यसकारण धार परिर्वतन गर्दैछन् शाहरूख खान

२०७६ श्रावण २६ आइतबार १०:१५:०० मा प्रकाशित

मुम्बई, २६ साउन । बलिउड बादशाह शाहरुख खानका पछिल्ला २ फिल्म बक्स अफिसमा फ्लप भएका छन् । असफल भएका शाहरुखका दुई फिल्म अनुष्का शर्मासँग स्क्रिन शेयर गरेको ‘जब हैरी मिट सेजल’ र भर्खरै प्रदर्शन भएको अनुष्का र कट्रिना कैफ स्टारर ‘जिरो’ हुन् । दुबै प्रेम कथामा आधारित रोमान्टिक फिल्म हुन् । 

लगातार रोमान्टिक फिल्म फ्लप भएपछि शाहरुखले हालसम्म नयाँ फिल्ममा काम गरेका छैनन् । रोमान्स किङ्गका रुपमा परिचित शाहरुखका रोमान्टिक फिल्म नचलेपछि अब उनी आफ्नो अभिनयको धार परिवर्तन गर्ने निर्णय लिएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार उनी नयाँ पुस्तालाई केन्द्रमा राख्दै एक्सन फिल्मतिर आकर्षित भएका छन् । जिरो र जब हैरी मिट सेजलभन्दा पहिला प्रदर्शनमा आएको रईसले बक्स अफिसमा राम्रो कारोवार गरेको थियो । एक्सन फिल्म रईसमा शाहरुखको फाइट दर्शकले रुचाएका थिए । रोमान्टिक फिल्मको असफलताले स्टारडममाथि नै प्रश्न उठेपछि शाहरुख अब आफूले खेल्ने फिल्मको धार नै परिवर्तन गर्ने निष्कर्षमा पुगेका हुन् । 

फिल्म समीक्षक राजीव मसंदसँगको अन्तर्वार्तामा शाहरुखले आफू अब एक्सन फिल्मतिर केन्द्रीत हुनेबारे सोचिरहेको बताए । आफूले अहिले कुनै फिल्ममा साइन नगरेको भन्दै उनले स्क्रिप्ट अध्ययन गरिरहेको जानकारी दिए । एजेन्सी

ताजा खबर