विवाहअघि नै दुइ सन्तानका बावु 'द रक'ले गरे दोस्रो विवाह

२०७६ भदौ ३ मंगलबार १०:२४:०० मा प्रकाशित

'द रक' उपनामले चर्चित रेस्लिङ स्टार एवं हलिउड अभिनेता ड्वेन जन्सनले आफ्नी प्रेमिका लरेन ह्यशिअनसँग अमेरिकाको हवाईमा विवाह गरेका छन् ।

सतचालीस वर्षीय जन्सनले १५ करोड ४० लाख प्रयोगकर्ताले पछ्याइरहेको आफ्नो इन्स्टाग्राममा विवाहको घोषणा गरेका थिए ।

सो जोडी सन् २००६ देखि प्रेमसम्बन्धमा थियो। हवाईमा आयोजित एउटा गोप्य समारोहमा उनीहरूको विवाह भएको हो ।

समाचारहरूका अनुसार 'द गेम प्लान' फिल्मको छायाङ्कनका बेला पहिलो पटक उनीहरू भेट भएको थियो ।

औपचारिक रूपमा विवाह गर्नुअघि उनीहरूका दुई सन्तान जन्मिसकेका छन् । इन्स्टाग्राममा प्रेषित विवाहका तस्बिरहरूलाई नौ घण्टाभित्रै एक करोडभन्दा बढी प्रयोगकर्ताले 'लाइक' गरिसकेका छन् ।

सबैलाई छक्क पार्दै विवाह घोषणा गरेपछि विश्वकै निकै चर्चित स्टारमध्येका एक 'द रक'लाई हलिउड कलाकारहरूले बधाई दिएका छन् ।

को हुन् लरेन ह्यशिअन ?

लरेन ह्यशिअन सन् ८० को दशकमा प्रसिद्ध गीत 'मोर द्‍यान अ फीलिङ्'का लागि चिनिएका अमेरिकी रक ब्यान्ड बोस्टनका गितारवादककी छोरी हुन् ।

उनी आफू पनि सङ्गीतकर्मी हुन् र उनका केही गीत वेबसाइटहरूमा उपलब्ध छन् ।

यो 'द रक'को दोस्रो विवाह हो। उनले सन् १९९७ मा डेनी गार्सिआसँग पहिला विवाह गरेका थिए। उनीहरूकी १८ वर्षीया छोरी छिन् ।

को हुन् ड्वेन जन्सन ?
ड्वेन 'द रक' सम्भवतः रेस्लिङ खेलबाट चलचित्रमा आएका सबैभन्दा सफल व्यक्ति हुन् ।

उनले अभिनय गरेका चलचित्र 'द ममी रिटर्न्स" र 'द स्कर्पियन किङ' उनको ठूलो आकर्षक शरीरमा मात्र केन्द्रित रहेका थिए ।

आफ्नो बलिष्ठ पुरुषको छविबाट पृथक् रहने र ख्यालठट्टा गर्ने प्रवृत्तिका कारण उनले सफलता पाएको ठानिन्छ ।

"यदि कलाकारका रूपमा आफूलाई स्थापित गर्ने हो भने द्वन्द्वप्रधान मात्रै नभएर हास्यप्रधान तथा पारिवारिक चलचित्रमा पनि दख्खल राख्नुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको थियो," दुई वर्षअघि उनले भनेका थिए । बीबीसी

ताजा खबर