दा त्यही निस्केको सामग्री र आवश्यक परेमा घाटगद्दीको प्रयोग गर्न पाउने अनुमति दिइएको बताए ।

यता जिल्ला यमन्वय समितिका संयोजक सोम पोर्तेलसँग यस बिषमा बुझ्न खोज्दा असार देखि भदौसम्म नदीजन्य पदार्थको उत्खनन् र प्रयोगमा प्रतिन्ध लगाइएको हुन्छ, कसैले पनि यो नियमलाई उलंघन गर्न पाउँदैन, सबैलाई रोक लाग्छ भन्ने जवाफ दिए ।
 
 

ताजा खबर