शंखध्वनीसहित बेलायती संसदमा गीता महोत्सव

२०७६ श्रावण २६ आइतबार १८:००:०० मा प्रकाशित

लन्डन । बेलायती संसदमा तीन दिवसीय श्रीमद्भगवत गीता महोत्सव सुरु भएको छ ।

  यस अवसरमा नेपाल सहित नौ देशका राजदूतहरुको उपस्थितिमा गीताका श्लोक गुञ्जिएको थियो । महोत्सव आयोजना गर्नुको उदेश्य अथ्र्याउँदै मानिसको जीवनमा गीताको महत्वबारे चर्चा गरिएको थियो । 

आयोजकका अनुसार,मरिससपछि यो दोस्रो अन्तर्राष्ट्रिय गीता महोत्सव हो ।

महोत्सव उद्घाटन समारोहमा बेलायतको कन्जर्भेटिभ पार्टीका उपाध्यक्ष तथा सांसद पाल स्टअर्ट स्कोलीलाई सम्मान गरिएको थियो । महोत्सव उद्घाटन समारोहमा सांसद र लन्डनका ख्यातिप्राप्त धेरै मानिसहरुको उपस्थिति रहेको आयोजकले बताएका छन् । 

यो गीता महोत्सवको आयोजना गर्न भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजले पहल गरेकी थिईन्, उनी यसमा सहभागी हुन चाहन्थिन तर केहीदिन अघि उनको निधन भएको छ । 

बेलायतको सत्तारुढ दलका सांसद स्कोलीले गीताले जीवनको अर्थ बुझाउन महत्वपूर्ण सन्देश दिएको बिचार व्यक्त गरेका थिए । त्यसैगरी अर्का सांसद बीरेन्द्र शर्माले गीता महोत्सवको आयोजना एक ऐतिहासिक घटना भएको चर्चा गरे ।

    शंखध्वनीले गुञ्जायमान समारोहमा गीता मनीषी स्वामी ज्ञानानन्द महाराजले गीताका श्लोकहरुको व्याख्या गरेर सहभागीलाई मोहित बनाएका   थिए । समारोहमा रुस, इजरायल, बंगलादेश,इटाली, क्यानाडा, मरिसस र साईप्रसका राजदूतको सहभागिता थियो । 

ताजा खबर