भेटी र चन्दाबाट आठ करोडको पूर्वाधार निर्माण

२०७४ भदौ २२ बिहीबार १४:५८:०० मा प्रकाशित

बेनी (म्याग्दी), २२ भदौ । धार्मिक र सार्वजनिक ठाउँमा चढाइएको भेटीलाई राम्रोसँग व्यवस्थापन गर्न र पारदर्शिता अपनाउन सकियो भने त्यसबाट करोडौँ रुपैयाँको भौतिक पूर्वाधार निर्माण गर्न सकिँदोरहेछ भन्ने गतिलो उदाहरण गलेश्वरमा देखिएको छ । 

मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा २०६७ साल यता भक्तजनले चढाएको भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट रु आठ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरिएको छ । 

मन्दिरमा चढाइएको भेटी र विभिन्न व्यक्तिले दिएको दानबाट गलेश्वरमा धर्मशाला, वाटिका, यज्ञशाला, पाठशाला, कालीगण्डकीसम्म पुग्ने मार्गलगायत भौतिक संरचना निर्माण भएका गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर कार्कीले जानकारी दिनुभयो । पाँच वर्ष अगाडिसम्म गलेश्वर मन्दिरमा वार्षिक रु ८० हजार भेटी सार्वजनिक हुन्थ्यो । 

भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालिग्राम, कुण्डलगायत क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी साम्रगीको कुनै लेखाजोखा हुने गरेको थिएन । विसं २०६७ सम्म मन्दिर व्यवस्थापन समितिको खातामा रु ३१ लाख थियो । २०६७ सालमा कार्कीको अध्यक्षतामा बनेको समितिले भेटीलाई व्यवस्थापन गरेको हो । 

“भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन्,” उहाँले भन्नुभयो । मन्दिरका तीनजना पुजारीमध्ये मुख्य पुजारीलाई रु १५ हजार, सहायकलाई रु १० हजार र सहयोगीलाई रु चार हजार पारिश्रमिक तथा खाने बस्ने व्यवस्था गरिएको छ । 

गत साउनमा मात्र रु १३ लाख भेटी संकलन भएको छ । साउने सोमबार र शिवरात्रिमा लाखौँ भेटी संकलन हुन्छ । समितिले मूल मन्दिरसहित वरपरका क्षेत्रमा सिसी क्यामेरा समेत जडान गरेको छ । रासस 

 

ताजा खबर